१७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेर गम्भीर घाइते भएका फोटोपत्रकार दीपेन्द्र ढुंगानाले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेट गरेका छन् ।
सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा उनीहरूबीच सोमबार भेट भएको थियो ।
भेटका क्रममा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा ढुंगानाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नयाँ पत्रिका दैनिकका फोटो पत्रकारका रूपमा कार्यरत ढुंगानालाई गत भदौ २३ गतेको जेनजी आन्दोलनको रिपोर्टिङको क्रममा गोली लागेको थियो ।
पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारका क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्रीसमक्ष अनुरोध गरे । त्यस्तै, पत्रकारहरूले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडियो रेकर्डर)को बीमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उनले आग्रह गरे ।
सो अवसरमा सञ्चारमन्त्री खरेलले पेसागत व्यावसायिक कर्तव्य निर्वाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन पहल गर्ने बताए । साथै उनले अन्य घाइते पत्रकारहरूसँग छिट्टै भेट गरी उनीहरूका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरूको बीमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए ।
ढुङ्गानाले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यका लागि नियमित परामर्शको लागि मिडिया हाउसहरूलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरूलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलनजस्ता जोखिम ठाउँहरूमा रिपोर्टिङ गर्नका लागि अनिवार्य तालिम राख्नुपर्ने माग पनि सञ्चारमन्त्रीसमक्ष पेश गरे ।
मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा समाचार, तस्वीर र भिडियो सम्प्रेषण गर्दागर्दै पत्रकार ढुङ्गानासहित शम्भु दङ्गाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते भएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4