News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सीमावर्ती भारतको बिहारमा ७५ वर्षीय नितिशकुमारलाई १०औं पटक मुख्यमन्त्री नियुक्त गर्ने निर्णय राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले गरेको छ।
- नितिशकुमारको शपथ ग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको गान्धी मैदानमा हुनेछ, जसमा प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रीहरू सहभागी हुनेछन्।
- हालैको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले २४३ सिटमध्ये २०२ सिट जितेको छ, जसमा भाजपा ८९ र जेडीयू ८५ सिट जितेका छन्।
३ मंसिर, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा पुन: नितिशकुमार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।
बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
एनडीएको बैठकपछि नितिशकुमार अहिले राजभवनस्थित राज्यपाल (प्रदेश प्रमुख) समक्ष सरकार गठनका लागि दाबी पेश गर्न गएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नितिशकुमार १०औं पटक बिहारको मुख्यमन्त्री बन्न लागेका हुन् ।
शपथ ग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा हुनेछ ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्रीहरू समेत सहभागी हुनेछन् ।
यसअघि आजै एनडीए गठबन्धन घटक जनता दल युनाइटेड (जेडीयू) को बैठकले नितिशकुमारलाई संसदीय दलको चयन गरेको थियो ।
तर, गठबन्धनकै अर्को दल भारतीय जनता पार्टी (भाजपा) ले भने सम्राट चौधरीलाई संसदीय दलको नेता र विजय सिन्हालाई उपनेता चयन गरेको थियो ।
पछि गठबन्धनको बैठकमा भने मुख्यमन्त्रीमा नितिशकुमारकै नाममा सहमति भएको छ ।
हालै भएको बिहारको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले कूल २४३ सिटमध्ये २०२ सिट जितेको छ । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।
एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ । जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ ।
कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्यो ।
प्रतिक्रिया 4