एपलले आफ्नो नयाँ सीईओ छान्ने औपचारिक प्रक्रिया सुरु गरेको छ। फाइनान्सियल टाइम्स का अनुसार, एप्पलका सीईओ टिम कुकले आगामी वर्ष पद छोड्नसक्ने सम्भावना छ।
करिब १४ वर्षदेखि कम्पनीको शीर्ष नेतृत्व सम्हालिरहेका कुकले अवकाश लिने सम्भावना बढेका कारण कम्पनीभित्र उनको उत्तराधिकारीबारे गम्भीर छलफल सुरु भएको छ।
जोन टर्नस : प्रमुख दाबेदार
हालैका रिपोर्टहरूमा एपलका वरिष्ठ उपाध्यक्ष (हार्डवेयर इन्जिनियरिङ) जोन टर्नसलाई सीईओ पदका लागि सबैभन्दा शक्तिशाली नामका रूपमा प्रस्तुत गरिएको छ।
५० वर्षका टर्नस कम्पनीमा करिब दुई दशक बिताइसकेका अनुभवी इन्जिनियर हुन् । उनीसँगको प्राविधिक दक्षता, नेतृत्व क्षमता र हार्डवेयर विकासमा प्राप्त सफलताले उनलाई शीर्ष पदका लागि उत्कृष्ट उम्मेदवार बनाएको विश्लेषण गरिएको छ।
यद्यपि, एपलले यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा सार्वजनिक गरेको छैन।
टिम कुकको नेतृत्वमा एपलको रूपान्तरण
टिम कुक सन् १९९८ मा एपलमा प्रवेश गर्दा कम्पनी गम्भीर आर्थिक र व्यवस्थापकीय चुनौतीहरूसँग जुधिरहेको थियो।
स्टीभ जब्सले कम्पनीको कार्यसञ्चालनमा सुधार गर्ने लक्ष्यसहित कुकलाई नियुक्त गरेका थिए । सन् २००५ देखि २०११ सम्म चीफ अपरेटिङ अफिसर का रूपमा उनले कम्पनीको सप्लाई चेनलाई विश्वस्तरीय बनाए । यसले आइपोड, आइफोन, आइप्याड तथा म्याकबुकजस्ता उत्पादनहरूलाई विश्व बजारमा व्यापक रुपमा विस्तार गर्न मद्दत गर्यो।
सन् २०११ मा स्टीभ जब्सको अस्वस्थतापछि कुक पहिलोपटक अन्तरिम सिइओ बने । अनि सोही वर्ष अगस्टमा औपचारिक रूपमा सिईओ नियुक्त भए ।
उनको नेतृत्वमा एपलले एप्पल वाच, एयरपोड्स, एम-सिरिज सिलिकन चिप, एप्पल भिजन प्रो जस्ता गेम–चेन्जिङ प्रडक्टहरू बजार ल्यायो । यसै अवधिमा एप्पल कम्पनी ३ ट्रिलियन डलर बजार पूँजीकरण भएको विश्वकै पहिलो कम्पनी बन्यो ।
साथै आइक्लाउड, एप्पल म्यजिक, एप्पल टिभी प्लस तथा एपस्टोर जस्ता सेवाहरूको अत्यधिक विस्तार पनि कुककै कार्यकालको उपलब्धि हो ।
को हुन् जोन टर्नस ?
जोन टर्नसले सन् २००१ मा एप्पलमा आफ्नो यात्रा प्रारम्भ गरेका थिए । प्रडक्ट डिजाइन टिममा सुरु भएको उनको यात्रा सन् २०१३ मा हार्डवेयर इन्जिनियरिङ विभागको उपाध्यक्ष सम्म पुग्यो । सन् २०२१ मा उनी वरिष्ठ उपाध्यफ बने र त्यसपछि एपलका सबै हार्डवेयर टिमहरूको नेतृत्व उनकै हातमा रह्यो।
आइफोन, आइप्याड, म्याक तथा एयरपड्स जस्ता एपलका प्रमुख उत्पादनहरू उनको नेतृत्वमै विकास हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा एपलका सार्वजनिक कार्यक्रमहरूमा उनको बढ्दो उपस्थिति विश्लेषकहरूले आगामी नेतृत्वको संकेतका रूपमा विश्लेषण गरेका छन्।
टिम कुकको भविष्य
६५ वर्षीय टिम कुक १४ वर्षदेखि सीईओ पदमा छन् । उनको योगदानलाई एपलको दोस्रो ‘सुनौलो युग’ भनेर पनि वर्णन गरिन्छ । स्टीभ जब्सपछि कम्पनीलाई स्थीरता, विस्तार र नयाँ उचाइमा पुर्याउने श्रेय प्रायः उनलाई नै दिइन्छ ।
तिनै कुकले अब एप्पल कम्पनीबाट आफूलाई अलग गर्दैछन् । त्यसैले उनको त्यो बहिर्गमनसँगै एपलको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयले विश्व प्रविधि उद्योगको ध्यान तानिरहेको छ ।
-एजेन्सी
प्रतिक्रिया 4