२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचारण नगरेको भन्दै असन्तुष्ट सात राजनीतिक दलले उनीविरुद्ध प्रस्ताव दर्ता गराएका छन् । सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुखविरुद्ध प्रस्ताव दर्ता गरेका हुन् ।
६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन् ।
उपसभामुखले तोक लगाइसकेको प्रस्ताव दर्ता गर्न सभामुखले रोकेका थिए । तर, कर्मचारीले अन्ततः दर्ता गरेका छन् । त्यही क्रममा त्यहाँ पुगेका प्रदेश सांसद र सभामुखसहित उनका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ ।
प्रदेश सांसद महतोले आफूहरू सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएर निस्किने बेला आफूहरूमाथि सभामुखसहित उनका कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् ।
गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दल मण्डललाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएका थिए ।
सभामुख मण्डल एमालेबाट सभामुख बनेका थिए । पछिल्लो घटनाक्रम सभामुख मण्डल र एमलेकै कोटाको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कारण निम्तिएको भन्दै सात दल रुष्ट छन् ।
सभामुखले एमालेको भएको कारण सत्तापक्षीय दलहरू छलफल गरिरहेकै बेला सभामुख मण्डलले सदनको कामकारबाही अगाडि बढाएको र बाध्य भएर तत्कालीन मुख्यमन्त्री सोनलले राजीनामा दिनु परेको सात दलीय गठबन्धनको जिकिर छ ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ (१) नियम १८० को उपनियम १ बमोजिम सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी दर्ता गराउने व्यवस्था छ । यसमा ६४ जना सांसदले हस्ताक्षर गरेका छन् । तर, सभामुखविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया 4