News Summary
Generated by OK AI. Editorially reviewed.- ठाकुरप्रसाद भट्टराईले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता सेवा प्रवाहमा नातावाद र कृपावादविरुद्ध काम गर्दै सबैलाई समान व्यवहार गरेको बताए।
- निर्वाचन कार्यालयमा राष्ट्रिय परिचयपत्रसँग मतदाता नामावली जोडिएपछि मतदाता सेवा प्रवाहमा प्रविधिमैत्रीकरण हुँदै भिड घटेको भट्टराईले उल्लेख गरे।
- भट्टराईले आफूले जिम्मेवारीपूर्वक काम गर्दै कर्मचारी मनोबल उच्च राखेको र निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जानकारी दिए।
५ मंसिर, काठमाडौं । प्रसंग निर्वाचनकै हो तर अहिले होइन, अघिल्लो पटकको । त्यतिबेला पनि ठाकुरप्रसाद भट्टराई जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रमुख निर्वाचन अधिकारी थिए । निर्वाचन प्रक्रिया भर्खरै प्रविधिमैत्री हुँदै थियो ।
मतदाताले फर्म आफैं भर्ने खालको डिजाइन थियो । मतदाताले भरेको फारमलाई पछि कम्युटरमा टाइप गरेर अद्यावधिक गर्नुपर्थ्यो । सीमित स्रोतसाधन भएकैले समय धेरै लाग्थ्यो । निर्वाचनमा धेरै बुथ हुने भएकाले प्रत्येक बुथमा लागेको लाइन र भिड नियन्त्रण गर्न पनि सहज थिएन ।
समय धेरै लाग्ने भएर धेरै मतदाता पालो कुर्न नसकेर फर्किएको पनि त्यतिबेला भट्टराईले देखेका थिए । त्यहीबेला उनलाई एकजना मतदाताबाट फोन आयो । सेवाग्राहीबाट बेलाबेलामा त्यसरी फोन आउनु नौलो थिएन, उनले सामान्य तरिकाले नै उठाए ।
तर, उताबाट मतदान स्थल व्यवस्थित नभएको भन्दै एकाएक गाली वर्षा हुन थाल्यो । धेरै फारममा भट्टराईले हस्ताक्षर गर्नुपर्थ्यो, उनी आफैं कार्यचापमा थिए । फोन गर्ने मतदाताको फोन राख्न पनि सकेनन् सुनिरहे ।
‘मलाई ४० मिनेट फोनमा गाली गर्नुभयो । म काममा व्यस्त थिएँ। मैले धेरै सिग्नेचर गर्नुपर्ने थियो । मैले मोबाइल लाउड स्पिकरमा राखेर उहाँको गाली सुन्दै काम गरिरहेँ’, भट्टराई आफ्नो अनुभव सुनाउँछन्, ‘मैले ‘हस्, हो हजुर, एकदम हो हजुर’ भनिराखेँ । सायद उहाँको मोबाइलको ब्यालेन्स सकिएर हो वा ब्याट्री सकिएर हो कल काटियो ।’
सेवाग्राहीबाट त्यसरी गाली पाउँदा पनि उनी रत्तिभर विचलित भएनन् । आफ्नो तोकिएको जिम्मेवारी निभाइरहे । भट्टराई भन्छन्, ‘तर त्यतिबेला मलाई एक मिनेट पनि रिस उठेन । त्यो आक्रोश मप्रति भन्दा पनि सिङ्गो राज्य प्रणालीप्रति थियो ।’
प्रणालीको सेवा प्रवाह शैलीप्रति असन्तुष्टि भएकैले आम नागरिकको त्यसमा प्रतिक्रिया दिने भट्टाराई बताउँछन् । सीमित स्रोत तथा साधन भएको कार्यालयको जिम्मेवारी लिएको कर्मचारीले मात्र सिंगो राज्य प्रणाली सुधार गर्न नसक्ने उनको भनाइ छ ।
