+
+
Shares

विप्लवको बदलाव– अब चन्दा उठाएर होइन, आलु फलाएर पार्टी चलाउने (पडकास्ट)

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ कात्तिक २७ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेत्रविक्रम चन्द विप्लवले १५ जनाको ज्यान गएको जनयुद्ध गरे पनि उनको क्रान्ति सफल भएन र धेरै साथी जेलमा छन्।
  • विप्लवले २०७८ सालमा तत्कालीन केपी ओली सरकारले चारबुँदे सहमति गर्दै अतिवादी राजनीतिलाई विराम लगाएको बताए।
  • चुनाव बहिष्कार गर्दै हिंसात्मक गतिविधि गर्ने विप्लव अब संसदीय राजनीतिमा फर्कंदैछन् र उनको दल निर्वाचन आयोगमा दर्ता भएको छ।

प्रचण्ड र मोहन वैद्यले गरेको क्रान्तिले पुगेन भनेर नेत्रविक्रम चन्द विप्लवले झन्डै झन्डै ‘जनयुद्ध’ गरेथे । १५ जनाको ज्यान गयो भने १५ जना अझै जेलमा छन् । विप्लव र उनका साथीहरु लामै समय भागेर हिंडे । यो पडकास्टरले उनलाई भूमिगत बेलामा एकपल्ट भेटेको पनि थियो ।

विप्लव किन भूमिगत भए, किन बाहिरिए– साँच्चै भन्ने हो भने उनीसँग स्पष्ट जवाफ छैन । कम्युनिस्ट शास्त्रलाई सूत्रमा रट्ने हुँदा धेरैले दु:ख पाए, दु:ख दिए । बाटो बिराए । विप्लव अपवाद रहेनन् ।

‘एकीकृत जनक्रान्ति’ नाम दिएर उनले थालेको अतिवादी राजनीतिलाई २०७८ सालमा तत्कालीन केपी ओली सरकारले चारबुँदे सहमति गर्दै विराम लगाइदिएको थियो ।

त्यसपछि विप्लवको कार्यदिशा के, स्वयं विप्लवका निकटस्थलाई थाहा भएन । उनीसँग फुटेर कोही प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रतर्फ फर्किए । कोही धर्मेन्द्र बास्तोलातर्फ गए ।

विप्लवसँग रहनेहरू चाहिं चन्दा उठाएर चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीलाई उत्पादनमूलक काममा लगाउन थाले । कुनै बेला पूँजीपतिसँग आर्थिक सहायतामा आश्रित कार्यकर्ता पंक्ति अब आफैं कमाइगरिखान थाल्यो । एनसेल टावरमा बम हान्ने विप्लव समूह विनोद चौधरीलाई अनाज बेच्न थाल्यो ।

पूँजीपतिले अतिरिक्त मूल्यमार्फत श्रमिकको शोषण मात्रै गर्न जानेका हुन्छन् भन्ने मार्क्सकालीन व्याख्यामा रमाउने विप्लव यो वार्तामा आफैं यस्तरी बोलेका छन्, मानौं उनी ‘शार्क ट्यांक’ मा आफ्नो बिजनेस आइडिया पिच गरिरहेका ऊर्जावान् उद्यमी हुन् ।

महत्वाकांक्षी विप्लवको वैचारिक कायाकल्प कसरी सम्भव भयो त ?

अनलाइनखबरको स्टुडियोमा मैले प्रस्तुत गरेको यो दुई घण्टाको पडकास्टमा विप्लवको जिन्दगीका राजनीतिक उतारचढावबारे कोट्याइएको मात्रै छैन, उनीसँग कतिपय मुद्दाहरूमा दोहोरो बहस समेत हुन पुगेको छ ।

यस भिडियो वार्तामा विप्लव कतै रक्षात्मक बनेका छन्, कतै आक्रामक । कतै हँसमुख, कतै मलिन ।

चुनाव बहिष्कार भन्दै बम हान्ने विप्लव अब संसदीय राजनीतिमा फर्कंदैछन् । उनको दल भर्खरै निर्वाचन आयोगमा दर्ता भएको छ । विप्लवसँग अब नाम मात्रै विप्लव छ, उनी पूरापूर सौम्य, शालीन दरिएका छन् ।

विप्लवका नयाँ राजनीतिक स्वीकारोक्तिहरू सुन्नका लागि पनि यो भिडियो वार्ता महत्त्वपूर्ण हुनेछ । उनलाई अनलाइनखबरले हिजोका हिंसात्मक अतिवादी गल्तीहरूबारे आत्मस्वीकारसहित श्वेतपत्र जारी गर्नसमेत सुझायो, जसप्रति उनी सकारात्मक सुनिए ।

एकैछिन पडकास्ट अन्तर्वार्ताका हाइलाइट हेरौं, अनि विस्तृत कुराकानीमा पसौं ।

तस्वीर/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?