१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको विधानअनुसार आगामी मंसिर महिनाभित्रै महाधिवेशन गरिनुपर्ने बताएका छन् ।
बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन नबोलाउने भए पुसभित्रै महाधिवशेन गरिनुपर्ने बताए ।
‘तपाईंहरू विधान मान्नुहुन्छ भने मंसिरभित्र महाधिवेशन गर्न तयार हुनुस् । विशेष महाधिवेशन टार्ने हो भने २९ पुस अघि १५औँ महाधिवेशनको कार्यतालिकामा सहमति जनाउनुस्,’ शिवाकोटीले भने, ‘नत्र विधानले बाध्य बनाउने विशेष महाधिवेशन रोक्न कसरी सक्नुहुन्छ जवाफ दिनुस् ।’
उनले संस्थापन पक्षले कार्यसमितिमा रहेको बहुमतको बलमा रोके पनि हस्ताक्षरकर्ताहरू विशेष महाधिवेशनको प्रक्रियामा गए गम्भीर अवस्था आउने चेतावनी दिए ।
‘तपाईंहरूले कार्यसमितिमा रहेको बहुमतको बलमा रोक्नुभयो भने पनि हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनको प्रक्रियामा गए भने त्यो अवस्थामा के हुन्छ सोच्नुभएको छ ?,’ शिवाकोटीले प्रश्न गरे, ‘चुनाव अघि नियमित महाधिवेशन नगर्ने, विशेष महाधिवेशनको पक्षमा निर्णय नगर्ने विषयलाई प्रतिष्ठाको लडाइँ बनाएर के गर्न खोजेको ?’
नेता शिवाकोटीले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यसबारे गम्भीर भएर निर्णयमा पुग्न आग्रह पनि गरे ।
‘कार्यवाहक सभापतिज्यू यसमा गम्भीर भएर सोचेर निर्णयमा पुग्न आग्रह गर्दछु,’ उनले भने, ‘ हामी तपाईंको साथमा छौँ ।’
प्रतिक्रिया 4