+
+
Shares

‘मधेश संसद् विघटनको खेल सफल हुन दिन्नौं, उस्तै परे सभामुख हटाउँछौं’

‘कांग्रेससहित हामी सबै दल एकजुट छौं । कुनै पनि यस्ता प्रक्रियालाई अगाडि बढ्न दिँदैनौँ । हामी यसमा सजग छौँ र हाम्रो प्रदेश संसद् विघटन हुनुहुन्न समयसम्म चल्न पाउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:०८

मधेश प्रदेशमा पहिलो दलको हैसियतमा एमालेका सांसद्‌ सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि तीन दिनदेखि मधेश तनावग्रस्त छ । एमाले बाहेकका दलहरूसडक प्रदर्शनमा उत्रिएका छन् । नवनियुक्त मुख्यमन्त्री यादवको असंवैधानिक रूपमा नियुक्ति भएको भन्दै उनीहरू आक्रोशित छन् । सभामुखको भूमिकामाथि पनि उनीहरूले प्रश्न उठाएका छन् । यसै सन्दर्भमा जनमत पार्टीका महासचिव चन्दन सिंहसँग अनलाइनखबरले गरेको कुराकानी :

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रकरणलाई लिएर आन्दोलन  गरिरहनु भएको छ ।  यो विषय त अदालतमा पुगिसक्यो नि, किन तपाईंहरू आन्दोलनमा ?

संविधानको धारा १६८ को उपधारा (२) अनुसारले नै नयाँ सरकार गठन गर्नुपर्ने भनेर माग गरेका थियौं । प्रदेश प्रमुखज्यूलाई हामीले राति १२/१ बजेसम्म आग्रह गर्‍यौं । तर उहाँले मान्नु भएन । तर बिहानै चारै बजे उठेर बर्दिबास र सिन्धुली बोर्डरको एउटा होटलमा गएर मुख्यमन्त्रीलाई शपथ गराउनु भयो । उहाँलाई के बाध्यात्मक अवस्था आयो ?  यो घटना सङ्घीयताप्रतिको उपहास हो । यो कुरा सच्चिनु पर्दछ।

हामीले सर्वदलीय सहमतिमा सबै पार्टी मिलेर नयाँ सरकार बनाउने माग पनि गरेका थियौँ। एमाले बाहेक अरू सबै सात वटा दलको त्यो धारणा थियो । तर उहाँले यस्तो किसिमको क्रियाकलाप गरेर सङ्घीयतालाई एकदम अपमानित गर्नुभएको छ। त्यसैले गर्दा हामी सडकमा छौं ।

सडक आन्दोलन चाहिँ कहिलेसम्म जारी रहन्छ ? अदालतमा गइसकेपछि अब सडकमै उत्रिराख्नुपर्ने अवस्था हो र ?

अदालतको पनि हिजोको जुन ‘स्टे अर्डर’ छ, त्यो पनि अलिकति ट्विस्ट छ। हिजो वकिल साथीहरूले रिट दिनुभएको थियो । तर, आज चाहिँ विधिवत् रूपमा पार्टीले र प्रदेशका ७४/७५ जना प्रदेश सांसद्‌ले हस्ताक्षर गरेरै अदालतमा मुद्दा हालिएको छ । हामी त्यो पनि हेरेर बसेका छौँ ।

तपाईंहरूको आन्दोलनमा मुख्यमन्त्रीको नियुक्ति मात्रै होइन कि अहिले त सभामुख हटाउने विषय पनि आएको छ नि, यो चाहिँ के हो?

हेर्नुहोस्, अस्ति पनि यस्ता घटनाहरू भए । पाँच वर्ष सरकार चल्यो, सात/आठ वर्षदेखि सङ्घीयताको अभ्यास भइरहेको छ हाम्रो देशमा । त्यत्रो सदन चलाउँदा आधा घण्टा, दश मिनेट रोक्दा के हुन्छ र ? विश्वासको मत प्राप्त गर्ने अवस्था  जितेन्द्र सोनल मुख्यमन्त्रीजीको थिए । तर उहाँले नेगोसिएसनका लागि केही समय माग्नुभएको थियो । तर सभामुखले त्यो समय नै दिनुभएन ।