‘तर एउटा खास कुरा के हो भने हामी कर्मचारीमा मानसिकता बदलिएको छैन । म त भन्छु हामी राणाकालीन संस्कारबाट हुर्किंदै आएका छौं । त्यो संगत हामीमा सर्दै आएको छ,’ भट्टराई सुनाउँछन्, ‘समय परिवर्तन भयो तर हामी परिवर्तन भएनौं । हामीमा शासकको भावना छ ।’
भट्टराई आफू भने सेवाको सुरुआती समयदेखि नै केवल एक सेवकको भावनाले काम गरिरहेको दाबी गर्छन् । तर, उनी स्वयंको दाबीमात्रै होइन, उनलाई नजिकदेखि चिनेका पूर्व कर्मचारीहरु पनि उनको तारिफ गर्न हिच्किचाउँदैनन् ।
भट्टराईलाई नजिकदेखि संगत गरेका पूर्वसचिव उमेश प्रसाद मैनाली भन्छन्, ‘उहाँको समन्वयकारी शैली रहेछ । सेवाग्राहीमैत्री हुन कसरी काम गर्ने ? केही सुझाव पो छ कि ? भनेर उहाँले सोध्नु भएको थियो । मैले जानेको कुरा भनिदिएँ । केही सुधारका काम भएजस्तो पनि लाग्छ । अरु जिल्ला निर्वाचन अधिकारीहरुले त्यसरी मसँग सोधेका थिएनन् ।’
अनि मन्त्रीलाई पनि लाइनमा बस्न लगाए…
नेपालको शासकीय प्रणाली वा सेवा प्रवाहमा कहिल्यै नसुल्झिने एउटा आरोप हो–नातावाद र कृपावाद । अर्थात् सेवाप्रदायक संस्था वा निकायमा कोही आफूले चिनेजानेका कोही छन् भने बिना हिच्किचाहट भनसुन गरिहाल्ने !
सेवाग्राहीमात्रै होइन, राष्ट्रसेवक कर्मचारीमा पनि यही आदत छ । उनीहरु पनि लाइन देख्यो भने पालो मिचेर अगाडि जानुपर्ने, परिचय पत्र देखाएर होस् या परिचय सुनाएरै भए पनि अरुभन्दा अगाडि आफू बढ्नैपर्ने प्रवृत्ति छ ।
केही दिनअघि उनी कार्यरत जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीका रुपमा देखापरे, वर्तमान सरकारका एकजना मन्त्री । निर्वाचन मिति घोषणा भइसकेको र नयाँ मतदाता नामावली दर्ताको काम चापाचाप परिरहेकोबेला लाइन मिचेर भए पनि ती मन्त्रीको काम सुरुमै गरिदिन उनको इमानले दिएन ।
मन्त्रीलाई समेत भट्टराईले सहजै भनिदिए, ‘म लाइन मिचेर तपाईंको काम पहिले गर्न सक्दिनँ । अरु सेवाग्राहीको लाइन सकिन्छ, अनि तपाईंको काम गर्दिन्छु । यदि लाइनमा लाग्न सक्नुहुन्न भने बेलुका वा बिहानै आउनुस् ।’
भट्टराईले अगाडि थपे, ‘मन्त्रीज्यूले भनेको मान्नुभयो र बिहानै आउनुभयो । काम सकेर जानुभयो । त्यस्तै अरू उच्च पदस्थहरू पनि आउनुभयो । सुरक्षा निकायका पनि उच्च पदस्थ मान्छेहरू आउनुभयो । हामी सिस्टमले काम गर्छौं । हामीले कसैलाई त्यत्तिकै भने फर्काएनौं ।’
घटना सानो होला, तर सार्वजनिक सेवा प्रदायक संस्थामा सुशासन कायम गर्न एउटा महत्वपूर्ण उदाहरण थियो यो । ‘मैले सबैलाई भन्ने गरेको छु– तपाईंहरूको काम गरिदिन हामी रातिसम्म बस्न तयार छौँ । लाइन लाग्न सक्नुहुन्न भने राति आउनुस् भन्छु । उहाँहरूले मान्नुहुन्छ’, उनले भने ।
सेवा प्रवाहमा ‘म’ होइन, ‘हामी’ !
