१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादी फुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घर फर्कन नेताहरूलाई अपिल गरेका थिए ।
यसैबीच सोमबार पोखरेलले पनि घर सन्तानहरू फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए । तर, घर फर्कंदा पार्टीको नीति र नेतृत्वमा भने विवाद गर्न नपाइने शर्त राखेका छन् ।
‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौं । आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन । घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ ? आउनुस्,’ उनले भनेका छन् ।
क्षमताका आधारमा पार्टीले तपाईंहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्ने पनि उनले बताए ।
‘तर, शर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुस् । बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन । यी दुई वटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैं खुला छ,’ पोखरेलले भनेका छन् ।
प्रतिक्रिया 4