+
+
Shares

फिर्ता गरेको गाडी गण्डकीका राप्रपा सांसदले फेरि लगे, सभामुख नै गाडीविहीन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:००
राप्रपा संसदीय दल गण्डकीका नेता पञ्चराम तमु

२१ कात्तिक, पोखरा । जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै गाडी फिर्ता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल गण्डकीका नेता पञ्चराम तमुले फेरि गाडी लिएर गएका छन् । उनले गाडी लिएर गएपछि सभामुख गाडी विहीन भएका छन् ।

जेनजी आन्दोलनपछि गण्डकीसहित सातै प्रदेशका २८ जना राप्रपा सांसदले संसदबाट बाहिरिने निर्णय भदौ २४ गते घोषणा गरेका थिए ।

गण्डकीका राप्रपा दलका नेता तमु र सचेतक विन्दु पौडेलले पनि केन्द्रको निर्णयसँगै प्रदेश सभा सचिवालयमा गाडी फिर्ता गरेका थिए । तर, राप्रपाका केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठको विज्ञप्तिमार्फत राजीनामा दिएको घोषणा भएपछि गण्डकीका सांसदले पनि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए भने संसदलाई पनि मौखिक जानकारी गराएका थिए ।

त्यससँगै ग १ झ ४५२ नम्बरको गाडी तमुले सचिवालयलाई बुझाएका थिए । त्यही गाडी सभामुख कृष्णप्रसाद धितालले चढेका थिए । आफूले फिर्ता गरेको गाडी फेरि ३ दिन अगाडि तमुले नै लिएर गएको संसद सचिवालयले जानकारी दिएको छ ।

‘गाडी फिर्ता गरेको उहाँले मौखिक रुपमा जानकारी गराउनुभएको थियो, लिखित रुपमा थिएन । अहिले फेरि काम परेका कारण लिएर जानुभएको खुलेको छ,’ संसद सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले भने, ‘सभामुखज्यूले नै चढिरहेको गाडी उहाँले लैजानुभएको होला ।’

पञ्चरामले गाडी लिएर गएपछि सभामुख धिताल नै गाडीविहीन बनेका छन् । ‘गाडी फिर्ता गरिएको भन्दा पनि आलोपालो चढ्नुपर्ने भएको हो,’ सभामुख धितालले भने, ‘लिखित रुपमा राजीनामा दिनुभएको हो, मौखिक रुपमा हो । मौखिक रुपमै गाडी फिर्ता गर्नुभएको हो । मैले पनि त्यही गाडी चढेको थिएँ, गाडी थोरै भएपछि आलोपालो गर्नैपर्ने भयो ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते गण्डकी प्रदेश सभाको भवन, संसद सचिवालयको कार्यालय, ४ संसदीय समितिका कार्यालय, दलका कार्यालयहरु जलेर ध्वस्त भएका थिए । संसद सचिवालयका चार पांग्रे सवारी साधन ६ वटा, दुई पांग्रे सवारी साधन १२ वडा जलेका थिए ।

अहिले संसदका ३ वटामात्रै गाडी बाँकी रहेको सचिवालयले जनाएको छ । जसमध्ये सभामुख धितालले चढ्ने गाडी अहिले तमुले लिएर गएका छन् भने एउटा उपसभामुख र संसद सचिवालयका सचिवले चढेका छन् । यसबारे तमुको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

गण्डकी प्रदेश सभाको बैठक कात्तिक २४ गतेका लागि बोलाइएको छ । यसअघि असोज २२ गतेका लागि बोलाइएको बैठक तयारी नपुगेको र परिस्थिति पनि अनुकुल नदेखिएको भन्दै स्थगित गरिएको थियो ।

प्रदेश सभा भवनमा आगजनी भएका कारण मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक राख्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?