७ मंसिर, काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेकपा एमालेका नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सवार कारमा रातो मसी फ्याँकिएको थियो ।
रातो मसी छ्याप्ने विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आवद्ध विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको बस्नेत सवार कारमा सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।
लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार भए पनि बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको हुन नसक्ने शेर्पाले बताएका छन् ।
शेर्पाले लेखेका छन्, ‘नेकपा एमाले र अखिलसँग हम्रो सय विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो । तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको होइन । संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।’
प्रतिक्रिया 4