+
+
Shares

गगनको ‘चेकमेट’ र कांग्रेसमा जेनजीको वारेस

समयावधि सकिएका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको अर्थ नहुने हास्यास्पद तर्क गर्नेहरू नै अहिले समानान्तर शैलीमा विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्न थालेका छन् । हेक्का रहोस्, पार्टी बहुमतले होइन, अल्पमतले फुटाउँछ।

शंकर तिवारी शंकर तिवारी
२०८२ कात्तिक १६ गते ९:५९

भाद्र २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनी र त्यसले निम्त्याएको उथलपुथलले नेपाली कांग्रेसभित्र सबैभन्दा धेरै संवेदनशील एवं आत्मचिन्तनमा लागेको कुनै नेता छ भने, ती नेता गगन थापा हुन्। यो कुरा प्रामाणिक किन हुन्छ भने गगन नै त्यो घटनापछि देशवासी र कांग्रेसजनलाई सम्बोधन गर्ने मूलधारका पार्टीका पहिला नेता बने। उनले कुनै नौलो काम गरेका होइनन्, केवल कार्यकर्ता र आम जनताको भावनालाई वाणी दिने काम गरेका मात्र हुन्। नेताको काम भनेको नै उपयुक्त समयमा जनताको आवाजलाई मुखरित गर्नु हो।

तिनै गगन थापाले नेपाली कांग्रेसको असोज २८ देखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा कार्तिक १३ गते बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का मार्फत सिङ्गो कार्यसमितिलाई ‘चेकमेट’ दिए। ‘चेकमेट’ विशेष गरी चेस खेलमा प्रयोग गरिने शब्द हो। राजालाई घेराबन्दीमा पारेर आत्मसमर्पण गर वा हार स्वीकार गर भन्नका लागि त्यो शब्द सम्भावित विजेता पक्षले भन्ने शब्द हो। 

खासमा कांग्रेसमा ‘चेकमेट’ को शृङ्खला महाधिवेशन प्रतिनिधिहरूले शुरु गरेका हुन्। विशेष अधिवेशनको माग गर्दै कांग्रेसका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कांग्रेसको वर्तमान कार्यसमितिप्रति विश्वास भङ्ग भएको घोषणा थियो। त्यसका लागि प्रारम्भिक वाणी भर्ने काम भने कांग्रेस महामन्त्री गगन थापाले नै गरेका थिए। नेपाली कांग्रेस पार्टीलाई समयानुकूल हिँडाउन दिशामा छेडिएको त्यो एउटा ब्रह्मास्त्र थियो।

अधिवेशनबारे पार्टीको वैधानिक व्यवस्था

कांग्रेसमा नियमित अधिवेशन र विशेष गरी दुई प्रकारका अधिवेशनको प्रावधान छ। नियमित अधिवेशन प्रत्येक चार वर्षमा गर्नुपर्ने व्यवस्था छ भने विशेष अधिवेशन विधानको दफा १७ (२) मा उल्लेख भएअनुसार केन्द्रीय कार्यसमितिले सोझै डाक्न सक्नेछ वा १७ (२) अन्तर्गत ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर भएको तीन महिनाभित्र डाक्नु पर्नेछ।

कांग्रेसका पछिल्ला तीन अधिवेशनहरू चार वर्षमा नभएर साढे पाँच वर्षमा गर्ने गरिएका थिए। पार्टीको संकटकालीन धारा र संविधानको धारामा टेकेर चार वर्षे नियमित समयावधिलाई विना कारण डेढ वर्ष लम्ब्याउने गरिएको थियो। वर्तमान संस्थापनको नियत त्यही दिशामा लक्षित रहेको कुरा लुकाउनु परेन ।

२०७२ मा शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भए यता कांग्रेसको कुनै पनि केन्द्रीय कार्यसमितिको बैठक समयमा राख्ने गरिएको छैन। बैठकहरू अत्यन्त लम्ब्याउने प्रचलन थापित भएको छ। त्यो कडीलाई नयाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समेत निरन्तरता दिएका छन्। कांग्रेसको लम्बिँदै गएको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार हठात स्थगित हुँदा कार्यकर्ताको मनमा चिसो पस्नु स्वभाविक हो।

महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिमा पेश गर्न अनुमति नपाउने भएपछि महामन्त्री थापाले बिहीबारको बैठक बहिष्कार गरेका थिए । शुक्रबार बैठक शुरु हुने भए जसरी भएपनि महाधिवेशनको कार्यतालिका बैठकमा पेस गर्ने चेतावनी कार्यवाहक सभापतिलाई दिएका थिए। कार्यवाहक सभापतिले मध्यमार्ग रोजेर तत्कालका लागि बैठक स्थगित गरेर आइतबार अर्थात् १६ कार्तिकसम्मको समय लिएका छन् ।

५५ प्रतिशत हस्ताक्षरले ल्याएको हलचल

भाद्र २३ र २४ को प्रदर्शनीले राष्ट्रिय राजनीतिमा एउटा उथलपुथल लिएर आयो । यही पृष्ठभूमिमा कांग्रेसका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको स्वतःस्फूर्त हस्ताक्षर संकलन गरे र त्यसलाई असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता नम्बर १०१ सहित दाखिल गरिएपछि पार्टीभित्र ठूलो कम्पन पैदा भयो । हस्ताक्षर अभियान आह्वान भएलगत्तै प्रारम्भ हुनुअगाडि यसको खिलाफमा प्रतिरोधका स्वरहरू देखा परे। त्यो सङ्गठित प्रतिरोधको अभियान सुदूरपश्चिम प्रदेशबाट शुरु भएर त्यहीँ अन्त्य भएको थियो।

५५ प्रतिशत हस्ताक्षर सङ्कलन हुँदै गर्दा हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई अनेक प्रलोभन देखाएर हस्ताक्षर फिर्ता गर्न/गराउने कोसिस भयो र त्यो कोसिस अद्यापि जारी छ। तर आफ्नो स्वविवेक प्रयोग गरेका कार्यकर्ताहरू कुनै पनि प्रलोभनमा नफसी कुनै वंश वा अंश पाएका दाइ या भाउजूको विवेकको सौदा गर्न मञ्जुर हुने कुरा थिएन।

त्यसपछि उनीहरूले महाधिवेशन प्रतिनिधिहरूको समयावधि सकिएकाले उनीहरूले गरेको हस्ताक्षरको अर्थ नहुने समेत भन्न भ्याए। त्यो तर्क अति नै हास्यास्पद तर्क थियो किनकि नेपाली कांग्रेस पार्टीको विधानको दफा ७२ (३) अनुसार नयाँ महाधिवेशन प्रतिनिधिहरू चयन नहुन्जेल पुराना महाधिवेशनको कार्यकाल यथावत् हुन्छ।

विशेष महाधिवेशनले पार्टी फुटाउने अतिरञ्जित हल्ला

त्यो तर्कसँगै अर्कातर्फ तिनै नेताहरू समानान्तर शैलीमा विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्ने तर्कको सहारा लिएका छन्। उनीहरूलाई यो पनि हेक्का छैन कि पार्टी बहुमतले होइन, अल्पमतले फुटाउँछ। २०७८ सालमा १४औँ महाधिवेशन हुँदा कांग्रेस कार्यकर्ताहरूको मत जे थियो, यो चार वर्षमा पूर्णतया बदलिएको छ भन्ने कुरा विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरको सङ्ख्याले पुष्टि गरिसकेको छ अर्थात् बहुमत सरेको छ। किनकि केन्द्रीय कार्यसमितिमा भएको सङ्ख्या बहुमत होइन, बहुमत प्रतिनिधिले चुनेका प्रतिनिधि मात्र हुन्। तसर्थ, बहुमत महाधिवेशन प्रतिनिधि जता जान्छन्, त्यतै बहुमत हुन्छ।

केन्द्रीय कार्यसमिति कार्यकारी समिति मात्र हो। पार्टीको सर्वोच्च कार्यकारी निकाय त फेरि पनि महाधिवेशन नै हो। यदि महाधिवेशन प्रतिनिधिहरूले अभिव्यक्त गरेको आकाङ्क्षा र भावना अनुरूपको काम केन्द्रीय समितिले गर्न सकेन, चाहेन वा यो या त्यो बहानामा आनाकानी गर्‍यो भने घोक्रेठ्याक लगाउने काम तिनै महाधिवेशन प्रतिनिधिको हुन जान्छ।

