News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले १ असोजमै दिएको राजीनामा दुई महिनापछि मात्रै सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छ।
- सभामुख पद रिक्त भएपछि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नयाँ सभामुख चयनमा सहमति नजुट्दा प्रदेशसभा बैठक बस्न सकेको छैन।
- प्रदेश प्रमुखले चालु सोह्रौ अधिवेशन अन्त्य गरी सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको आर्थिक मामिला मन्त्री प्रभात तामाङले जानकारी दिए।
४ मंसिर, हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १ असोजमै दिएको राजीनामा बारे दुई महिनापछि मात्रै प्रदेशसभा सदस्यहरुलाई औपचारिक जानकारी गराइएको छ ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले आज बिहीवार सभामुखको राजीनामा सम्बन्धी सूचना निकालेर प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारी गराएका हुन् ।
सभामुख भुवनकुमार पाठकले भने १ असोजमै उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा दिएका थिए ।
जेनजीहरुको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले १ असोजमा इमेलमार्फत राजीनामा पत्र पठाएका थिए ।
२४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुले सामूहिक राजीनामा दिने भएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिएका हुन् ।
बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा नयाँ सभामुख चयन प्रक्रियाका लागि सत्तारुढ दल नेपाली कांग्रेस र एमाले छलफलमा छन् । सभामुख कसले लिने भन्ने विषयमा सहमति नजुट्दा प्रदेशसभा बैठक पनि बस्न सकेको छैन ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्ता साझेदार दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र मध्ये कसलाई सभामुख दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।
सभामुखमा तीन दलले नै दाबी गर्दै आएका छन् । तीन दलकै संसदीय दलको बैठकले औपचारिक निर्णय गरेर सभामुखमा दाबी गरेका थिए ।
प्रदेशसभा बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहीबार मात्रै प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको चालु सोह्रौ अधिवेशन अन्त्य गरेका छन् ।
सरकारले हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
प्रतिक्रिया 4