News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता विजय बराल र नाजिर हुसेनले नाटक ‘हरि हजुरबा’ लिएर बर्दियामा मोफसल टूरमा निस्किएका छन्।
- ‘हरि हजुरबा’ नाटकले दुई पुस्ताका पात्रको कथा भन्छ र जीवन दर्शन मिसिएको छ, जसमा पर्खाइको कठिनाइ देखाइएको छ।
- ‘हरि हजुरबा’ मण्डला थिएटरको पाँचौं सर्वाधिक कमाउने नाटक हो जसले २२ लाख रुपैयाँ ग्रस कमाएको थियो।
काठमाडौं । नाटक ‘हरि हजुरबा’ लिएर अभिनेताद्वय विजय बराल र नाजिर हुसेन मोफसल टूरमा निस्किएका छन् । ‘जारी २’को प्रदर्शन र ‘कबड्डी ५’ छायांकनको ब्यस्तताबीच विजय नाटक देखाउन हिँडेका हुन् ।
विहिबार यो नाटकलाई बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा देखाइनेछ । यसका लागि विजय पोखराबाट नेपालगञ्ज हुँदै त्यता पुगिसकेका छन् ।
शुक्रबार बर्दियाको राजापुरस्थित मानपुरको टपरा स्कुलमा, शनिबार नेपालगञ्जको बीपी चोकमा नाटक मञ्चन गर्ने कार्यक्रम छ ।
नाजिरले निर्देशन गरेको उक्त नाटकमा नाजिर र विजयको अभिनय छ । लामो समय फिल्ममा ब्यस्त विजय उक्त नाटकबाट रंगमंचमा फर्किएका हुन् ।
‘हरि हजुरबा’ ले दुई पुस्ताका पात्रको कथा भन्छ । हजुरबुबा कुरेर बसेकी छोरीको कथामा नाटक बनेको छ । ‘यसमा जीवन दर्शन पनि मिसिएको छ । पर्खाइ कति गाह्रो छ भन्ने कुरा यसले भन्छ’, नाजिरले नाटकबारे भनेका थिए, ‘यसले अलिकति द्वन्द्वको समयलाई पनि प्रतिनिधित्व गर्छ ।’
‘हरि हजुरबा’ मण्डला थिएटरका नाटकमध्ये सर्वाधिक कमाउनेमध्येको पाँचौ नाटक हो । यसले २२ लाख रुपैयाँ ग्रसमात्र मण्डला नाटकघरबाट कमाएको थियो । एक महिना चलेको नाटकमा दर्शक खचाखच थिए ।
नाटकमा सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे, रिसु राउतको पनि अभिनय छ ।
बर्दियाका ती ठाउँमा नाटक मञ्चनसँगै विजयले स्थानीय हलमा पुगेर ‘जारी २’का दर्शकसँग साक्षात्कार गर्नेछन् । ‘नाटक पनि हेरौं, सिनेमा पनि हेरौं । आउनुहोस् सँगै कथासँगै अनुभूति बाँडौं’ उनले भनेका छन् ।
उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ अहिले प्रदर्शनरत छ जहाँ विजयले मंगलसिंह पात्रको भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया 4