‘तान्त्रिक’ चिन्तनको अन्तिम धङधङी

शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस पार्टी फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेपछि प्रदीप गिरी मजाकमा भन्ने गर्नुहुन्थ्यो – नेपालमा दुई कांग्रेस पार्टी छन्, एउटा तान्त्रिक कांग्रेस छ, अर्को यान्त्रिक कांग्रेस छ। 

तान्त्रिक कांग्रेस भनेको तन्त्रमन्त्रमा विश्वास गर्ने अर्थात् ज्योतिषको जोखाना हेरेर निर्णय गर्ने। यान्त्रिक कांग्रेस भनेको यन्त्र जस्तो जडवत् कार्यकर्ताको भावना र संवेदनाको उपेक्षा गर्ने। सुशील कोइरालाको निधनसँगै यान्त्रिक कांग्रेस अस्तित्वमा छैन भन्दा हुन्छ। तर शेरबहादुर देउवा रहुन्जेल अर्थात् अवकाशमा नजाउन्जेल तान्त्रिक कांग्रेस त रहने नै भयो।

एउटा उखान छ- ‘आगो लाग्यो झुपडी, डेढ घडी भद्रा’। ज्योतिष शास्त्रमा परम विश्वास गर्नेहरू आगलागी भएपछि आगो निभाउनु वा कुवा खन्नको लागि शुभ साइत हेर्छन्। साइतहरूमा भद्रालाई अशुभ साइत मानिन्छ। डेढ घडी गुज्रेपछि शुभ साइत प्रारम्भ हुन्छ भनेर कुवा नखनिकन बस्दाखेरि जोगाउन सकिने संरचना पनि ध्वस्त भएर जान्छन्।

भाद्र २३ र २४ गते जुन आगजनी भयो झुपडीहरूमा, राष्ट्रिय संरचनामा, दलहरूको संरचनामा। ती सबै पुनर्संरचनाको पर्खाइमा छन्। नेपाली कांग्रेस पार्टीको पुनर्संरचना गर्ने विधि भनेको नै तत्काल महाधिवेशन हो तर तान्त्रिक चिन्तनमा दीक्षित कांग्रेस नेताहरू आम निर्वाचनपछि मात्रै पार्टी महाधिवेशन गर्न उपयुक्त हुन्छ भनेर भनिरहेका छन्। 

२०१२ साल माघमा छैटौँ महाधिवेशन गरेको नेपाली कांग्रेस पार्टीलाई महाधिवेशन सम्पन्न भएको १७ महिना नपुग्दै २०१४ जेठमा विशेष महाधिवेशन गरेको थियो। त्यतिबेला पार्टी अधिवेशनको समयावधि जम्मा तीन वर्षको हुन्थ्यो। अहिले जस्तो नियमित अधिवेशनको लागि चारवर्षे समयावधि तोकिएको समय थिएन। २०१७ साल पुस १ को काण्ड भएपछि पटनामा नेपाली कांग्रेसका साथीहरू भेला भएर सुवर्ण शमशेरलाई कार्यवाहक सभापति नियुक्त गरेका थिए।

बीपी कोइरालाले २०३४ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कने बेला सुवर्णशमशेरले कार्यकारी बीपीलाई नै सुम्पेपछि अपर्झट फेरि पटनामा नै कार्यकर्ताको भेला गराएर कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाउनुभएको थियो। २०३९ देखि २०४२ सालसम्म नेपाली कांग्रेसले प्रत्येक वर्ष पार्टी कार्यकर्ताहरूको राष्ट्रिय भेला आयोजना गर्थ्यो। 

बीपीको अनुपस्थितिमा पार्टीलाई जीवन्त राख्न त्यो उद्यम गरिन्थ्यो। पार्टीका सामुन्ने उत्पन्न सङ्कट र देशका सामुन्ने उत्पन्न सङ्कटलाई मध्यनजर गरेर पार्टीले आफूलाई पुनर्ताजगी गर्न अधिवेशन, वार्षिक भेला, कार्यकर्ता भेला, महासमिति वा विशेष अधिवेशन गर्ने परम्परा त्यसरी बनेको हो।

नयाँ आम निर्वाचनका लागि घोषित मिति फागुन २१ भन्दापछि मात्र नियमित अधिवेशन गर्नुपर्छ भन्नेहरू कुपमण्डूक प्रवृत्तिका द्योतक हुन्। उनीहरूको इशारामा चल्ने हो भने कांग्रेस प्रजापरिषद् वा कोमिन्ताङ बन्ने मार्गमा अग्रसर हुन्छ। 

