News Summary
Generated by OK AI. Editorially reviewed.- साहित्यकार भूपिनको निबन्धसङ्ग्रह \'मध्यको उज्यालो\' अक्षर समूह चितवनले गैंडाकोटमा लोकार्पण समारोह गरी सार्वजनिक गरेको छ।
साहित्यकार भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ सार्वजनिक भएको छ । अक्षर समूह चितवनले शनिबार गैंडाकोटमा लोकार्पण समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, समालोचक डाक्टर एकनारायण पौड्याल, रोशन शेरचन, निमेष निखिल र सामना पहाडले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् ।
सङ्ग्रहमा चिन्तन, सम्झना र पर्यावरण/यात्रा गरी तीन खण्डमा २० निबन्धहरू समेटिएका छन् । लेखनशैली र विचारमा भूपिन अघिल्लो पुस्तकमा भन्दा बलियो बन्दै गएको पुस्तक पढ्दा पुष्टि हुने समीक्षक डाक्टर एकनारायण पौड्यालले बताए । ‘ भूपिन जे काम गर्नुहुन्छ, अरू भन्दा फरक ढंगले गर्नुहुन्छ’ पौडेलले भने, ‘उहाँले यस कृतिमा विषयमा विविधता दिनुभएको छ । विवरणात्मक, आख्यात्मक, सम्बोधन, तार्किक र वैचारिक शैली निबन्धहरुमा प्रयोग गर्नुभएको छ ।’
अहिले सूचना प्रविधि र सामाजिक सञ्जालको युग नभएको भए भूपिनका यी खाले निबन्ध पाठकका माझमा नआउने पनि पौड्यालले बताए ।

भूपिनका निबन्धमा पाठकले आफ्नै अनुभूति महसुस गर्ने अर्की समीक्षक सामना पहाडले बताइन् । नारी अस्मिता र आमालाई निबन्धमा सम्मान गरिएको भन्दै उनले लैङ्गिक र समावेशिताको कोणबाट यो सङ्ग्रह उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् ।
प्राध्यापक निमेष निखिलले निबन्धसङ्ग्रहलाई दार्शनिक परिपक्कताको दस्तावेज हो भन्दै जीवन, चेतना र ज्ञानको उज्यालो लेखकले खोजेको बताए । समालोचक निखिलले पुस्तकमा बौद्धिक चेतनाको सम्पूर्ण नक्सा देखिएको विचार राखे ।
अर्का वक्ता रोशन शेरचनले भूपिनको निबन्धसङ्ग्रहमा पर्यावरणप्रतिको प्रेम रहेको बताउँदै उनी दर्शन र बौद्धिकतामा बहस निम्त्याउन सक्ने लेखक भएको बताए ।
निबन्धकार भूपिनले आफूले यो कृति पूर्णतया इमान्दार भएर लेखेको दावी गरे `यो मेरो वैचारिक प्रस्ताव हो । सबै पाठक मेरो विचारसँग सहमत हुनुपर्छ भन्ने छैन’ भूपिनले भने । कार्यक्रममा समालोचकले उठाएका विषयको सम्बोधन गर्दै उनले आफूले निबन्धमा वैचारिक विविधता दिने प्रयास गरेको बताए ।
बुकहिलबाट ‘डिलक्स संस्करण’मा प्रकाशित `मध्यको उज्यालो´ भूपिनको सातौँ किताब हो ।
प्रतिक्रिया 4