१८ कात्तिक, बुटवल । रुपन्देहीमा उत्पादन भएको नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको छ । रुपन्देहीको शुद्दोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले यसअघि नेपाली बजारसँगै भारतमा पनि निर्यात गर्दै आइरहेकोमा तेस्रो मुलुकमा पनि निर्यात थालेको हो ।
मंगलबार भैरहवा भन्सार कार्यालयबाट दुई वटा कन्टेनर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेर कोलकाता बन्दगाहका लागि छुटेका छन् । हिमालयन क्रिस्प र हाम्रो फ्राइज ब्रान्डका फ्रेन्च फ्राइज निर्यात भएको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताए । उनका अनुसार कोलकाताबाट कन्टेनरमा ५० दिनमा फ्रेन्च फ्राइज अमेरिका पुग्नेछ ।
अमेरिकामा निर्यात हुनुअघि अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरी निर्यातको अनुमति दिएको सञ्चालक पौडेलले बताए ।
अब हरेक हप्ता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उनले बताए । ‘अमेरिकासँगै बेलायत लगायतका मुलुकबाट पनि अर्डर आएको छ, भारत र नेपाली बजारमा समेत खपत भइरहेकाले मागअनुसार उत्पादन पुर्याउन सकेका छैनौं,’ पौडेलले भने, ‘नेपालमा खपत हुने फ्रेन्च फ्राइज विदेशबाट आयात हुने गरेको थियो । अब ७५ प्रतिशत आयात विस्थापित भइसकेको छ, एक वर्षभित्रै पूरै आयात विस्थापन गर्ने लक्ष्य छ ।’
२ अर्ब लगानी भएको उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानलाई आलु उत्पादनमा जोडेर उनीहरूबाट खरिद गरेको आलु प्रशोधन गरी उद्योगले फ्रेन्च फ्राइजलगायत परिकार उत्पादन गरिरहेको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले पहिलोपटक नेपाली फ्रेन्च फ्राइज अमेरिका निर्यात सुरु भएको र यसबाट ४० हजार अमेरिकी डलर नेपाललाई प्राप्त भएको बताए । नेपालले ठूलो ब्यापार घाटा बेहोरिरहेको अवस्थामा स्वदेशी कच्चा पदार्थबाट उत्पादित फ्रेन्च फ्राइजको निर्यातले थोरै भए पनि ब्यापार घाटा कम गराउन योगदान पुर्याउने बताए ।
युरोपियन प्रविधिमा आधारित आलु प्रशोधन उद्योगबाट फ्रेन्च फ्राइजसँगै अब केही महिनाभित्रै आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन लगायत परिकार उत्पादन सुरु हुने पौडेलले बताए ।
‘हिमालयन र हाम्रो फ्राइज ब्रान्डमार्फत नेपालको स्वादलाई विश्वमा पुर्याउन सफल भएका छौं,’ पौडेलले भने, ‘अमेरिकाको एफडीएमा दर्ता भएर छोटो समयमै भारतसँगै अमेरिका निर्यात गरिरहेका छौँ । अब दुबई, मलेसिया, साउदी अरेबियाजस्ता मुलुकहरूमा पनि निर्यात गर्ने तयारीमा छौँ ।’
करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले विश्वस्तरीय फ्रोजन पोटाटो प्रोडक्ट र फ्रेन्च फ्राइज उत्पादन संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पौडेलको दाबी छ । कम्पनीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेको जनाएको छ ।
यो वर्ष किसानबाट करिब २ हजार मेट्रिक टन आलु उद्योगले खरिद गरेको छ । विशेषगरी कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलाञ्चोक लगायत २६ जिल्लामा सफल परीक्षण गरी ३५ हजार किसानमार्फत आलु उत्पादन गरिरहेको उनले बताए ।
काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्ज जस्ता मुख्य शहरमा ५ वटा वितरक, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेस्टुरेन्ट, १७१ मोडर्न मार्टमार्फत उपभोक्तामाझ आफ्नो उत्पादन पुर्याएको उनले बताएका छन् ।
उद्योगले नेपालका किसानलाई आत्मनिर्भर बनाउँदै नेपालमा नै उत्पादन भएको प्रशोधनयोग्य आलु प्राथमिकताका आधारमा खरिद गर्ने उद्देश्य लिएको पौडेलले बताए । उद्योगले किसानबाट वार्षिक ३० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरी विभिन्न परिकार बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4