News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालगञ्जमा राष्ट्रिय किसान सञ्जाल र नेपाल किसान महासंघले धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गरेका छन्।
- सञ्जाल अध्यक्ष डा. प्रेम दंगालले सरकारले धानको समर्थन मूल्य घोषणा गरे पनि खरिद प्रक्रिया अगाडि नबढाएपछि आन्दोलन थालिएको बताए।
- सञ्जालले देशभर विभिन्न प्रदेशमा विरोध कार्यक्रम घोषणा गरी किसानका १६ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ।
२३ कात्तिक, काठमाडौं । नेपालगञ्जमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा तालाबन्दी गरिएको छ । धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दै राष्ट्रिय किसान सञ्जाल र नेपाल किसान महासंघले तालाबन्दी गरेको हो ।
सञ्जाल अध्यक्ष डा. प्रेम दंगालले सरकारले धानको समर्थन मूल्य घोषणा गरे पनि किसानबाट धान खरिद गर्ने प्रक्रिया अगाडि नबढाएपछि आन्दोलनमा उत्रिएरै तालाबन्दी गर्नुपरेको जानकारी दिए ।
‘किसानका माग पूरा गराउनका लागि पनि यो आन्दोलन थालिएको हो,’ उनले भने ।
सञ्जालले देशभरिका विभिन्न प्रदेशमा विरोध कार्यक्रम घोषणा गरेको थियो । यसको मुख्य कारण वर्षाले धान लगायत बालीमा भएको क्षतिको यकिन तथ्यांक संकलन गरी राहत कार्यक्रम ल्याउनुपर्ने र सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग हो ।
नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानहरूले तालाबन्दी गर्नुका साथै लगभग एक–डेढ घण्टासम्म विरोध प्रदर्शन गरेका थिए ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाइएको छ भने हेटौंडामा पनि सञ्जालकै तर्फबाट प्रदर्शन गरिएको छ ।
सञ्जालका अनुसार बाँकेमा पनि विरोध कार्यक्रम भएको छ । आजै कोशी प्रदेशमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । गण्डकी र मधेश प्रदेशमा भने १ र २ फागुनमा विरोध प्रदर्शन गर्ने तयारी छ ।
सञ्जालले २० कात्तिकमा पत्रकार सम्मेलन गरेर किसानका पक्षमा १६ बुँदे माग राख्दै तत्काल सम्बोधन हुनुपर्ने बताएको थियो । किसानका समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
सञ्जालले १६ गते नै ज्ञापनपत्र पेस गरेर आजदेखि प्रदेशस्तरीय किसान परिचालन गर्ने तथा त्यसयता स्थानीय र केन्द्रमा स्थिति हेरी निरन्तर किसान परिचालन गर्ने कार्यक्रम घोषणा गरेको थियो ।
प्रतिक्रिया 4