News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग आर्थिक वर्ष २०८१/८२ मा ५०.८० प्रतिशतमा झरेको छ।
- टायर तथा ट्युब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.६७ प्रतिशत रहेको छ।
- कोशी प्रदेशमा २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल निक्षेप ५ खर्ब ५३ अर्ब र कर्जा ६ खर्ब १३ अर्ब पुगेको छ।
३ मंसिर, काठमाडौं । कोशी प्रदेशका उद्योगको औसत क्षमता उपयोग घटेको छ । गत आर्थिक वर्ष कोशीका उद्योगको औसत क्षमता उपयोग करिब ५२ प्रतिशतमा झरेको हो ।
तर, प्रदेशका उद्योगको औसत क्षमता उपयोग घटे पनि टायर तथा ट्युब कम्पनीको भने लगभग शतप्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र« बैंकले गरेको अध्ययन अनुसार आव २०८१/८२ मा कोशीका उद्योगहरूको औसत क्षमता उपयोग ५०.८० प्रतिशत छ । २०८०/८१ मा ५२.५९ प्रतिशत थियो ।
गत आव सबैभन्दा बढी क्षमता उपयोग गर्ने उद्योग क्रमशः टायर तथा ट्युब, चाउचाउ, तोरी तेल र भटमास तेल उत्पादन गर्ने समूहका उद्योग छन् ।
यसैगरी कम क्षमता उपयोग गर्ने उद्योगमा वनस्पति घिउ, घरेलु धातुका सामान, साबुन, सिमेन्ट, कच्चा छाला र चामल उत्पादन गर्ने समूहका उद्योग छन् ।
टायर तथा ट्युब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.६७ प्रतिशत रहेको अध्ययनले देखाएको छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.३७ प्रतिशतमात्र छ ।
अघिल्लो आवको तुलनामा गत आवमा भटमास तेल उत्पादन सबैभन्दा बढी १ हजार ४ सय ४९ प्रतिशतले बढेको छ । घरेलु धातु सामान उत्पादन ७४.३ प्रतिशतले घटेको छ । वैदेशिक बजारमा भटमास तेल माग वृद्धि भएको, भारतले निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको तथा उत्पादन क्षमतामा वृद्वि भएका कारण भटमास तेल उत्पादन बढेको हो ।
मागमा आएको कमी तथा आयातित वस्तुसँग मूल्य प्रतिस्पर्धी हुन नसकेका कारण घरेलु धातुका सामान उत्पादनमा कमी आएको देखिन्छ ।
कोशीका उद्योगमा अघिल्लो आव १६ हजार ९ सय ५८ श्रमिक कार्यरत रहेकोमा गत आव १७ हजार ३ सय ३२ पुगेका छन् । सुनसरीमा रहेका उद्योगमा ८.९४ प्रतिशत बढी श्रमिकले रोजगारी पाएका छन् भने मोरङ, झापा र उदयपुर जिल्लामा रहेका उद्योगबाट क्रमशः ४.०७, २० र २४.६२ प्रतिशत श्रमिकले रोजगारी गुमाएको अध्ययनले औँल्याएको छ ।
गत आव कोशीको आर्थिक वृद्धि ३.३४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अघिल्लो आव ३.३१ प्रतिशत भएको संशोधित अनुमान छ । २०८१/८२ मा कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४.०५, १६.१० र ४९.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
उक्त अवधिमा समग्र कृषि बाली उत्पादन २.१४ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी खाद्यबाली अन्तर्गत धान २.१६, मकै ९.२४ र उखु ४.२४ प्रतिशत बढेकाले समग्र कृषि बाली उत्पादन वृद्धि भएको अध्ययनले देखाएको छ ।
२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कोशीको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.०२ प्रतिशतले घटेर ५६ अर्ब ३० करोड पुगेको छ ।
२०८२ असार मसान्तमा कुल औद्योगिक कर्जा १५.०३ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब कायम भएको छ । अघिल्लो आव सोही अवधिमा ८.११ प्रतिशतले बढेको थियो ।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा कोशीका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १५.७२ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब पुगेको र कर्जा प्रवाह ५.९५ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब पुगेको छ ।
२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ७.१४, बचत निक्षेप अंश ५०.८४, मुद्दती निक्षेप अंश ३६.०२ र अन्य निक्षेप अंश ६ प्रतिशत छ ।
कोशीमा निर्माण सम्पन्न भएका १० जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता १३४.२ मेगावाट छ । कोशीमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सोलुखुम्बुमा सञ्चालित जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी २५७.४३ मेगावाट उत्पादन क्षमता छ ।
प्रतिक्रिया 4