+
+
Shares

निक्षेपभन्दा कर्जाको ब्याजदर धेरै घट्यो, औसत ब्याजदर ७.५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको छ।
  • वाणिज्य बैंकहरूको असोजसम्म कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत र निक्षेपको ३.८५ प्रतिशत छ।
  • ब्याजदर करिडोरको प्रभावले बैंकहरूले निक्षेपको ब्याजदर कम घटाएका छन् र स्थायी निक्षेप सुविधा पाउन सक्दैनन्।

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेपभन्दा कर्जाको ब्याज धेरै घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोजसम्म बैंकहरूको कर्जाको औसत ब्याजदर १.८३ प्रतिशत विन्दुले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो त्रैमासमा समीक्षा अवधिको तुलनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर १.८३ प्रतिशतले घट्दा निक्षेपको १.३९ प्रतिशत विन्दु घटेको छ ।

यो असोजसम्म वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत छ भने निक्षेपको औसत ब्याजदर ३.८५ प्रतिशत छ । गत आर्थिक वर्ष असोजमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ५.२४ प्रतिशत थियो । त्यसैगरी सो अवधिमा कर्जाको औसत ब्याजदर ९.३३ प्रतिशत थियो ।

बैंकहरूले कर्जाको ब्याजदरको तुलनामा निक्षेपको ब्याजदर कम घटाउनुको मुख्य कारण ब्याजदर करिडोरको प्रभाव हो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत भन्दा थोरै निक्षेपको ब्याजदर कायम गरेको खण्डमा स्थायी निक्षेप सुविधा पाउँदैनन् ।

बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा नपाउँदा बढी भएको तरलता केन्द्रीय बैंकमा राखेर आम्दानी गर्ने अवसर गुमाउँछन् ।

२०८२ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.५६ प्रतिशत, विकास बैंकहरूको ७.९२ र वित्त कम्पनीहरूको ८.४८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ७.२९ प्रतिशत, विकास बैंकहरूको ९.१३ प्रतिशत र वित्त कम्पनीहरूको १०.३५ प्रतिशत रहेको थियो ।

२०८२ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत, विकास बैंकहरूको ४.४५ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशत छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.२४, विकास बैंकहरूको ५.९४ र वित्त कम्पनीहरूको ७.२१ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, २०८२ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ । २०८१ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत थियो ।

त्यसैगरी २०८१ असोजमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९६ प्रतिशत रहेकोमा २०८२ असोजमा १.९१ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८१ असोजमा ३.०० प्रतिशत रहेकोमा २०८२ असोजमा २.५८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?