२१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको विस्तारित बैठकमा मुख्य गरी चार विषयमा छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
चितवनको सौराहामा आजदेखि सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा जति नै उत्साहित भएर लाग्दा पनि पार्टीलाई सबै पालिका र वडासम्म पुर्याउन नसकिएको उल्लेख गरेका छन् ।
पार्टी ’ग्रासरुट’ सम्म पुग्ने पुग्न नसकेको आत्मवोध गर्दै सुदृढ र गतिशील संगठन बनाउने रणनीति विस्तारित बैठकले तय गर्नुपर्ने उल्लेख गरेका छन् ।
अर्यालले पार्टीले अंगीकार गर्नुपर्ने नीतिमा दोस्रो एजेण्डामा पार्टी संगठन विस्तार र बलियो हुनुपर्ने उल्लेख गरेका छन् । संगठन बलियो नहुँदा संसदीय मोर्चा (चुनाव) मा सफल हुन नसकिने उनको निष्कर्ष छ ।
‘जनपक्षीय एजेन्डा कार्यान्वयन गर्न शासन सत्तामा पार्टीको निर्णायक उपस्थिति हुनैपर्छ । त्यसका लागि चुनावी परिणाम अनिवार्य सर्त हो । यो बैठकले चुनावी नीति, योजना र कार्यक्रम पनि बनाउनु पर्नेछ,’ अर्यालको प्रतिवेदनमा भनिएको छ ।
पार्टीका आन्तरिक नीतिहरू, राष्ट्रिय मुद्दाहरूमा लिनुपर्ने दृष्टिकोण र राख्नुपर्ने धारणा एवं आगामी दिनमा लिने प्रमुख कार्यदिशाबारे विस्तृत र गहन छलफल गर्नुपर्ने उल्लेख गरेका छन् ।
विस्तारित बैठकमा छलफल हुनुपर्ने चौथो विषयमा सरकारलाई चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने रास्वपाको दायित्व हुने अर्यालले प्रतिवेदनमा समावेश गरेका छन् ।
‘संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचन अनिवार्य छ । लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने राजनीतिक दललाई पनि चुनावप्रति प्रतिवद्ध हुन प्रोत्साहित गर्नुपर्ने छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिनिधिसभाको चुनावको परिणाम पार्टीको पक्षमा ल्याउने गरी छलफलमा जुट्नका लागि विस्तारित बैठक आह्वान भएको अर्यालले लेखेका छन् ।
प्रतिवेदनमा पार्टीभित्र रहेको प्रवृत्तिबारे उनको टिप्पणी छ, ‘कुनै अमूक व्यक्तिलाई देखाएर पन्छिने, महत्त्वपूर्ण जिम्मेवारीमा रहेर पनि गुनासो मात्रै गरिरहने र ४० महिनामै योगदानको हिसाब–किताब खोज्ने हुर्कँदो प्रवृत्ति’ छ ।
प्रतिक्रिया 4