News Summary
Generated by OK AI. Editorially reviewed.- पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका ४ जनाको मृत्यु भएको छ भने ५ पर्यटक वेपत्ता छन्।
- गोरखाको पानवरी हिमालमा हराएका दुई इटालियन आरोहीको शव फेला पारी काठमाडौं ल्याइएको छ।
- दोलखाको हिमपहिरोमा परी दुई नेपाली गाइडसहित पाँच विदेशी आरोही वेपत्ता छन् र आठ जना घाइते भएका छन्।
१८ कात्तिक, काठमाडौं । पछिल्लो एक सातामा पर्वतारोहण र पदयात्रामा गएका पर्यटक/सहयोगीमध्ये ४ जनाको मृत्यु भएको छ ।
५ पर्यटक वेपत्ता छन् । पर्यटन विभागका अनुसार गोरखा जिल्लामा अवस्थित पानवरी हिमाल (६८८७ मिटर) आरोहण गर्न अल्पाइन ट्रेकिङ सर्भिसमार्फत अनुमति प्राप्त २ इटालियन आरोही फार्रोनेटो स्टेफानो र क्यापुटो आलेसान्द्रो ११ कात्तिकदेखि भारी हिमपातमा हराइरहेका थिए । उनीहरुलाई मृत अवस्थामा फेला पारी आज शव काठमाडौं ल्याइएको विभागले जनाएको छ ।
उता, डिमर्श डेस्टिनेशन ट्रेक एण्ड एक्सपिडिसनबाट डोल्मा खाङ (६३३२ मि.) हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये पाओलो कोक्को (इटाली) र मार्को डी मार्सेलो (क्यानडा) दोलखाको येलुङ रि पिक आरोहणका क्रममा वेपत्ता भएका छन् ।
दोलखाको हिमपहिरोमा परी ती दुई आरोहीसहित थप तीन विदेशी आरोही समेत वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । यो घटनामा दुई नेपाली गाइड पदम तामाङ र मेरे कार्कीको मृत्यु भएको छ । यो घटनामा ८ जना घाइते भएको समेत कार्यालयको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया 4