२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८-१९ पुस तोकिएको छ ।
रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो ।
सहमहामन्त्री आचार्यले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि कानुनी प्रावधान सहित पार्टीले मापदण्डहरू तय गरेको जानकारी गराए ।
उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको सहमहामन्त्री आचार्यले जानकारी गराए ।
समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको छ ।
रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका आवेदकका लागि २५ हजार रुपैयाँ तय गरेको थियो । जेनजी विद्रोहसँगै प्रतिनिधिसभा विघटन भएपछि रुपन्देही–३ मा उपनिर्वाचन भने हुन सकेन ।
रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय लिएको छ ।
‘प्रत्यक्ष अथवा समानुपातिक हकमा आवश्यक योग्यताहरूको एउटा लिस्ट बनाउन छौं । थप योग्यतालाई स्वघोषणा गर्न भनेका छौं । सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा गर्नु पर्नेछ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘अनलाइन होस् अथवा अफलाइन होस् त्यो द्वेष फैलाउने उम्मेदवार हुन नपाउने मापदण्ड बनाएका छौं । वैध आयस्रोत भएको पुष्टि पनि गर्नुपर्दछ ।’
उम्मेदवार हुन इच्छुकले अनलाइन वा भौतिक रूपमा फर्म भरेर आवेदन पेस गर्न सकिने रास्वपाले जनाएको छ ।
उम्मेदवार छनोट गर्दा लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतको विधि अवलम्बन गरिने रास्वपाले जनाएको छ ।
‘एउटा प्रारम्भिक निर्वाचनबाट आउने भोटको एउटा भ्यालु हुन्छ । उम्मेदवार मूल्यांकन समिति बनाउने भनेको छौं । उम्मेदवार मूल्यांकन समितिमा क्लस्टर अनुसार प्रतिनिधित्व हुनुहुन्छ । सातै प्रदेशबाट समितिमा प्रतिनिधित्व हुन्छ । पार्टीले बनाएका सबै विधिहरूबाट अंक जोडेर उम्मेदवारको अन्तिम सूची निकाल्छौं,’ आचार्यले भने ।
आवेदनका लागि अन्तिम मिति पार्टीको बैठकले निर्णय गर्ने आचार्यले जानकारी गराए ।
प्रतिक्रिया 4