२५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न माग गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग गरिएको हो ।
हाल सञ्चालन भइरहेको मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रममा बायोमेट्रिक दिने लगायतका प्राविधिक समस्याले निर्धारित मितिमा सबैले मतदाता नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको रास्वपाको निष्कर्ष छ ।
यस्तो निष्कर्षसहित रास्वपाले गृहमन्त्रीलाई पत्र बुझाउँदै भनेको छ, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन बयोमेट्रिक दिनमा देखिएको समस्या समाधान गर्न तथा समयवधि थप गरिदिनुहुन अनुरोध गर्दछौं ।’
निर्वाचन आयोगको तालिका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म मात्रै छ ।
निर्धारित समयभित्र सबैले मतदाता नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको भन्दै रास्वपाले समय थप गर्न रास्वपाको माग गरेको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था भए समय थप गर्न सकिने सन्देश निर्वाचन आयोगलाई दिइसकेको छ ।
प्रधानमन्त्री कार्यालयले आवशयक परे मतदाता नामावलीमा नाम दर्तँ गरिसक्नुपर्ने ३० कात्तिकसम्मको म्याद पुनरावलोकन गर्न सकिने समेत भनेको छ ।
यो अवस्थामा रास्वपाले समेत मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थप गर्न माग गरेको हो ।
साथै, रास्वपाले विदेशमा रहेका नेपालीले मतदाता नामवलीमा नाम दर्ता गराउने सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गरेको छ ।
विदेशमा रहेका नेपालीको मतदाता नामावलीमा नाम दर्ता कार्य तत्काल सुरु गर्न गृहमन्त्री अर्यालसमक्ष माग प्रस्तुत गरेको छ ।
प्रतिक्रिया 4