+
+
Shares

डिजिटल भुक्तानीमा सिद्धार्थ बैंकको फड्को

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले डिजिटल भुक्तानी प्रणालीमा ७ प्रतिशत बजार हिस्सा ओगट्दै एटीएम, मोबाइल बैंकिङ, डेबिट र क्रेडिट कार्डमा उल्लेखनीय वृद्धि गरेको छ।
  • नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या २ करोड ७७ लाख पुगेको छ र सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक ११ लाख ५९ हजार छन्।
  • सिद्धार्थ बैंकले भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ र चाँडै फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसले डिजिटल कारोबारलाई सहज बनाउनेछ।

२१ कात्तिक, काठमाडौं । नेपालमा डिजिटल भुक्तानी तीव्र गतिमा विकास भइरहेको छ । वित्तीय कारोबार शैलीमा परिवर्तन ल्याउन डिजिटल भुक्तानी प्रणालीमा बैंकहरूले महत्त्वपूर्ण लगानी गर्दै आएका छन् ।

यसका कारण बैंक शाखा कार्यालयमा लाइन बसेर कारोबार गर्ने संख्या घट्दो क्रममा छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा सिद्धार्थ बैंक सकारात्मक र महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

डिजिटल उपकरण एटिएम मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा मोबाइल बैंकिङमा बैंकले विशेष प्राथमिकता दिएको छ ।

एटीएममार्फत कारोबार

नेपालभर हाल ५ हजार २६३ वटा एटीएम सञ्चालनमा छन्, जसमा सिद्धार्थ बैंकको एटीएम संख्या २२९ छ । जुन कुल संख्याको करिब ४ प्रतिशत हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अवधिमा देशभरका एटीएममार्फत १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोही अवधिमा सिद्धार्थ बैंकका एटीएममार्फत ७३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ७ प्रतिशत हिस्सा हो ।

एटीएम संख्यामा ४ प्रतिशतको हिस्सा भए पनि कारोबारको रकममा ७ प्रतिशतको हिस्सा हासिल गर्न बैंक सफल भएको छ । एटीएम सेवा सहज र भरपर्दो बनाउनका लागि छुट्टै इकाइमार्फत सञ्चालन र प्रदर्शनको नियमित निगरानी गरिँदै आएको बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या हाल करिब २ करोड ७७ लाख पुगेको छ । एउटै व्यक्तिले विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने भएकाले यो संख्याले समग्र प्रयोग प्रवृत्तिलाई झल्काउँछ ।

सिद्धार्थ बैंकका मोबाइल बैंकिङ ग्राहक संख्या ११ लाख ५९ हजार पुगेका छन् जुन कुल प्रयोगकर्ताको करिब ४ प्रतिशत हिस्सा हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, समीक्षा अवधिमा सम्पूर्ण बैंकहरूको मोबाइल बैंकिङ कारोबार ५० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा सिद्धार्थ बैंकका मोबाइल बैंकिङमार्फत ३ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा बैंकको बजार हिस्सा ७ प्रतिशत रहेको छ ।

ग्राहक संख्यामा ४ प्रतिशत हिस्सा भए पनि कारोबार रकममा ७ प्रतिशतको योगदान देखिन्छ । बैंकले मोबाइल बैंकिङलाई सहज, सुरक्षित र प्रयोगमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसका लागि प्रविधिमा उल्लेख्य लगानी गरेको छ र मोबाइल बैंकिङ प्रणालीको कार्यक्षमता बढाउन नियमित सुधार र परिमार्जन गर्दै आएको छ ।

साथै, सिद्धार्थ बैंकले मोबाइल बैंकिङ सेवालाई डिजिटल रूपान्तरणको मुख्य माध्यमका रूपमा विकास गरिरहेको छ । ग्राहकहरूलाई सहज रूपमा डिजिटल कारोबारमा सहभागी गराउन बैंकले निरन्तर प्राविधिक सुदृढीकरण र सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । यसले बैंकको डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै देशको डिजिटल वित्तीय प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍इरहेको बैंकको भनाइ छ ।

प्ले स्टोरमा सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपीको रेटिङ ४.२ बाट सुधार भएर ४.६ स्टारमा पुगेको छ । त्यस्तै, एप स्टोरमा पनि रेटिङ २.९ बाट बढेर ४.६ स्टारमा पुगेको छ । ‘यी उल्लेखनीय सुधारको परिणामस्वरूप बैंकस्मार्ट एक्स्पी नेपालका २० वाणिज्य बैंकहरूमध्ये औसत रेटिङका आधारमा नम्बर १ रेटेड बैंकिङ एप बन्न सफल भएको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

डेबिट कार्ड

हालसम्म देशभरका बैंकहरूले कुल १ करोड ३६ लाख डेबिट कार्ड जारी गरेका छन् तीमध्ये सिद्धार्थले मात्र ९ लाख १८ हजार डेबिट कार्ड वितरण गरेको छ, जसले कुल बजारको करिब ७ प्रतिशत हिस्सा ओगटेको छ ।

