१ मंसिर, काठमाडौं । पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको जोडबलमा नेपाल वायुसेवा निगमको कामू महाप्रबन्धक बनेका जनकराज कालाखेतीले सञ्चालक समितिको बैठकमा ‘आफूले काम गर्न नसक्ने’ घोषणा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू लगायतका व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने संकेत पाएपछि कालाखेलीले आइतबारसाँझ बसेको सञ्चालक समितिको बैठकमा विभिन्न कारणले काम गर्न नसकिएको भन्दै सम्बन्धित निकायमा जानकारी दिने घोषणा गरेका हुन् ।
नेपाल वायुसेवा निगमको अध्यक्ष र महाप्रबन्धक दुवै पद रिक्त छन् ।
तत्काल पदपूर्ति प्रक्रिया थाल्नु भनी दिएको निर्देशनको पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की पर्यटन मन्त्रालयकी सचिव हरि मैनालीसँग स्पष्टिकरण सोधेकी थिइन् ।
केही साताअघि निमित्त महाप्रवन्धको जिम्मेवारी पाएकोमा काम गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो । वाइडबडी प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत जाने संकेत पाएपछि उनले कामूको जिम्मेवारी नलम्ब्याउने संकेत दिएका हुन् ।
‘उहाँले सञ्चालक समिति मात्रै होइन, सरकारलाई समेत यसवारेमा जानकारी गराउनुभएको छ,’ पर्यटन मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, ‘एक/दुई दिनमै बैकल्पिक व्यवस्था भइदिए हुन्थ्यो भन्ने चाहना राख्नुभएको छ ।’
चैत, २०८० मा अख्तियारले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकार सहित ३२ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
३२ जनामध्ये निगमका तत्कालीन कामू निर्देशक जनकराज कालाखेतीलाई पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनी लगायतमाथि खरिद उपसमिति र प्रस्ताव मूल्यांकन उपसमितिमा रही बदनियतपूर्वक काम गरेको आरोप थियो ।
तर विशेष अदालतले कालाखेतीलाई सफाइ दिएको थियो । सफाइ पाएपछि उनी काममा फर्किएका थिए । फैसलाको पूर्णपाठ पाएको अख्तियार त्यसविरुद्ध सर्वोच्च अदालत जाँदैछ ।
निमित्त महाप्रबन्धक कालाखेतीले भने आफूले निमित्त भएर काम गर्न नसक्ने कुरा नगरेको बताए ।
‘निमित्त महाप्रबन्धक पूर्ण अधिकारसहितको भूमिका होइन । त्यसो हुँदा सबै अधिकार प्रयोग गर्न मिल्दैन । दैनिक कार्यसञ्चालनको मात्रै जिम्मेवारी हुन्छ । नीतिगत निर्णय पनि गर्न मिल्दैन भनेको हुँ,’ उनले भने, ‘अपेक्षा धेरै भए पनि अधिकार सीमित छन् भनेको हो । निमित्त महाप्रबन्धककै जिम्मेवारी छोड्छु भनेको होइन ।’
तर सरकारले भने उनीबाट आधारभूत जिम्मेवारी पनि बहन हुन नसक्ने भन्दै अर्को विकल्पको तयारी गरिरहेको हो । त्यसका लागि छिटो प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको जिम्मेवारीमा समेत रहेकी प्रधानमन्त्री शुसीला कार्कीले सचिव हरि मैनालीलाई निर्देशन दिएकी हुन् ।
प्रतिक्रिया 4