News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा १२.९४ प्रतिशत बजेट खर्च गरेको छ।
- महानगरको कुल बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ छ, जसमा कात्तिक मसान्तसम्म ३ अर्ब २५ करोड २२ लाख खर्च भएको छ।
- वडा नं. ७ ले सबैभन्दा बढी २०.५५ प्रतिशत बजेट खर्च गरेको छ भने १० वटा वडाले १० प्रतिशतभन्दा बढी खर्च गरेका छन्।
४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा कात्तिक मसान्तसम्म ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।
यस वर्ष महानगरको चालु बजेट ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ छ । पहिलो चौमासिक खर्च २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ बराबर भएको छ । पूँजीगततर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । कात्तिकसम्मको खर्च भने १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ रहेको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।
यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको देखिएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको देखिएको छ ।
महानगरपालिकाका अनुसार पछिल्लो ३ वर्षमा पहिलो चौमासिक अवधिमा गर्ने खर्च उल्लेख्य देखिँदैन । आव २०८०–८१ मा १२.९ प्रतिशत खर्च भएको थियो । आव २०८१–८२ को पहिलो चौमासिकमा १२.३४ प्रतिशत खर्च भएको थियो । यो वर्ष १२.९४ प्रतिशत खर्च भएको छ ।
महानगरले अघिल्लो वर्ष विनियोजित बजेट २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ खर्च गरेको थियो । सो आवमा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ रुपैयाँ खर्च भएको थियो । सो आवमा महानगरले चालु बजेट ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपैयाँ र पूँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपैयाँ विनियोजन गरेको थियो ।
चालु आवमा यस वर्ष वडातर्फ १० वटा वडाले मात्र १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं. २ ले १२.८१, वडा नं. ७ ले २०.५५, वडा नम्बर ८ ले १०.५३, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
उनका अनुसार वडा नं. १४ ले १५.८६, वडा नम्बर १६ ले १९.४१, वडा नम्बर १९ ले १६.६९, वडा नम्बर २३ ले १२.८४, वडा नम्बर २७ ले १४.४४ र वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च भएको छ ।
प्रतिक्रिया 4