भट्टराईको एउटा मान्यता छ– जिम्मेवारी आफैंमा कहिल्यै सानो या ठूलो हुँदैन । कसरी व्यवस्थापन गरिन्छ, कर्मचारीमा भर पर्ने कुरा हो । आफूले निभाउनुपर्ने जिम्मेवारी सबैले जिम्मेवारीपूर्वक निभाए परिवर्तन त्यहीँबाट सुरु हुन्छ ।
‘जहाँ पनि हामी छौं त्यहाँ राम्रो काम गर्ने हो । हामीले सिङ्गो देश बनाउन सक्दैनौं, हामी बसेको ठाउँ राम्रो बनाउन सक्छौं’, उनी भन्छन्, ‘यो सोचाइ सबैमा हुने हो भने धेरै कुरा यो मुलुकमा गर्न सकिन्छ । हामी जहाँ हुन्छौँ हामीले राम्रो काम गर्ने हो ।’
तर, राष्ट्र सेवकमा आफूले आफ्नो दायित्व पुरा नगर्ने अनि नकारात्मक विचार प्रवाह र अरूको आलोचना मात्र गर्दा त्यसले समग्र पक्षमै समस्या निम्त्याइरहेको उनको बुझाइ छ ।
‘मलाई अरूको आलोचना गर्ने फुर्सद छैन । देशमा यो भएन, त्यो भएन भन्दिनँ । मैले मेरो देशको लागि के गरेँ त ?’ उनी भन्छन्, ‘त्यसले मलाई दिएन, यो पनि भएन, त्यो पनि भएन, अरूलाई गाली गर्ने काम मबाट हुँदैन । म के चाहन्छु भने आफू बसेको ठाउँमा राम्रो गरौं ।’ समूहमा सबैको भूमिका बराबर हुने भएकाले सबैको दायित्व पनि उत्तिकै हुने उनको भनाइ छ ।
समूहमा जब सामूहिक भावले काम गरिन्छ तबमात्रै त्यसले निर्दिष्ट लक्ष्य प्राप्त हुने भट्टराईको अनुभव छ । ‘यहाँ म भन्ने हुँदैन । यो जिन्दगीमा मैले ‘म’ भन्ने शब्द कहिले प्रयोग गरिनँ । हामी, हाम्रो काम, हामीले गर्नुपर्छ’, उनी भन्छन् ।
जिम्मेवार अधिकारीले आफू मातहतका कर्मचारीको मनोबल र उत्प्रेरणा बढाउन निकै प्रभावकारी भूमिका खेल्नसक्ने भट्टराई सुनाउँछन् । उनले हालसम्म आफूले सम्हालेका निर्वाचनमा पनि सबै कर्मचारी, सुरक्षाकर्मी खुसी नै भएको पाएको बताए ।
‘धेरै निर्वाचनहरू हामी गर्यौं । धेरै टोलीसँग हाम्रो संगत भयो । उहाँहरू सबैजना खुसी नै हुनुहुन्छ । उच्च मनोबलमा आइहाल्नुहुन्छ । ठग्ने भाग्ने भन्ने यहाँ कुरै हुँदैन किनभने म खडा हुन्छु’, उनले भने, ‘राम्रो गराउन सकियो, सबैले राम्रो गर्यो भने मुलुक राम्रो बन्ने हो ।’
उच्च मनोबलमा काम
जिम्मेवारी आइपरेको समय आफू दैनिक १२ घण्टासम्म खटिने गरेको भट्टराई दाबी गर्छन् । २०७९ सालको निर्वाचन, स्थानीय तह निर्वाचन, कीर्तिपुरको उपनिर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पनि उनी खटिए । निर्वाचन शान्तिपूर्ण रुपमा र विवादरहित ढंगले सम्पन्न भयो ।
