+
+
Shares

कांग्रेसका दुई महामन्त्रीले भने- चुनावअघि महाधिवशेन नभए चुनावमा उम्मेदवार हुँदैनौं

दुई महामन्त्रीको बोली उद्धृत गर्दै शेर्पाले भने, ‘पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा महाधिवेशन गर्न सकेनौं भने हामी चुनावमा नलड्न पनि सक्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १३:५८

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न नसकिने अवस्था आए आगामी चुनावमा उम्मेदवार नहुने बताएका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा महामन्त्री थापा र शर्मालाई ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूलाई दुई महामन्त्रीले उक्त कुरा जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा पक्षका २५ केन्द्रीय सदस्यले महाराजगञ्जस्थित अरिकल होटलमा दुई महामन्त्रीलाई शुक्रबार बिहान १० बजेदेखि १२:३० सम्म भेटेर छलफल गरेका थिए ।

महामन्त्रीलाई चुनावअघि महाधिवेशनको ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले चुनावअघि महाधिवेशन गराउनै नसकिने अवस्था बने आफूहरू उम्मेदवार नबन्ने जानकारी दुई महामन्त्रीले गराएको शेर्पाले बताए ।

सभापतिसँग भेटमा सहभागी नेताहरूका अनुसार देउवाले अन्य नेताहरूसँग छलफल गर्न सुझाव दिएका थिए ।

‘नियमित महाधिवेशन भएन भएन भने विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेर जान सकिन्न्,’ दुई महामन्त्रीको बोली उद्धृत गर्दै शेर्पाले भने, ‘पार्टीको विधान अनुसार विशेष महाधिवेशनको माग भएको छ । चुनावअघि नियमित वा महाधिवेशन गर्न सकेनौं भने हामी चुनावमा नलड्न पनि सक्छौं ।’

विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको छ । कांग्रेस विधान अनुसार विशेष महाधिवेशनका लागि लिखित माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । उक्त अवधि २८ पुसमा सकिन्छ । दुई महामन्त्रीले केन्द्रीय सदस्यहरुसँग कुरा गर्दा त्यसअघि नियमित महाधिवेशन भए विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुने बताएका थिए ।

सभापति देउवा पक्षका २५ केन्द्रीय सदस्यले सभापति देउवालाई हिजो र कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज विहान भेटेका थिए । सभापति देउवाले चुनावअघि महाधिवेशनका लागि सकरात्मक रहेको केन्द्रीय सदस्यहरूसँग बताएका थिए । चुनावअघि नियमित महाधिवेशन गर्न माग गर्दै देउवा भेट्न गएका नेताहरूलाई सभापतिले भनेका थिए, ‘महाधिवेशन गर्ने कुरामा म सकारात्मक छु । तर, कार्यवाहक सभापति दिइसकेको हुँदा म क्रियाशील हुन्नँ ।’ अन्य नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्न सभापतिले सुझाव दिएको केन्द्रीय सदस्य शेर्पाले बताए । पार्टीको नियमित कामबाट आफू बाहिर बसेको हुँदा अन्य पदाधिकारीसँग छलफल गरेर सहमति गर्न देउवाले सुझाव दिएका थिए ।

सभापति देउवाले बिहीबार भएको सिमराको घटनाप्रति नेताहरुसँग चासो राखेका थिए । चुनावी वातावरण बिग्रने चिन्ता सभापतिले राखेको भेट्न पुगेका नेताहरूले जानकारी गराएका छन् ।

सभापतिलाई हिजो भेटेका केन्द्रीय सदस्यको टोलीले बिहान कार्यबाहक सभापति खड्कालाई भेटे । कार्यबाहक सभापति खड्काले पार्टीमा विवाद र विखण्डन नहुने गरी आफू पहल गरिरहेको जानकारी गराएका थिए । चुनावअघि महाधिवेशन हुनुपर्ने मागमा रहेका नेताहरूलाई खड्काको सुझाव थियो, ‘तपाईंले मलाई मात्र भन्नुभयो । अरु नेताहरूलाई पनि सम्झाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?