३० कात्तिक, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको चुनावमा भाग लिने प्रयोजनका निम्ति दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिएको छ ।
आयोगले तोकेको समयभित्र ३५ वटा दलले दर्ता निवेदन दिएका छन् । यसमध्ये ७ वटाले दल दर्ताको प्रमाणपत्र नै लिइसकेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अरू २८ वटा दल दर्ताको प्रक्रियामा छन् ।
‘खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने ।
जेनजी विद्रोहको माग अनुसार हुन लागेको मध्यावधि चुनावमा स्वयं जेनजीहरूको अलग्गै दल भने दर्ता भएन । आन्दोलनको अगुवाइ गर्ने जेनजीहरूले दर्ता भएकै दलहरूबाट कुनैलाई समर्थन जनाउने बताइरहेका छन् ।
तर आयोगले चुनावी प्रयोजनका निम्ति दल दर्ता गर्न दिएको समयमा यसअघि नै समाजमा स्थापित भइसकेकाहरूले भूमिका बदल्दै नयाँ दल दर्ता गराएका छन् । त्यसमध्ये एउटा यस्तो प्रवृत्ति देखिएको छ, जसले आफ्ना प्रतिनिधिका नाममा दल दर्ता गराए ।
त्यस्तो शैली अपनाउनेमा कुलमान घिसिङ, जनार्दन शर्मा, घनश्याम भूसाल, रेशम चौधरी र दुर्गा प्रसाईं छन् । उनीहरूले आफ्ना प्रतिनिधिलाई औपचारिक प्रक्रियाका लागि अगाडि बढाएर दल दर्ता गराएका छन् ।
नेपालको संसदीय राजनीतिमा यस्तो शैली नयाँ भने होइन । पञ्चायतकै बेला पनि भूमिगत कम्युनिष्ट पार्टीहरूले जनपक्षीय उम्मेदवार भनेर निर्दलीय चुनावमा भाग लिन्थे । विशेषगरी तत्कालीन मालेको समर्थनमा देशभर जनपक्षीय उम्मेदवार उठ्ने गरेका थिए भने र कतिपय उम्मेदवारले जिते पनि ।
२०४६ सालको परिवर्तन पछि माओवादी धारले यस्तो अभ्यास गर्यो । २०४८ सालमा चुनावी प्रयोजनकै निम्ति जनमोर्चाबाट उम्मेदवारी दिइएको थियो । यसरी उम्मेदवार दिँदा पनि ९ सिट जितेर संसद्को तेस्रो शक्ति बन्यो । २०५१ सालको चुनावमा भने भाग नलिइ सशस्त्र विद्रोहमा माओवादी होमियो ।
आगामी २१ फागुनमा तोकिएको चुनावी प्रयोजनका निम्ति पनि देखाउने नेता एउटा, र वास्तविक नेतृत्व अर्कैले गर्ने अभ्यास हुने देखिएको छ ।
अनुपकुमार उपाध्याय
अन्तरिम सरकारको महत्त्वपूर्ण मन्त्रालयहरू सम्हालिरहेका कुलमान घिसिङले पूर्व चर्चा र अनुमान बमोजिम नयाँ दल दर्ता गरेका छन् ।

तर उनी आफू भने कतै देखिएका छैनन् । चुनाव नलड्ने मानिसहरू मन्त्री बनाउने अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नीति उल्लङ्घन गरेका कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएका छन् ।
पूर्व सचिव उपाध्याय घिसिङकै सचिवालयमा काम गरिरहेका थिए । उनै उपाध्याय संयोजक भएर ‘उज्यालो नेपाल’ नामक पार्टी दर्ता भएको छ । यो दलको केन्द्रीय समितिमा रहेका ५१ सदस्यीय घिसिङले चुनेका व्यक्तिहरू हुन् ।
अर्थात् निर्वाचन आयोगको रेकर्ड र औपचारिकतामा मात्रै उपाध्याय संयोजक हुन्, खास नेता कुलमान घिसिङ नै हुन् । केन्द्रीय समितिमा बसेकाहरूले पनि यस्तो तथ्य लुकाएका छैनन् ।
कवीर सोब
कुलमान घिसिङले अपनाएको शैलीलाई यसअघिबाटै अभ्यास गर्दै आएका रेशमलाल चौधरीले पनि नयाँ दल बनाएका छन् । रेशमको नयाँ पार्टीको नाम हो, ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ ।

