६ मंसिर, काठमाडौं । पाँच साता बढी बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे कुनै निर्णय लिन सकेन । प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवशेन हुनुपर्ने, निर्वाचन पछाडि हुनुपर्ने र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूबीच समझदारी जुट्न नसक्दा बैठक अनिर्णित बनेको हो ।
पटक–पटक बैठक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको थियो । गत बिहीबारको बैठक शनिबारसम्मका लागि सारेर नेताहरूले अनौपचारिक छलफल गरेका थिए ।
अनौपचारिक छलफलमा संस्थापन पक्ष शर्तसहित १५औं महाधिवेशनको कार्यतालिका ल्याउन तयार देखिएको थियो । कार्यतालिकाका लागि विशेष महाधिवेशनको माग गर्दै पार्टीमा दर्ता भएको हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त संस्थापन पक्षको थियो ।
तर विशेष महाधिवेशन पक्षधर संस्थापन पक्षको शर्त स्वीकार्न तयार भएन । नियमित महाधिवेशन पुसभित्रै भए विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुने उनीहरूको तर्क छ ।
कांग्रेसको १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए । विधानअनुसार माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।
महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला आगामी पुस मसान्तसम्म नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अभिव्यक्त दिँदै आएका छन् । उनी हस्ताक्षर मार्फत् नभएर केन्द्रीय कार्यसमितिले विशेषको निर्णय गर्नुपर्ने पक्षमा छन् ।
महामन्त्री थापाले आगामी केही दिनभित्र थप छलफल गरेर महाधिवेशनको विषय टुंगो लगाइने जानकारी दिए । समझदारीमा महाधिवेशनको विषय टुंगो लगाउन नसकिए विधिबाट भए पनि टुंग्याउनुपर्ने उनको भनाइ छ ।
‘थप केही दिनभित्र छलफल गरेर समझदारीबाट, नभए कुनै विधिबाट हाम्रो बीचमा बाँकी रहेका विषय टुंग्याउनै पर्छ,’ महामन्त्री थापाले भने, ‘अर्को बैठकमा अरू बाँकी रहेका विषय टुंग्याउनेगरी पार्टीका कार्यक्रमहरू र अरू थुप्रै विषयहरू त्यही दिन हामी प्रस्तुत गर्छौं।’
कार्यवाहक सभापति खड्काले महाधिवेशनबारे विभिन्न तहमा गरिएको अनौपचारिक छलफलले सहमति नजिक पुर्याएको बताए । ‘हामीले विभिन्न तहमा अनौपचारिक छलफल गर्यौं । अहिलेसम्म यो तरिकाको छलफलले हामीलाई धेरै नजिक पुर्याएको छ,’ उनले शनिबारको बैठकमा भने, ‘हामी सर्वसम्मत तरिकामा निर्णय गर्ने अवस्थाको नजिक–नजिक पुगेका छौं ।’
महाधिवेशनबारे पार्टीमा देखिएको तीनथरी विवादलाई समझदारीका टुंग्याउनुपर्ने सोचका साथ आफूले काम गरिरहेको कार्यवाहक सभापति खड्काको भनाइ थियो । ‘हामीले लामो समय छलफल गर्यौं । छलफलकै क्रममा पनि र छलफल सकिसके पछाडि पनि एउटा समझदारीका साथमा निर्णयमा केन्द्रीय समिति पुग्नु पर्छ भन्ने सोचले हामीले काम गर्यौं,’ उनले भने, ‘अहिले पनि गरी नै रहेका छौं।’
अहिलेको परिस्थिति, आवश्यकता, कांग्रेसको भूमिकाको माग, पार्टी निर्णयले लिने बहुआयामिक प्रभावलाई ध्यामा राखेर एकतावद्ध भएर निष्कर्षमा पुगिनेमा कार्यवाहक सभापति खड्काले विश्वास व्यक्त गरे । ‘त्यहीअनुसार हामी सवैले आ–आफ्नो तहबाट क्रियाशील हुनुपर्छ,’ उनले बैठकमा भने, ‘त्यसका लागि सवैप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।’
महामन्त्री थापाले शनिबारको बैठक पनि स्थगित गरेर सवै विषयहरू एकसाथ टुंग्याउने बारेमा अनौपचारिक छलफल भए पनि राष्ट्रिय राजनीतिका सन्दर्भमा ‘पोजिसन क्लियर’ गर्न बैठक बसेको पनि जानकारी दिए ।
‘आजको बैठक पनि सबै कुराहरु नटुंगिएको हुनाले गर्दा सवै विषय एकै पटक टुंग्याएर केही दिन पछाडि फेरि बैठक बस्ने कि भन्ने छलफल नभएको होइन,’ महामन्त्री थापाले बैठकमा भने, ‘राष्ट्रिय राजनीतिका सन्दर्भमा हाम्रा पोजिसनहरूछन् । हामी प्रष्ट हुँदाहुँदै पनि केन्द्रीय समिति निर्णयको रूपमा त्यो कुरालाई बाहिर लिएर जान आवश्यक छ।कम्तिमा त्यो कुरा आजको बैठकबाट टुंग्याउँ।’
बैठकपछि महामन्त्री थापाले अब विशेष महाधिवेशन निर्विकल्प रहेको प्रतिक्रिया दिए । नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरे पनि नेताहरूले सकिन्न भनेका कारण अब विशेष महाधिवेशन निर्विकल्प भएको उनको भनाइ थियो ।
‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौं । चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ,’ थापाले बैठकपछि सञ्चारकर्मीसँग भने ।
उनले यसअघि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरू तयार नभए २७ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
‘पुस मसान्तभित्रमा आवधिक निर्वाचन पनि गर्दिन र आवधिक नगरेपछि विशेष महाधिवेशन पनि गर्दिनँ भन्न त पाइँदै पाइँदैन,’ महामन्त्री थापाले भने । विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने उनले जिकिर गरे ।
‘त्यो विधानको धाराको अर्कै व्यवस्था हो । कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो,’ महामन्त्री थापाले भने, ‘यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन ।’
प्रतिक्रिया 4