२४ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखसहित भेलाको आयोजना गर्ने भएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन भेला गर्न लागिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई दिने भेलामा नगरप्रमुख र उपप्रमुखसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासनिक अधिकृतहरूको पनि सहभागिता रहने छ ।
भेलामा सहभागिताको लागि प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरूलाई पनि बोलाइएको छ । भेलामा मुख्य रूपमा ३ वटा विषयहरू छलफल हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।
उनका अनुसार भेलामा पहिलो प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह, दोस्रो कर्णाली प्रदेशले योजना छनौट सम्बन्धी हाल गरिएको अभ्यास र योजना छनौट कार्यविधि, तेस्रो स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी विषयमा छलफल हुनेछ ।
सचिव विकका अनुसार संविधानमा तीन तहका सर कारबिच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित भएर अघि बढ्नुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबिचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रियाको आयोजना गरेको हो । छलफल तथा अन्तरक्रियाले दुई तहका सर कारबिच देखिएका कतिपय सम्बन्धका समस्या र समाधानका उपायहरू खोजिनेछन् ।
प्रदेश सरकारले पहिलो पटक योजना छनोट तथा आयोजना बैङ्कको अवधारणा ल्याएर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ । कार्यक्रममा उक्त अवधारणालाई थप परिमार्जन गर्ने सन्दर्भमा समेत छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4