घण्टी बजाएर तुरुन्त बैठक थालेर विश्वासको मतको प्रक्रिया अघि बढाउनुभयो । सभामुखजीले त झन् सहज बनाइदिनुपर्ने हो । तपाईंहरू मिल्नुहोस्, मिलेर आउनुहोस्, विश्वासको मत लिनुहोस् भन्नुपर्ने हो । तर उहाँले त्यस्तो गर्नुभएन ।

उहाँले तुरुन्तै घण्टी लगाएर जबर्जस्ती गर्नुभयो । उहाँलाई के अप्ठेरो थियो ? उहाँ पनि एमालेबाटै सभामुख हुनुभएको हो । प्रदेश प्रमुख पनि एमाले, सभामुख पनि एमाले, अहिलेको नियुक्ति गरिएका नयाँ मुख्यमन्त्री पनि एमाले नै हो । उहाँहरू मिलेर यो काम गर्नुभयो ।

 त्यसो भए आन्दोलन सभामुख हटाउने विषयमा पनि केन्द्रित छ ?

सभामुख त व्यावहारिक रूपमा प्रक्रियागत मिलाएर हटाउने हो, दुई तिहाइ चाहिन्छ। उहाँले जुन क्रियाकलाप अस्ति गर्नुभयो उहाँमाथि महाभियोग लगाउन सकिन्छ । उहाँ पनि हाम्रो आन्दोलनको एउटा मुद्दा हो ।

एमाले बिनाको दुई तिहाइबाट सभामुख हटाउन सक्ने अवस्था छ र तपाईंहरूको?

७५ सांसद हामीसँग अहिले पनि छन् । त्यो भन्दा बढी नै हुन सक्छ। एमालेभित्र पनि मुख्यमन्त्रीको  नियुक्ति प्रक्रिया त्रुटिपूर्ण छ, त्यसलाई सच्चिनु पर्दछ भन्ने माग छ । मलाई लाग्छ कि, एमालेको पनि जानकारी बिना काम भइरहेको छ ।

अब उपधारा (३) अन्तर्गतको प्रमुख दलको नेतृत्वमा सरकार बनिसकेको छ । अब यो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएन भने त फेरि अर्को धाराको प्रक्रियामा जाला। अनि त्यो गर्दाखेरि फेरि संसद् विघटनको बाटोतिर अगाडि बढ्छ जस्तो लाग्दैन?

हामी संसद् विघटन हुन दिँदैनौँ । संसद् विघटन नहोस् भन्ने हाम्रो प्रयास हुन्छ । हामी त्यसको लागि पुरै भरपुर दम/तागत लगाउँछौँ र सबै साथी हामी एकजुट छौँ । कांग्रेससहित हामी सबै दल एकजुट छौं । कुनै पनि यस्ता प्रक्रियालाई अगाडि बढ्न दिँदैनौँ । हामी यसमा सजग छौँ र हाम्रो प्रदेश संसद् विघटन हुनु भएन र समयसम्म चल्न दिनुपर्छ ।

मुख्यमन्त्री नियुक्तिपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ भन्ने अभिव्यक्ति दिनुभयो, जुन अभिव्यक्तिको अहिले आलोचना पनि भइरहेको छ। तपाईंकै पार्टी भित्रका प्रदेशका अध्यक्षले समेत यसको विरोध गर्नुभएको छ। त्यो अभिव्यक्तिको अर्थ के हो ?

उहाँले अहिले पनि एकात्मक शासन, एकल पार्टी सिस्टम छ भन्नुभयो । दुनियाँमा जहाँ पनि गणतन्त्रात्मक व्यवस्था छ त्यहाँ सङ्घीयता छ । सङ्घीयता बिनाको लोकतन्त्र गणतन्त्र हुन सक्दैन । सङ्घीयता लोकतन्त्र/गणतन्त्रको राम्रो पक्ष हो । तर, अहिले सङ्घीयता विरोधी प्रवृत्ति केही हावी हुन लागिरहेछ  । त्यो चाहिँ राम्रो भएन। त्यसको लागि हामी सबै एकजुट हुन्छौँ।


