News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जामन्त्री कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी बन्ने सहमति भइसकेको छ र चुनाव चिह्न बिजुलीको चिम रहने छ।
- पार्टीमा ५१ जनाको केन्द्रीय कमिटी रहनेछ र कमिटी सदस्यबारे छलफलका कारण पार्टी दर्ता मंगलबार सर्ने देखिएको छ।
- पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ पार्टीमा नजोडिने भएकी छन् र उनले सहमति नहुँदा फिल्डमै जानुपर्ने धारणा राखेकी छन्।
ऊर्जामन्त्री कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी बन्ने भएको छ, जसको चुनाव चिह्न बिजुलीको चिम रहने सहमति भइसकेको छ ।
यो पार्टीमा ५१ जनाको केन्द्रीय कमिटी हुनेछ । कमिटीमा को-को रहनेछन् भन्ने विषयमा छलफल जारी छ । जसका कारण सोमबार हुने भनिएको पार्टी दर्ता प्रक्रिया मंगलबारलाई सर्ने देखिएको छ ।
स्रोतका अनुसार केन्द्रीय कमिटीको लागि धेरै नाम आउँदा कसलाई हटाउने र कसलाई राख्ने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ ।
तर, नयाँ पार्टीमा पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठको पनि नाम थियो । उनीसमेत यसको लागि छलफलमा सक्रियताका साथ लागिरहेकी थिइन् । आइतबार दिउँसोसम्म उनी आउने भनिए पनि आइतबार बेलुकाबाट त्यो सम्भावना टरेको छ । तत्कालको लागि उनी उज्यालो नेपाल पार्टीमा नजोडिने भएकी हुन् ।
सुमना किन पार्टीमा आइनन् भन्ने विषयमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले उनले सिफारिस गरेको नाम र चिह्न नरहने भएपछि असहमति जनाएको टिप्पणी गरिरहेका छन् ।
आइतबार दिउँसोसम्म पनि यो पार्टीको नाम नेपाल जनसेवा पार्टी रहने मोटामोटी सहमति भइसकेको थियो । तर बेलुकासम्म आइपुग्दा उज्यालो नेपाल पार्टी राख्ने सहमति भएको थियो ।
के सुमना उक्त पार्टीमा नरहनुको कारण यही हो त ? अनलाइनखबरले सुमनलाई श्रेष्ठलाई सोधेको छ :
कुलमान घिसिङको पार्टीमा तपाईं किन अट्नुभएन ?
हामी भित्र धेरै कुरा भएका छन् । तर हालको अवस्थामा केही कुरामा सहमति भएन । त्यसैले उहाँलाई ‘आई विस हिम अल दी बेस्ट’ । पछि सहकार्य गर्ने बाटो भइहाल्छ । तर पार्टी बनाउनको लागि फिल्डमै जानुपर्छ भन्ने मेरो धारणा हो ।
तपाईंले प्रस्ताव गर्नुभएको नाम र चिह्नमा सहमति नभएपछि कुरा मिलेन भन्ने छ नि ?
नाम जस्तो सानो कुरामा सोच्ने कुरा हैन । यसमा विवाद गर्नुपर्ने कुरा केही पनि छैन । अरू के-के भयो भन्ने चाहिँ विस्तारै आइहाल्छ ।
अब कसरी अघि बढ्नुहुन्छ त ?
हेरौँ । अहिले ठ्याक्क यही नै हुन्छ भन्न सक्ने अवस्था छैन । अब परिस्थिति कसरी अघि बढ्छ, त्योअनुसार हुन्छ ।
प्रतिक्रिया 4