News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप पुनले नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- निवेदकले पार्टीको नाम, चुनाव चिह्न र मार्गदर्शक सिद्धान्त यथावत् राख्न आयोगलाई अनुरोध गरेका छन्।
- उनले पार्टीको विधान विपरीत निर्णय गर्न नसकिने र आयोगलाई दबाबबाट प्रभावित नहुन चेतावनी दिएका छन्।
२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।
सन्दीप पुनले शुक्रबार निर्वाचन आयोगमा यस्तो निवेदन दिएका हुन् ।
तर, कुन कानुनका आधारमा यस्तो निवेदन दिइएको हो र यसको प्रक्रिया के हुन्छ ? भन्नेबारे केही भनिएको छैन । आयोगले एउटा निवेदन आयो भन्ने रूपमा लिएर निवेदन ग्रहण गरिएको जनाएको छ ।
निवेदकले भने कुनै पार्टीमा विलय वा मर्ज गर्न चुनाव चिह्न र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न नसक्ने भएकोले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वैधानिक रूपले यथावत रहेको दाबी गरेका छन् ।
यस्तो दाबी गर्दै आयोगलाई उक्त पार्टीको नाम तथा चुनाव चिह्न यथावत् राख्न र फ्रिज नगर्न अनुरोध गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यसमिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको र उक्त आयोजक समिति विधान बमोजिम नयाँ कार्यसमिति गठन नहुन्जेल काम चलाउ आयोजक समिति मात्र भएकोले पार्टी जीवनमा उक्त समितिले दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने पुनको दाबी छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको ऐतिहासिक जनयुद्ध र सोको आधारमा भएको सम्पूर्ण परिवर्तन हजारौं शहीद, घाइते तथा बेपत्ताहरूको योगदानको आधार सोही नाम झण्डा र चुनाव चिह्न तथा मार्गदर्शक सिद्धान्तबाट भएकोले उक्त पार्टीको विधान विपरीत कुनै निर्णय गर्न नसक्ने र दबाब प्रभावबाट निर्वाचन आयोग प्रभावित नहुन अनुरोध गरेका छन् ।
पार्टीको नाम, झण्डा, चुनाव चिह्न र मार्गदर्शक सिद्धान्त फ्रिज गरी चुनावमा भाग लिन वञ्चित गरिएमा निर्वाचनको वैधानिकतामा नै प्रश्न उठ्ने चेतावनी समेत दिइएको छ ।
प्रतिक्रिया 4