त्यसैले कांग्रेस कार्यकर्ताले सिद्धान्त बिर्सेर सत्ताविलासमा मग्न कांग्रेसको यो पङ्क्तिलाई अविश्वास गरेर उनीहरूलाई चिरनिद्राबाट ब्युँझाउन विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेका हुन्। उनीहरूलाई आगामी अधिवेशनबाट केन्द्रीय कार्यसमितिमा नभएर तत्काल इतिहासको कखरा पढाइने पाठशालामा भर्ती गरिदिनुपर्छ। कांग्रेस त इतिहासको गतिशील हतियार हो, यसलाई विश्रामको कुनै छुट छैन।

जेनजी ‘उथलपुथल’ लाई हेर्ने कांग्रेसको दृष्टिकोण

दोहोराइरहनु परेन भाद्र २३, २४ नेपाली इतिहासमा एउटा पानीढलोको मिति हो। त्यो क्षणपछि कांग्रेसले आफूलाई पुनर्ताजगी नगरी जनताको सामना गर्छु, निर्वाचनमा भाग लिन्छु, राष्ट्रिय समस्याको सामना गर्छु भन्नु कांग्रेस पार्टीको इतिहासप्रतिको त्योभन्दा ठूलो अर्को अन्याय हुन सक्दैन। परिस्थिति यति तरल भएको छ कि राष्ट्रिय राजनीतिमा देखिनेभन्दा नदेखिने शक्तिहरू हावी भएका छन्। 

नदेखिने शक्ति भनेको जेनजी पुस्ता हो। त्यो देखिएको छ तर त्यसको सामर्थ्य कति हो, त्यसको प्रभाव चुनावका माध्यमबाट मापन भएको छैन। घाम जत्तिकै छर्लङ्ग कुरा के छ भने उथलपुथलका माध्यमबाट त्यसको सामर्थ्यले सिङ्गो देशलाई हाराबारा खेलाइसकेको छ। आम निर्वाचनमा सहभागी हुनुअगाडि जेनजीको जेनियोलोजी ठिकठाक नबुझिकन अगाडि बढ्ने दुस्साहस गर्नु र तिनको अवमूल्यन गर्नु भयङ्कर मूर्खता हुनेछ।

नेपाली कांग्रेस पार्टीले २०७९ को आम निर्वाचन लगत्तै त्यसको परिणामलाई लिएर त्यो परिणामको सग्लो व्याख्या गरेको थिएन। त्यसको परिणामको व्याख्या नगरिकन कांग्रेस सत्ता विलासमा हतार-हतार सवार भएको थियो। कांग्रेसको २०७४ को आम निर्वाचनमा वाम एकताका समयमा प्राप्त समानुपातिक मत प्रतिशत २०७९ मा आइपुग्दा झन्डै दोहोरो अङ्कमा घटेको थियो। 

कांग्रेसको विशेष होस् वा नियमित अधिवेशन, त्यसको लागि समय सीमा पार्टी कार्यालयमा विधिवत् दर्ता भएको विशेष महाधिवेशनको हस्ताक्षर मिति असोज २९ ले निर्धारण गरिदिएको छ। अर्थात् पुस २९ भित्रै पार्टीले नयाँ अधिवेशन गर्नुपर्नेछ।

त्यसपछि संसदका दुई ठूला दल २०८१ मा मिलेपछि कांग्रेस पार्टीको लोकप्रियताको ओरालोको कुनै ग्राफ (आँकडा) बाँकी थिएन। यसरी भाद्र २२/२३ को लागि राष्ट्रिय राजनीतिले एउटा परिपाक खडा गरिदिएको थियो।

राष्ट्रिय राजनीतिमा त्यो तहको उथलपुथल भइसकेपछि नेपाली कांग्रेसको परिवर्तित सन्दर्भमा समग्र राष्ट्रिय दृष्टिकोण के हो, त्यसबारेमा कांग्रेस पार्टीले, कांग्रेस पार्टीको केन्द्रले डेढ महिना बितिसक्दा पनि केही धारणा सार्वजनिक गरेको छैन। जारी केन्द्रीय कार्यसमिति बैठकबाट सिङ्गो देशले कांग्रेसको अवधारणा र सैद्धान्तिकी सुन्न आतुर छ। 

