 
																			१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पासाङ डोल्माले पार्टी एकता नभइ पुनर्गठन हुनुपर्ने बताएकी छिन् ।
जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले पार्टीका नेताहरूले आफूलाई सुधार्नुको विकल्प नभएको बताइन् ।
‘अब हामीले आफूलाई सुधार्नुको विकल्प छैन । त्यसका निम्ति पार्टीको एकता हैन पुनर्गठन गरौं । जनता एकता र गठबन्धन विरोधी हुनेछ,’ उनले बैठकमा भनेकी छिन् ।
साथै, उनले नेकपा एकताको दृष्टान्त अघि सार्दै अहिले पनि ठूला पार्टीविरुद्ध जनमत बलियो बन्दै गएको बताइन् ।
‘जब शक्तिशाली पार्टीहरू नागरिकका हित हुँदेनन्, सम्पूर्ण कार्यकर्ताको हितमा पनि हुँदैनन्, निश्चित आसेपासेका लागि र दलाल, माफिया र पूँजीपति वर्गको हितको एजेन्ट मात्रै हुन्छ,’ उनले भनेकी छिन् ।
उनले थप भनेकी छिन्, ‘पार्टी बलियो होस् या कमजोर जनतालाई चासो हुनेछैन (नेकपा) को दृष्टान्तलाई हेरौं । बलियो पार्टीले केही गर्न नसकेर हामीले विद्रोह गरेका थियौं, त्यसकारण आज पनि बलियो पार्टीहरूविरुद्ध जनमत छ ।’
उनले जेनजी आन्दोलनको मूल मुद्दा र यसको सन्देशबारे मनन् गर्नुपर्ने उनले बताइन् ।
‘भ्रष्टाचार र कुशासनको विरुद्धको जुन प्रदर्शन थियो पहिलो दिनको– त्यो मुद्दा हाम्रो पार्टीले पनि बोकेको थियो,’ उनले भनेकी छिन् ।
जेनजी आन्दोलनले विभेद र असमानताविरुद्ध बोलेको र समान अवसरका लागि आफ्ना विषयसहित लडिरहेको उनले बैठकमा बताइन् । यस्ता विषयलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ थियो ।
शक्तिशाली पार्टीहरू नागरिक, कार्यकर्ताको हितमा नलागेसम्म दलाल, माफिया, पूँजिपती वर्गको एजेन्ट मात्रै बन्ने उनले बताइन् ।
‘मूलत: पुराना राजनीतिक दलहरुले आफूलाई रुपान्तरण गर्नुपर्छ, आज राजनीतिक दलहरूमा उही नेताहरुले लामो समयसम्म बसिराख्ने र नयाँ, क्रिएटिभ युवाहरूलाई आउन बन्देज गरेर पार्टीहरूमा उही व्यक्ति र नेताहरूको एकाधिकार, प्रभुत्व जमाएर बसेकै कारणले राजनीतिक दलहरूप्रति युवाहरू आकर्षित छैनन् ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4