‘एउटा टिमवर्कमा रहेर हामीले काम गर्यौं र हामी सफल भयौं,’ उनी भन्छन्, ‘खासगरी मतदान केन्द्रको अवलोकन, पुनरावलोकन, अनुगमन, मतदाता शिक्षामा काम गर्यौं । कलेज कलेजमा गएर निर्वाचन शिक्षा दिएका छौं । त्यहीँबाट मोटिभेट भएर एकदमै धेरै युवाहरू यहाँ नामावली संकलन गर्न आउनु भयो ।’

नामावली संकलन र अद्यावधिक गर्ने जटिल काम भएको भट्टराई बताउँछन् । त्यही कामका लागि सेवाग्राहीहरु अन्तिम समयमा आउँदा कार्यालयमा झनै भिडभाड र चाप बढ्ने उनको अनुभव छ ।
जेनजी आन्दोलनपछि फागुन २१ हुने निर्वाचन प्रयोजनका लागि मतदाता संकलनको क्रममा पनि भिडभाड भयो । मतदाताको विवरण प्रविष्ट गर्ने अनलाइन सिस्टम नै डाउन भयो । तर कसैलाई पनि विनाकाम नफर्काएको उनले बताए ।
‘त्यो बेला पनि हामीले न आत्तिकन उच्च मनोबलमा रहेर काम गरेको हुनाले सबै काम सम्पन्न गर्न सक्यौं । ठूलो संख्यामा मतदाता नामावली संकलन गर्न सक्यौं’, भट्टराईले सुनाए, ‘यही मौकामा मतदाताहरूसँग भेट हुने पनि मौका पनि मिल्यो ।’
कामको सिलसिलामा कहिलेकाहीँ ढिलाइ नहुने होइन, केही समयअघिमात्रै पनि कार्यालयको सर्भर नचल्दा समस्या भएको थियो । ‘हामी मान्छे नेपालीको स्वभाव के छ भने लास्टमा मात्र काम गर्ने । मतदाता नामावली संकलनको काम त १२ महिना हुने हो नि ! तर हामी अरूबेला आउँदैनौं’, उनले अगाडि भने, ‘बिहीबार र शुक्रबार यस्तो भिड भयो कि लाखौं मान्छेले अनलाइन सिस्टममा आफ्नो विवरण इन्ट्री गर्न खोज्दा सिस्टम नै ह्याङ् भयो ।’
तर, घन्टौं लाइन लाइन लाग्नुपर्ने, कागजी प्रक्रिया पूरा गर्नुपर्ने निर्वाचन कार्यालय अब भने विस्तारै प्रविधिमैत्री बन्ने बाटोमा छ । राष्ट्रिय परिचय पत्रसँग मतदाता नामावली जोड्ने काम सुरु भएदेखि कार्यालयमा भिड पनि कम भयो ।
यद्यपि मतदाता नामावलीलाई राष्ट्रिय परिचय पत्रसँग जोड्ने भनेर तीन वर्ष अघि नै निर्वाचन आयोग र पञ्जिकरण विभागका कर्मचारीबीच समझदारी बनेको थियो । त्यसपछि त्यतिबेलाका सरकारबाट थप पहल भएन । जेनजी आन्दोलनपछि बनेको अहिलेको सरकारले बल्ल त्यसलाई कार्यान्वयन गर्यो । अहिले राष्ट्रिय परिचयपत्रको डाटा प्रयोग गरेर घरैबाट नामावली दर्ता गर्न मिल्ने अवस्था भइसकेपछि घरैबाट मतदाताले सेवा लिइरहेका छन् ।
जेनजी मतदाताको उत्साह
