+
+
Shares

काठमाडौंमा समस्या पर्दा विदेशी वायुसेवाका जहाज किन भैरहवा र पोखरा ‘डाइभर्ट’ गरिँदैन ?

काठमाडौं टावरले जहाजलाई ‘डाइभर्ट गर’ मात्र भन्न सक्छ, तर कहाँ जाने भन्ने निर्णय वायुसेवा कम्पनी स्वयंको हुन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ कात्तिक २३ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको लाइटमा समस्या आएपछि करिब ५ घण्टा उडान र अवतरण बन्द भयो।
  • उडान अवरुद्ध हुँदा कोरियन एयर, नेपाल एयरलाइन्स, फ्लाइ दुबई र कतार एयरवेजका जहाजहरू विभिन्न वैकल्पिक गन्तव्यमा डाइभर्ट गरिए।
  • विमानस्थल निर्देशक रिन्जी शेर्पाले वायुसेवा कम्पनीले अग्रिम निर्णय गरेर मात्र वैकल्पिक विमानस्थलमा जहाज डाइभर्ट गर्ने जानकारी दिनुभयो।

२३ कात्तिक, काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ५ घण्टा उडान/अवतरण बन्द भयो । ‘पिक आवर’ मा भएको अवरोधले एक दर्जन अन्तर्राष्ट्रिय उडान/अवतरण प्रत्यक्ष प्रभावित भए ।

आन्तरिक उडान/अवतरणमा त्यसको दोब्बर संख्यामा प्रभाव पर्‍यो । धावनमार्गको किनारमा रहने लाइट (बत्ती) मा समस्या आएपछि दिउँसो साढे ३ बजेदेखि उडान/अवतरण रोकेर काम थालिएको थियो ।

विमानस्थल बन्द भएपछि करिब १ घण्टासम्म विदेशका विभिन्न गन्तव्यबाट आएका जहाजले नेपालको आकासमा फन्को मार्दै बसे । यसरी ‘होल्ड’ गर्नेमा कोरियन एयर, नेपाल एयरलाइन्स, फ्लाई दुबई, कतार एयरवेज लगायत थिए ।

आन्तरिक उडानका जहाज पनि आकासमै थिए । त्यसपछि जहाजहरू क्रमश: ‘डाइभर्ट’ गर्न थालियो । सुर्खेतबाट उडेको बुद्ध एयरको जहाजलाई पोखरा डाइभर्ट गरिएको थियो । जनकपुरबाट काठमाडौं आइरहेको बुद्ध एयरकै अर्को जहाजलाई उतै पठाइयो ।

अन्तर्राष्ट्रियतर्फ कोरियन एयरको जहाज भारतको नयाँदिल्ली डाइभर्ट भयो । फ्लाइ दुबईको जहाज भारतकै लखनउ डाइभर्ट गरियो । कतार एयरवेजको जहाज भने बंगलादेशको ढाकातर्फ लाग्यो ।

यता, दिल्लीबाट आएर नेपाली आकासमा दुई दर्जन फन्को मारिसकेको नेपाल एयरलाइन्सको वाइड बडी जहाज भने होल्डमै बस्यो र समस्या समाधान भएसँगै त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो ।

अनलाइनखबरमा जहाज डाइभर्टका खबर प्रकाशनमा आउन थालेसँगै सामाजिक सञ्जालमार्फत पाठकले दर्जनौं प्रश्न सोधेका छन् ।

‘यस्तो अवस्थामा भैरहवा र पोखरा किन विकल्प बन्न सकेनन् ? विकास गौतम यामनाथ लेख्छन्, ‘भैरहवा र पोखराको एयरपोर्ट गाईवस्तु चराउन बनाएको हो कि के हो ?’

शिव कार्की लेख्छन्, ‘काठमाडौंमा समस्या हुनेबित्तिकै सीमा पारि डाइभर्ट गर्नुपर्छ भने नेपालमा बनेका पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई अब केवल राष्ट्रिय विमानस्थल घोषणा गरे भयो ।’

पाठकका यी जिज्ञासालाई हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता रिन्जी शेर्पा समक्ष राख्यौं ।

‘हरेक वायुसेवा कम्पनीले हरेक गन्तव्यमा उड्नुअघि आफ्नो फ्लाइट प्लानमा वैकल्पिक विमानस्थलबारे अग्रिम निर्णय गरेर आउने गर्छ,’ शेर्पाले भने ।

उनका अनुसार काठमाडौं टावरले जहाजलाई ‘डाइभर्ट गर’ मात्र भन्न सक्छ, तर कहाँ जाने भन्ने निर्णय वायुसेवा कम्पनी स्वयंको हुन्छ । विदेशी जहाज भैरहवा र पोखरा नजानुका पछाडि विभिन्न कारणले भूमिका खेलेको उनी बताउँछन् ।

सामान्यतया वायुसेवा कम्पनीले वैकल्पिक घोषणा गरेका विमानस्थलमा उनीहरूको नियमित उडान/अवतरण भइरहेको हुन्छ । त्यहाँ कुनै पनि समस्या आउँदा सहयोग गर्न कम्पनीकै ‘ग्राउन्ड स्टाफ’ तयारी अवस्थामा हुन्छन् ।

विमानस्थल प्रशासनसँग उडान/अवतरण र पार्किङका लागि वार्षिक सम्झौता गरेका हुन्छन् । डाइभर्ट गरिएको उडानका यात्रुलाई होटलमा राख्नुपर्ने हुन्छ । वैकल्पिक विमानस्थलमा उनीहरूले होटलसँग अग्रिम सम्झौता गरेका हुन्छन् ।

‘नयाँ गन्तव्यमा जहाज अवतरण गराइयो र यात्रुलाई रात्रिकालीन बसाल्नु पर्‍यो भने रातभरि जहाजमा राख्ने कुरा त भएन, सयौँ यात्रुलाई होटलमा राख्नुपर्‍यो भने त्यसको व्यवस्थापन गर्न पनि त सपोर्ट स्टाफ चाहियो,’ उनी भन्छन्, सोहीकारण विदेशी जहाजले आफ्नो स्रोतसाधन जहाँ छ, सोही गन्तव्यमा डाइभर्ट गर्छन् ।’

यसलाई अझ बुझ्ने भाषामा उनी भन्छन्, ‘भविष्यमा भैरहवा विमानस्थलमा कतार एयरवेजको नियमित उडान भयो, त्यहाँका होटलसँग उसको सम्झौता भयो र कतार एयरवेज भैरहवा अवतरण गर्दा सहयोग गर्ने कर्मचारी उसले भैरहवामा राख्ने अवस्था आयो भने काठमाडौंको विकल्प उसले भैरहवा तोक्न सक्छ ।’

विदेशी वायुसेवा कम्पनीलाई यो वा त्यो विमानस्थलमा लैजाऊ भन्ने निर्देशन नेपालको विमानस्थल प्रशासनले दिन नसक्ने उनी बताउँछन् । सोहीकारण वायुसेवा कम्पनीले लामो दूरी तय गरेर भए पनि आफूले अग्रिम तय गरेका वैकल्पिक विमानस्थलमा जहाज डाइभर्ट गर्ने गरिएको उनले जानकारी दिए ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?