फागुन २१ गते हुने भनिएको आम निर्वाचन कुनै लरोतरो वा सामान्य समयमा हुन लागेको निर्वाचन होइन। कुन परिस्थितिले यो निर्वाचनलाई अवश्यम्भावी बनायो, त्यो परिस्थितिको ठिकठाक व्याख्या नगरिकन कांग्रेसले त्यो निर्वाचनमा विजयी नेतृत्व प्रदान गर्न सक्दैन।

निकासको बाटो – पार्टी विधानको पालना

यो लेख प्रकाशित हुँदासम्म अर्थात् कार्तिक १५ गते आइतबारका दिनसम्म नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र अर्का महामन्त्रीका प्रत्याशी प्रदीप पौडेल समेत र विशेष महाधिवेशनका लागि हस्ताक्षरको अभियानको नेतृत्व गरेका गुरुराज घिमिरे समेत पार्टीले विशेष महाधिवेशनको हस्ताक्षर पार्टीमा विधिवत् दर्ता भएको ९० दिनभित्रै नियमित महाधिवेशन होस् भन्नेमा छन्। 

महामन्त्री विश्वप्रकाश शर्माले निकासका लागि पेस गरेको चारवटा विकल्पमा पनि उक्त समयावधिभित्रै नियमित अधिवेशन गर्ने विकल्पहरू प्राथमिकतामा छन्। कांग्रेसको विशेष होस् वा नियमित अधिवेशन, त्यसको लागि समय सीमा पार्टी कार्यालयमा विधिवत् दर्ता भएको विशेष महाधिवेशनको हस्ताक्षर मिति असोज २९ ले निर्धारण गरिदिएको छ। अर्थात् पुस २९ भित्रै पार्टीले नयाँ अधिवेशन गर्नुपर्नेछ।

कांग्रेसका सबै नेताहरू ‘रुल अफ ल’ मा विश्वास गर्छन्, ‘रुल बाई ल’ होइन। भनिन्छ, ‘रुल अफ ल बिगिन्स एट होम’। आजको मितिमा ‘रुल अफ ल’ मा विश्वास गर्नु भनेको ती ५५ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता/कार्यकर्ता साथीहरूको भावना अनुसार चल्नु हो। 

जसरी संसदीय परिपाटीमा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि सदनको सबै पूर्व-निर्धारित बिजनेस मुल्तबीमा जान्छ र अविश्वासको प्रस्तावले अग्राधिकार प्राप्त गर्दछ। त्यसैगरी पार्टीको सिङ्गो कार्यसमिति उपर विशेष महाधिवेशनका रूपमा बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि केन्द्रीय कार्यसमितिको मुख्य बिजनेस विशेष अधिवेशनका लागि तयारी गर्नु, मार्ग प्रशस्त गर्नु हो।

विशेष अधिवेशनका लागि गरिएको हस्ताक्षरका अगाडि नियमित अधिवेशनको तालिका एउटा बहाना हुन जान्छ – विशेष अधिवेशनलाई निस्तेज गर्ने बहाना। विशेष अधिवेशनलाई निस्तेज गर्न नियमित अधिवेशनको तालिका प्रकाशित गर्दै प्रक्रिया प्रारम्भ गर्ने छुट त छ तर पुस २९ भित्र त्यो सबै प्रक्रिया सम्पन्न भएर नयाँ नेतृत्व चयन भएन भने विशेष अधिवेशनले आफ्नो बाटो तय गर्ने छ। २०८२ पुस १६, १७, १८ गते कांग्रेसको नियमित अधिवेशन गर्ने प्रस्ताव त्यो दिशामा चालिएको अन्तिम कदम हो ।

अन्तरमनको आवाजबाट चल्ने किसुनजीका चेलाको अग्निपरीक्षा

भाद्र २३ र २४ को उथलपुथलपछि शेरबहादुर देउवालाई राजीनामा त परको कुरा, कार्यवाहक समेत दिन हुन्न भन्दै उक्साउनेहरूको शरणमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का परेका देखिन्छन्। पार्टी उपसभापति पूर्णबहादुर खड्का आफूलाई कृष्णप्रसाद भट्टराईको असली अनुयायी देखाउन चाहन्छन्। 