२७ वर्षदेखि निजामती सेवामा रहेका भट्टराईले २०८१ सालमा उत्कृष्ट निजामती सेवा पुरस्कार समेत पाए । अहिले उनी आफ्नो जागिरे जीवनको करिब उत्तरार्धमा छन् । यो बीचमा उनीसँग स्थानीय तहको निर्वाचन २०७९ र राष्ट्रिय आम निर्वाचन २०७९ दुइटै निर्वाचन व्यवस्थापनको अनुभव छ ।
स्थानीय तहमा उनले काठमाडौं महानगरपालिका र १० वटा अरु नगरपालिका समेतको निर्वाचनको व्यवस्थापनमा काम गरे । संघ प्रदेशको निर्वाचनमा काठमाडौंमा रहेका १० वटा निर्वाचन क्षेत्रको व्यवस्थापन गरे । यी क्षेत्र नेपालभरिकै सबैभन्दा बढी मतदाता भएको क्षेत्रसमेत हुन् ।
नेपालको निर्वाचन व्यवस्थापनसँग नजिकै रहेर कार्यानुभव बटुलेका भट्टराईले पछिल्लो ‘जेन–जी’ पुस्ताको आन्दोलनपछि युवापुस्तामा निर्वाचनप्रतिको लगावले सुखानुभूति दिएको छ । विषय परिस्थितिमा आम निर्वाचन घोषणा भएकाले मतदाताको ठूलो उत्साह पाएको उनको अनुभव छ ।
युवा मतदाताको निकै घुइँचो लाग्ने गरेको र आफूहरु बिहानैदेखि नै कार्यालय सञ्चालन गरेर राति निकै ढिलोसम्म पनि काम गरिरहेको उनले सुनाए ।
‘सकेसम्म कोही नफर्किउन् भन्ने मनसाय राखेर काम गरिरहेका छौँ’, उनले भने, ‘त्यत्तिकै फर्कायो भने उनीहरू निराश हुन्छन् । त्यसैले बरु हामी राति अबेरसम्म खटेर, धेरै मेहेनत गरेर, पूरा क्षमताका साथ काम गरिरहेका छौं ।’
जसरी मतदातामा उत्साह छ, त्यसैगरी हाम्रो सम्पूर्ण स्टाफ र सुरक्षा टोली समेतलाई उत्प्रेरणा दिएर, उच्च मनोबलका साथ र सकारात्मक सोचका साथ मुस्कान सहितको सेवा दिने प्रयास गरेको उनले बताए । उनी उत्साहित सुनिए, ‘किनभने यो एउटा सेवा गर्ने मौका पनि हो । सधैँ यस्तो मौका आउँदैन । मतदाताहरू पनि सधैँ आइराख्नु हुन्न ।’
पहिले हामी सुध्रिनु पर्छ
काम गर्दा चुनौतीहरू पनि छन् । कहिलेकाहीँ कर्मचारी सहनशील नहुँदा, मतदाता लाइनमा उभिनुपर्दा आक्रोशित हुने सम्भावना रहन्छ । अलिकति पनि संयमता गुमाउने वा काममा ट्युनिङ नमिल्दा जतिबेला जे पनि हुन सक्ने अवस्था हुने उनको भनाइ छ ।
तर, परिस्थितिलाई सम्हाल्दै आफूहरुले पाएको भूमिका भने जिम्मेवारीपूर्वक निभाइरहेको भट्टराई सुनाउँछन् । ‘पद प्रतिष्ठाले मान्छे ठुलो हुँदैन । हामी सेवक भएर काम गरौं र जिम्मेवारी सानो–ठुलो नभनिकन आफू रहेको जिम्मेवारी राम्रोसँग गर्यौं भने सुनमा सुगन्ध हुन्छ र यो मुलुक बन्छ’, उनी सकारात्मक सुनिन्छन्, ‘मुलुक बनाउने हामीले नै हो । मुलुक हाम्रै पालामा बन्नु पर्छ । तर त्यसका लागि पहिले हामी सुध्रिनु पर्छ । हामी शासक होइन सेवक बन्नुपर्छ ।’
प्रतिक्रिया 4