News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बहादुर सिंह लामाले जेन–जी आन्दोलनमा आफ्नो घर भगवानले बचाएको अभिव्यक्ति दिएका थिए।
- केन्द्रीय सदस्य कल्याणी रिजाल र उर्मिला केसी नेपालले लामाको अभिव्यक्तिको आलोचना गर्दै यसलाई गैरजिम्मेवार र अराजनीतिक भनेका छन्।
- बैठकमा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन विषयमा बहस भएको र संसदीय दलले दलको नेता परिवर्तन गरेको केसीले बताएकी छन्।
२० कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य बहादुर सिंह लामाले जेन–जी आन्दोनलको क्रममा धेरे नेताका घर जल्दा भगवानले आफ्नो घर बचाएको अभिव्यक्ति दिएपछि आलोचना भएको छ।
बुधबारको बैठकमा केन्द्रीय सदस्य लामाले जेन–जी आन्दोलनको क्रममा धेरैका घर जलेको र भगवानको कृपाले आफ्नो घर जोगिएको अभिव्यक्ति दिएका थिए। बिहीबारको बैठकमा लामाको त्यस्तो अभिव्यक्तिको चर्को आलोचना भएको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू कल्याणी रिजाल, उर्मिला केसी नेपाललगायतले लामाको अभिव्यक्तिको आलोचना गरेका हुन्।
‘केन्द्रीय सदस्य बहादुर सिंह लामाले सबैको घर जल्यो, म धर्म गर्ने मान्छे भएकाले भगवानले मेरो घर बचाउनु भयो भनेर बैठकमा भनाइ राख्नुभयो, यसमा मेरो आपत्ति छ,’ केन्द्रीय सदस्य रिजालले प्रश्न गरिन्, ‘नेपाली कांग्रेसका संस्थापक जननायक बीपी कोइरालाको निवास, त्यागी नेता गणेशमान सिंहको निवास, सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम जलाइएको छ, के उहाँहरू पापी हुनुहुन्थ्यो ? बहादुर सिंह लामा मात्र धर्मात्मा हो?’
अर्की केन्द्रीय सदस्य उर्मिला केसी नेपालले पनि लामाको अभिव्यक्तप्रति आपत्ति जनाउँदै बैठकले यस विषयमा आवश्यक धारणा तय गर्ने विश्वास व्यक्त गरिन्।
‘सबैको घर जल्यो, भगवानले मेरो बचाए भन्ने अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक अभिव्यक्ति हो। पटकपटक अवसर लिएको टिकट पाएर सांसद र मुख्यमन्त्रीसमेत भइसकेको नेताले यस्तो अराजनीतिक अभिव्यक्ति दिनु आपत्तिजनक छ,’ उनले भनिन्, ‘सडकमा गएर कहिले राजा चाहियो भनेको छ, कहिले भाइलाई होइन, दाइलाई हान भनेर नारावाजी गरेको छ। कुन दाइलाई हान भनेको हो, स्पष्ट हुनुपर्यो।’
केन्द्रीय सदस्य केसीले पार्टीमा विधि र पद्धतिभन्दा व्यक्ति ठूलो हुन नसक्ने भन्दै यस्ता व्यक्तिलाई पटकपटक अवसर दिने विषयमा पार्टीले ख्याल गर्नु पर्ने धारणा राखिन्।
बैठकमा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषय पनि उठेको थियो। पूर्वमुख्यमन्त्री लामाले आफूलाई षड्यन्त्रपूर्वक दलको नेताबाट हटाइएको भन्दै आपत्ति जनाएका थिए। जवाफमा बागमती प्रदेश सरकारको मन्त्रीसमेत रहेकी केसीले संसदीय दलले लामालाई हटाएर अर्को व्यक्तिलाई चयन गरेको भन्दै बचाउ गरिन्।
‘बागमती प्रदेश संसदीय दलका नेताको विषयमा पनि बैठकमा गम्भीर कुरा उठ्यो। बागमती प्रदेश सदस्य तथा प्रदेश सरकारको मन्त्री भएकाले यो विषयमा बोल्न आवश्यक ठानेको छु,’ उनले भनिन्, ‘पार्टीले गरेको निर्णयअनुसार नै दलको नेता परिवर्तन भएको हो। हिजो बहादुरसिंह लामाले बहुमत प्राप्त गर्दा उहाँ नेता र मुख्यमन्त्री बन्नुभयो। पछि अर्कोले बहुमत प्राप्त गर्दा दलको नेता र मुख्यमन्त्री बन्नुभयो। त्यही प्रक्रियाबाट आफू बन्दा ठिक, अर्को बन्द बेठिक कसरी हुन्छ?’
मुख्यमन्त्री रहँदा लामाको कार्यकालमा बजेट निर्माणमा अपारदर्शी कामहरू भएको बेथिति बढेको भन्दै सत्तागठबन्धको अर्को दलले गम्भीर आपत्ति जनाएपछि कांग्रेस संसदीय दलले आफ्नो नेता परिवर्तन गरेको केसीले बताइन्।
प्रतिक्रिया 4