२६ कात्तिक, हेटौंडा । जेनजी प्रदर्शनका क्रममा हेटौंडाका व्यक्तिगत तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ कात्तिकमा पक्राउ गरेका दुई जनालाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट अपराधिक उपद्र मुद्दामा ५ दिनको म्याद थप गरेको छ ।
अनुसन्धान चलिरहेकाले आरोपित दुई जनाकै परिचय प्रहरीले गोप्य राखेको छ । ‘अनुसन्धान चलिरहेको छ । दोषीमाथि कारबाही अगाडि बढिसकेको छ,’ प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले भने ।
प्रहरीले व्यक्तिगत घरमा आगलागी र तोडफोडमा प्रत्यक्ष संलग्न दुई जनालाई पक्राउ गरी मुद्दा चलाउन थालेको हो । मकवानपुर प्रहरीले २३ र २४ भदौमा भएको घटनाको झन्डै एक हजार बढी भिडियो फुटेज लगायतका प्रमाण संकलन गरेर घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको डीएसपी बोगटीले बताए ।
जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको स्पष्ट निर्देशनपछि प्रहरीले ‘एक्सन’ सुरु गरेको हो ।
११ कात्तिकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित अन्तर्क्रियामा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले २४ भदौका घटनालाई पूर्ण फौजदारी अपराधको संज्ञा दिँदै दोषीलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताएका थिए । उनले घटनाको अनुसन्धान गर्न ढिलाइ गर्न नहुने पनि बताएका थिए ।
२३ भदौको प्रदर्शनमा सामान्य धर्ना बाहेक हेटौंडाको अवस्था शान्त नै थियो । २४ भदौमा भने प्रदर्शनकारीको ठूलो भिडले प्रदेश सरकारका संरचनादेखि राजनीतिक दल र व्यवसायीका व्यक्तिगत संरचना आगजनी र तोडफोड गरेर क्षतिग्रस्त बनाएको थियो ।
बागमती प्रदेशसभा सचिवालयको दुईवटै भवन, प्रदेश सरकारका मन्त्रालयहरू, अन्य सरकारी कार्यालयसहित बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, व्यवसायी अरुणराज सुमार्गी लगायतका नेता र व्यवसायीहरूको व्यक्तिगत संरचनामा क्षति पुर्याइएको थियो ।
घर जलाइएका पीडित पक्षले ५ असोजमै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा करिब आधा दर्जन व्यक्तिलाई घटनाको योजनाकारको रूपमा अपराधिक उपद्र तथा संगठित अपराधमा कारबाही माग गर्दै किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । तर किटानी जाहेरी उपर कारबाही अगाडि बढेको छैन । घटनाका अन्य दोषीलाई नियन्त्रणमा लिइए पनि मुख्य योजनाकारहरू खुलेआम हिँडिरहेको भन्दै पीडित पक्षले योजनाकारलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।
जाहेरीकर्ताले जेनजी पुस्तालाई प्रदर्शन गर्न उक्साएर ५ देखि ७ जना सरकारी निकाय र व्यक्तिको घर जलाउने योजनाकार रहेको दाबी गर्दै जाहेरी दिएको प्रहरीले उल्लेख गरेको छ । पीडित पक्षले भने प्रहरीले प्रदर्शनमा उत्रिएका जेनजीलाई मात्रै पक्राउ गरिरहने र योजनाकारहरूले उन्मुक्ति पाउने अवस्था आउन सक्ने आशंका व्यक्त गरेका हुन् ।
‘केही व्यक्तिहरूले प्रदर्शनकारीको नेतृत्व गरेको थिए, मान्छे ओसारेर हिँडेका थिए, घर देखाउँदै हिँडेका थिए । ती मान्छेहरू अहिलेसम्म पक्राउ परेका छैनन्,’ प्रदेशसभा सदस्य श्रेष्ठले भने, ‘हामीले दिएको किटानी जाहेरीका आधारमा पनि उनीहरूमाथि कारबाही हुनुपर्ने थियो । खुलेआम हिँडिरहेको अवस्था छ ।’
उनीहरूलाई तत्काल कारबाही नभए समाजमा शान्ति-सुरक्षा कायम हुन नसक्ने र झन् ठूलो द्वन्द्व सिर्जना हुनसक्ने अवस्था देखिएको श्रेष्ठले बताए ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी बोगटी घटनामा दोषी देखिएका कसैले पनि उन्मुक्ति नपाउने बताउँछन् ।
मकवानपुर प्रहरीमा हालसम्म करिब ३० जनाविरुद्ध एक दर्जन जाहेरी दर्ता भएको छ । मंगलबार मात्रै हेटौंडा उपमहानगरपालिकाले आगलागी र तोडफोडको अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएको छ । अन्य सरकारी निकायहरूले पनि जाहेरी दिने तयारी गरेका छन् ।
प्रतिक्रिया 4