 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति खड्कालाई महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।
- कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको र नेताहरूसँग छलफलमा रहेको बताए।
- इतर समूहले आगामी पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउन महामन्त्री थापा र शर्मालाई जिम्मा दिएको छ।
१४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले दिएको जिम्मेवारीअनुरूप महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका छन्।
महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार भएको छलफलका क्रममा कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका हुन् ।
‘सभापतिले तपाईंलाई अधिवेशन गराउने जिम्मेवारी दिनु भएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कासँग भनेका छन् ।
जवाफमा कार्यवाहक सभापति खड्काले आफू महाधिवेशनकै पक्षमा रहेको बताए । उनले पार्टीका नेताहरूसँग आफू छलफलमै रहेको पनि बताए । छलफलका क्रममा संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशन गर्न सहमत नरहेका पनि बताए ।
‘म पनि महाधिवेशन गराउने पक्षमा छु । साथीहरूको कुरा सुनिरहेका छु,’ खड्काको भनाइ उद्धृत गर्दै एक महामन्त्रीले भने, ‘उहाँहरूले मानिरहनु भएको छैन । साथीहरूसँग तपाईंहरू पनि कुरा गर्नुस्।’
कार्यवाहक सभापति खड्कासँगको छलफल अघि थापा र शर्माले इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासँग बैठक गरेका थिए । उनीहरूलाई नेता कोइरालाले आगामी पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन र कार्यवाहक सभापति खड्कासँग त्यसबारे छलफल गर्न भनेका थिए।
इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्न महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मा दिएको छ।
यसअघि महामन्त्री थापाले बिहीबार पनि कार्यवाहक सभापति खड्कासँग महाधिवेशनको कार्यतालिकाबारे छलफल गरेका थिए । तर, दुई नेताबीच कुरो मिल्न सकेको थिएन।
कार्यतालिका पेस गर्ने अवस्था नदेखिएपछि महामन्त्री थापा बिहीबारको बैठकमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार शुक्रबारको बैठकमा पनि कार्यतालिका पेस हुने सम्भावना न्यून छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4