त्यसले उहाँले स्वायत्तताको कुरा उठाउनु कुनै गलत होइन । मधेश आन्दोलन २०६२/६४ मा पनि स्वायत्तताको कुरा उठेको हो ।  ‘समग्र मधेश एक प्रदेश’को कुरा उठेकै हो । अटोनोमस/स्वायत्तताको मतलब यो होइन कि, अलग्गै हुन्छ । आफ्नो प्रशासन हुन्छ, आफ्नो पुलिस हुन्छ, आफ्नो काम गर्ने क्षमता हुन्छ  । त्यो वृद्धि गर्नको लागि हो ।

मलाई लाग्छ कि, कुनै पनि यस्तो विषय आयो भने, सङ्घीयताको जनमतसंग्रह गराउनको लागि संविधानले नै व्यवस्था गरेको छ । कुनै प्रदेश कमजोर छ भने, स्वायत्तता दिन सकिन्छ । तर उहाँको अभिव्यक्तिमा शंकित हुनु, गलत अर्थ लगाउनु ठीक होइन ।

अहिलेको यो सम्पूर्ण घटनाक्रम विकास हुनुमा चाहिँ जनमत पार्टीभित्रको आन्तरिक झगडाको कारण पनि हो । तपाईंहरूले आफ्नै मुख्यमन्त्रीलाई हटाउने खालको योजना बनाएपछि यो घटना भएको हो नि ?

तपाईंलाई त्यस्तो लागिरहेको होला ।  बहुदलीय प्रणालीमा पार्टीमा हुन्छ । त्यहाँ  व्यक्तिको अर्थ रहँदैन । हाम्रो भोटर, हाम्रो समर्थक सबभन्दा बढी जेनजी  हुन् ।

विदेशमा बस्ने साउदी अरेबिया, मलेसिया, कतार, दुबई, बहराइन, कुवेतमा बस्ने साथीहरू छन्। सबै जनाको माग थियो, ‘हामी सरकारबाट हटेर नयाँ किसिमले अगाडि बढौं ।’ हामीले त्यो चिजलाई अङ्गीकार गरेर नै मुख्यमन्त्री हटाउने निर्णय गरका हौं ।

मुख्यमन्त्रीकै पनि इच्छा थियो, हैन, अब यस्तो परिस्थितिमा काम गर्ने वातावरण नभएर उहाँले राजीनामा दिन चाहनुभयो । पछि कुरा बङ्ग्याउनुभयो, तोड्नुभयो । त्यो त राम्रो होइन नि। पार्टीले निर्णय गरिसकेको छ भने, त्यो मान्नुपर्ने हो नि  ।  पार्टीमा पार्टीगत सिस्टम हुन्छ नि । सङ्गठनको कुरा नमान्ने, निर्णय नमान्ने भन्ने त उचित होइन । त्यो कारणले यस्तो भएको हो।

अस्तीको जुन घटना छ त्यो त सरासरबाट भएको घटना हो । माओवादीका माननीयले ह्विप तोडेका हुन् ।

आन्दोलनको क्रममा चाहिँ सांसद्‌/नेताहरू नै आफै संलग्न भएर तोडफोड गर्ने, कर्मचारीहरूले कुटपिट गर्ने, प्रहरीमाथि हातपात गर्ने जुन गतिविधि भयो, त्यसविरुद्ध  कर्मचारी/प्रहरीहरूले उजुरी पनि  गरेका छन् । यो घटनालाई चाहिँ तपाईंले कसरी लिनुभएको छ?

त्यो नहुनुपर्ने घटना भयो । आक्रोशमा साथीहरूले त्यो काम गरे । भिडियोहरुमा आक्रोश पोखेको देखिन्छ । जहाँ गल्ती भएछको त्यहाँ अब माफी माग्नुपर्छ । गल्ती स्वीकारेर जानुपर्छ । हामी पनि यस्ता कुरामा पुनर्विचार गर्छौं ।

उनीहरुलाई कारबाही नै गर्नुपर्छ भन्ने माग भइराछ नि त ?

माग भइराछ भने, हामी सोचौँला नि। कस्तो प्रकृतिको हो भने, कारबाहीको प्रकृतिको हो भने कारबाही पनि हुन्छ, कुनै ठूलो कुरा हैन नि त। हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?