साना साना बिम्बमा खेल्न खोज्नु उहाँको विशेषता हो। किसुनजी पार्टी विधान, देशको संविधानभन्दा आफ्नो अन्तर्मनको आवाज ज्यादा सुनेर चल्ने नेता हुनुहुन्थ्यो। उहाँ ‘श्रेय र प्रेय’ भन्दा माथि हुनुहुन्थ्यो।

पार्टीको कार्यवाहकको पद सम्हाल्दै गर्दा पूर्णबहादुर खड्कालाई मामूली ताज मिलेको छैन – यो काँडाको श्रीपेच बन्न पुगेको छ। नेपाली कांग्रेस पार्टीमा विधान र संविधानभन्दा माथि उभिएर अन्तरमनको आवाज बोल्ने हैसियत भएका नेता महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा नै हुन्। 

मिसेल फुकोको भाषामा भन्नुपर्दा भावी रणनीति तय गर्नका लागि कांग्रेस पार्टीभित्र जारी वैचारिक गतिरोध कुन पक्ष वैधानिक वा कुन पक्ष अवैधानिक भन्दा पनि त्यो समर्पण अगाडिको सङ्घर्षको झल्को हो।

संसदीय दलको नेतामा शेरबहादुर देउवालाई प्रतिस्पर्धा नगर्नुहोस् भन्ने हैसियत विश्वप्रकाश शर्माले अन्तरमनको आवाज सुनेको कुराको अभिव्यक्ति थियो। अहिले त पूर्णबहादुर खड्कालाई अन्तरमनको आवाज सुन्नुपर्ने पनि छैन, ‘श्रेय र प्रेय’ छुट्याउनुपर्ने पनि छैन। खाली विधानको पालना गरे मात्र पुग्छ। अर्थात् यो या त्यो नभनिकन दफा १७ (२) अनुसार नै विशेष महाधिवेशनको लागि कार्यतालिका प्रकाशित गरे पुग्छ।

त्यसका लागि पूर्णबहादुर खड्कालाई शङ्काको सुविधा दिनैपर्छ। महाधिवेशन हस्ताक्षरकर्ताहरूको समयावधि सकिएको, त्यसले पार्टी फुटाउँछ भन्नेहरू र आम निर्वाचन अगाडि विशेष महाधिवेशन गर्नै हुन्न भन्नेहरूको आवाज शुक्रबारबाट अलिक मत्थर भएको छ। उनीहरू बिस्तारै विशेष महाधिवेशन पक्षधरसँग सहमति र सहकार्यमा आउन तयार भएका देखिन्छन्।

मिसेल फुकोको भाषामा भन्नुपर्दा भावी रणनीति तय गर्नका लागि कांग्रेस पार्टीभित्र जारी वैचारिक गतिरोध कुन पक्ष वैधानिक वा कुन पक्ष अवैधानिक भन्दा पनि त्यो समर्पण अगाडिको सङ्घर्षको झल्को हो। 

गान्धी वा बीपीको भाषामा भन्नुपर्दा पार्टीको आत्मा पक्रनको लागि गरिएको आत्ममन्थन हो। गगन थापाले दिएको ‘चेकमेट’ले बरालिन पुगेको कांग्रेसको आत्ममन्थनलाई लिकमा ल्याइदिएको छ। पार्टी बैठक हठात स्थगित भएपछि देउवाका प्रवक्ता प्रकाशशरण महतले कार्यवाहक सभापतिले पार्टीभित्र सरसल्लाह र समझदारी विकसित गर्न बैठक सारिएको त्यसै भनेका होइनन् ।

र अन्त्यमा, एक्लो गणेशमान सिंहले मात्रै कुनै बेला २०४६ सालको आन्दोलनको वारेस बोकी हिँड्थे । कांग्रेस पार्टीभित्र गिरिजाप्रसादको देहान्तसँगै २०६२/६३ को वारेस बोकी हिँडेका नेता गगन थापाको काँधमा जेनजी उथलपुथलको वारेस समेत आइपरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिमा गगनले दिएको ‘चेकमेट’ त्यही वारेसले निर्दिष्ट गरेको जिम्मेवारी र दायित्व बोधको निरन्तरता मात्रै हो।

लेखक
शंकर तिवारी

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारी राजनीतिक विश्लेषक तथा लेखक हुन्। उनको लेखन तथा सम्पादनमा ‘ कसले सुधार्छ कांग्रेस ? ‘लगायत आधा दर्जन फुर्सद पुस्तक प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?