नयाँ पार्टीका अध्यक्ष कवीर सोब छन्, र संरक्षकमा रेशम चौधरी बसेका छन् । अर्थात् नयाँ दलको खास नेता रेशम हुन्, कवीर औपचारिक अध्यक्ष ।
२५ वर्षीय कबीरलाई अध्यक्ष बनाउनुपर्ने बाध्यता भने पत्नी रञ्जितासँगको विवाद हो । रेशमले २०७९ को चुनावमा पनि यस्तै शैली अपनाएका थिए ।
टीकापुर घटना पछि राजनीतिमा आएका रेशमले पत्नी रञ्जिताको नाममा नाउपा दर्ता गरेका थिए । आफू जेलमा रहँदा रञ्जिताको नाममा दल दर्ता भएको नाउपाले अप्रत्यासित मत पायो । प्रतिनिधि सभामै चार जनाले जितेका थिए भने प्रदेश सभा तर्फ पनि उल्लेख्य संख्यामा सांसदहरू जितेका थिए ।
तर औपचारिकताका निम्ति अध्यक्ष राखिएकी पत्नी रञ्जितासँग विवाद बढ्दै जाँदा रेशमले कबीरलाई अध्यक्ष बनाउँदै नयाँ दल दर्ता गराएका छन् ।
सविन सिग्देल
माओवादी पुनगर्ठन गर्ने भन्दै एकीकृत समाजवादी सहितका दलहरूसँगको एकता प्रक्रियामा सामेल नभएका जनार्दन शर्माले पनि छुट्टै दल दर्ता गरेका छन् । तर शर्मा आफैं पार्टी अध्यक्ष छैनन् । उनले सविन सिग्देललाई अध्यक्ष राखेर ‘प्रगतिशील नागरिक पार्टी’ गठन गरेका छन् ।
प्रचण्डले पार्टीको नेतृत्वबाट विदा लिनुपर्ने वकालत गर्दै आएका शर्माले चुनाव चिन्ह भने तीनपाते फूल प्रस्ताव गरेका छन् । निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका निम्ति औपचारिक अध्यक्षमा सिग्देललाई प्रस्ताव गरेका शर्माले त्यसअघि सुदन किरातीलाई संयोजक बनाएका थिए ।
एकता प्रक्रियामा गएको पार्टी नाम र चिन्ह एक वर्षसम्म प्रयोग गर्न नपाइने वैधानिक व्यवस्थाका कारणले शर्माले नयाँ पार्टी प्रस्ताव गर्नुपर्ने हुन्थ्यो । त्यसैले शर्माले ‘प्रगतिशील नागरिक पार्टी’ बनाए । यसको संयोजक सुदन किराती छन् ।
आयोगमा दर्ता हुँदा पनि सुदन पनि रहेनन् । र, सिग्देशको अध्यक्षमा निवेदन दिइयो ।
राजकुमार कक्षपति
जनार्दन शर्माकै जस्तो समस्यामा थिए, घनश्याम भूसाल । अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीलाई माओवादी सहितका दलहरूसँग एकता गर्ने निर्णय लिएका थिए ।
एकता प्रक्रियामा भाग नलिएका भूसालले पार्टी पुनर्गठन अभियान चलाएका छन् । तर एकीकृत समाजवादी नाम राख्न उनले पाउने छैनन् ।
त्यसैले नयाँ पार्टी दर्ता गराउने नीति भूसालले लिए । जसअनुसार राजकुमार कक्षपति संयोजक र नन्दलाल बन्जाडे सह–संयोजक रहेको ‘नेकपा (वाम केन्द्र)’ दर्ता प्रक्रियामा छ । चुनाव चिह्न सूर्यमूखी फूल प्रस्ताव गरिएको छ ।
माधवप्रसाद खतिवडा
खास व्यक्ति पछाडि बसेर आफ्ना प्रतिनिधिलाई औपचारिक प्रक्रियामा अगाडि बढाउने नीति दुर्गा प्रसाईंले पनि लिएका छन् ।

‘नागरिक बचाउ दल नेपाल’ नामक दल प्रसाईँले अगाडि बढाएका हुन् । यो दलका सभापति छन्, माधवप्रसाद खतिवडा । निर्वाचन आयोगमा नयाँ दलको सभापति भएर जानुअघि उनी दुर्गा प्रसार्इँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक अभियानका प्रवक्ता थिए ।
प्रसाईंलाई साथ दिँदै आएका खतिवडा सभापति रहेको दलमा २७ जना केन्द्रीय सदस्य छन् । यो दलले चुनाव चिह्न जोडी पाइला राखेको छ ।
प्रतिक्रिया 4