गत असार मसान्तसम्ममा डेबिट कार्डमार्फत ११ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा, सिद्धार्थ बैंकको कारोबार ७४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जसले बैंकको बजार हिस्सालाई ७ प्रतिशतमा स्थापित गरेको छ ।

क्रेडिट कार्ड

हालसम्म बैंकहरूले कुल ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् जसमा सिद्धार्थ बैंकको हिस्सा ६० हजार रहेको छ । यस आधारमा सिद्धार्थ बैंकको बजार हिस्सा १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, कारोबारको हिसाबले पनि बैंकले १५ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा अवधिमा सिद्धार्थ बैंकका क्रेडिट कार्डमार्फत ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

‘क्रेडिट कार्ड क्षेत्रमा आफ्नो उपस्थिति सुदृढ बनाउन निरन्तर प्रयास हुँदै आएको छ’ बैंकले भनेको छ ‘यसका लागि लक्षित ग्राहकलाई ध्यानमा राखी उपयुक्त योजनाहरूको साथ कार्ड वितरण गरिँदै आएको छ ।’ साथै, बैंकले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर ग्राहकहरूलाई विविध छुट र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

बैंकको ‘सिद्धार्थ रिवार्डस् प्लाटफर्म’ मार्फत प्रत्येक खर्चमा तुरुन्तै अंक प्राप्त हुने र ती अंक विभिन्न साझेदार ब्रान्डहरूमा छुटका रूपमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ।

सिद्धार्थ बैंकले क्रेडिट कार्ड सेवामा सहजता र पहुँचलाई प्राथमिकतामा राख्दै सेवा प्रक्रियालाई सरल र प्रयोगमैत्री बनाएको छ । यसले ग्राहकलाई सहज भुक्तानी अनुभव प्रदान गर्दै, डिजिटल कारोबार संस्कृतिलाई थप सशक्त बनाउन योगदान पुर्‍याइरहेको छ ।

प्रिपेड कार्ड

हालसम्म बैंकहरूले जम्मा २ लाख ५० हजार प्रिपेड कार्ड जारी गरिसकेका छन् तीमध्ये सिद्धार्थ बैंकको हिस्सा १४५ अर्थात् ३४ हजार २२४ कार्ड रहेको छ । कारोबार रकमका हिसाबले बैंकको हिस्सा करिब ८ प्रतिशत छ ।

बैंकले प्रिपेड कार्ड सेवालाई सहज, भरपर्दाे र ग्राहकमैत्री बनाउन निरन्तर प्रयास गर्दै आएको छ । कार्डको दुरुपयोग रोकथाम, तत्काल समस्या समाधान र नियमित अनुगमनको माध्यमबाट सेवा स्तर उच्च राख्ने काम हुँदै आएको बैंकको भनाइ छ ।

यसले ग्राहकहरूले आवश्यकता अनुसार सहजै कारोबार गर्न सक्ने वातावरण तयार गरेको छ । ‘नयाँ सुविधा र अपडेट समयमै उपलब्ध गराउँदै ग्राहक अनुभव अझ प्रभावकारी बनाउनेतर्फ ध्यान दिइँदै आएको छ’ बैंकले भनेको छ ।

भर्चुअल ई–कम तथा क्रेडिट कार्ड

ग्राहकको सुविधालाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले हालै भर्चुअल ई–कम कार्ड सार्वजनिक गरेको छ, जसलाई मोबाइल बैंकिङको इजीबैंक सेवा मार्फत प्रयोग गर्न सकिन्छ । यस कार्डको माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न झन्झटमुक्त र सजिलो भएको छ ।

त्यति मात्र होइन, बैंकले चाँडै सिद्धार्थ फोनपे क्रेडिट कार्ड सुरु गर्न लागेको छ, जसबाट ग्राहकले क्युआर स्क्यान गरी सिधै व्यापारीलाई भुक्तानी गर्न सक्नेछन् । यी डिजिटल सेवाहरूले ग्राहकलाई समय र स्थानको कुनै सीमा बिना सहज रूपमा कारोबार गर्न मद्दत पुर्‍याउनेछ । बैंकको लक्ष्य सबै सेवाहरूलाई अझ डिजिटल, सुरक्षित र प्रयोगमैत्री बनाउने रहेको छ ।

वृद्धिदर

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरूले ७० वटा नयाँ एटीएम सञ्चालनमा ल्याउँदा सिद्धार्थ बैंकले पनि २ वटा थपेर आफ्नो सेवा विस्तार गरेको छ । बैंकहरूले गत वर्ष डेबिट कार्डमा ६ प्रतिशत वृद्धि गर्दा, सिद्धार्थ बैंकले १४ प्रतिशत वृद्धि गर्दै आफ्नो कार्ड सेवाको पहुँचलाई अझ सशक्त बनाएको छ ।

क्रेडिट कार्ड क्षेत्रमा पनि बैंकले समीक्षा अवधिमा ९ हजार ९१० कार्ड जारी गर्दै १९ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । प्रिपेड कार्ड प्रणालीमा बैंकको वृद्धिदर ३६ प्रतिशत पुगेको छ, जबकि मोबाइल बैंकिङमा १५ प्रतिशत वृद्धिदर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?