७ मंसिर, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको छ ।
नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । उनको दाहिने आँखा भित्र पसेको छ ।
नाकको दाहिनेपट्टिको प्वालमा मासु पलाएपछि ४ मंसिरमा आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । चिकित्सकको सल्लाहअनुसार ५ मंसिरमा अप्रेसन भयो । अप्रेसनको भोलिपल्ट नोबेल मेडिकल कलेजले बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो ।
जेनिसका मामा श्रीकृष्ण प्रसाईंका अनुसार आँखाको ज्योति गुमेपछि चिकित्सकले हतारहतार डिस्चार्ज गरेका हुन् । नोबेलले डिस्चार्ज गरेपछि बालकलाई आफन्तले शनिबार विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरे ।
विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आखाँको भित्री भाग ड्यामेज भएका कारण ज्योति नफर्कने भन्दै अप्रेसन गर्न मानेनन् । चिकित्सकले बालकको आँखाको ज्योति पुन: फर्कने सम्भावना २ प्रतिशतभन्दा कम रहेको बताएका छन् । आँखाको भित्री भागको हड्डी निकालेका कारण आँखामा गम्भीर चोट लागेको चिकित्सकको भनाइ छ ।
‘बालकको स्वास्थ्यमाथि नोबेल मडिकल कलेजले गम्भीर लापरबाही गरेको छ । ७ वर्षको उमेरमा आँखाको ज्योति नै गुम्यो,’ मामा श्रीकृष्णले भने, ‘हामीलाई डिपार्टमेन्ट हेडले शल्यक्रिया गर्ने भनेका थिए, तर सिकारु डाक्टरलाई खटाइएको रहेछ ।’
उनका अनुसार शुक्रबार नाकको अप्रेसनपछि निस्किएका चिकित्सकले नाक भित्र पलाएको मासु आँखासम्म पुगेकाले आँखामा सामान्य समस्या भएको बताएका थिए । अप्रेसनपछि आफन्तले भेट्दा बालकको एउटा आँखाको ज्योति गुमिसकेको थियो । सोधिखोजी गर्दा भोलिपल्ट आँखा अस्पताल लैजानु भन्दै हतारहतार डिस्चार्ज गरे ।
लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाही गर्न माग गर्दै मामा श्रीकृष्णले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।
अस्पतालले जिस्चार्ज गरेलगतै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा अस्पताल, उपचारमा संलग्न डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।
उजुरीपछि छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।
‘बालकको आँखा गुमेको विषयलाई गम्भीर रूपमा लिएका छौं । उजुरीपछि छानबिनका लागि प्रहरीमा पठाएका छौं,’ उनले भने, ‘प्रहरीको रिपोर्टपछि मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ कारबाहीका लागि चिकित्सक टोलीसँग पनि परामर्श गर्ने उनले बताए ।
उपचारमा लापरबाही गरेको विषयमा बुझ्न खोज्दा नोबेल मेडिकल कलेज प्रशासन सम्पर्क आउन चाहेन ।
बालकको उपचारमा संलग्न डा. श्रेष्ठले नाकको शल्यक्रिया गर्दा आँखामा समस्या भएको स्वीकार गरे । उनले लापरबाही नभएको पनि दाबी गरे ।
‘बालकको आँखाको साइटतिर पनि रोग गएको थियो । त्यहाँबाट पलाएको मासु निकाल्दा आँखाको साइटको बोन (हड्डी)पनि निकाल्नुपर्यो । त्यो निकाल्दा आँखाको भाग एक्सपोज भएर चोट लागेको हो,’ उनले भने, ‘नाकको शल्यक्रिया गर्दा कम्लिकेसन आउँछ, तर सबै केसमा होइन ।’
उनले नाकको शल्यक्रिया गर्दा कम्लिकेसन भएको बताए । ‘हरेक नाकको सर्जरीमा हुने कम्लिकेसन होइन, तर नाकको सर्जरी हुनसक्ने कप्लिकेसन हो,’ उनले भने, ‘नाक र आँखा सँगै हुने भएकोले रेयर कप्लिकेसन हो ।’ उनले आफन्तको कुरा सुन्ने बताए ।
बालकको रिपोर्ट हेरेका एक चिकित्सक उपचारमा लापरबाही भएको हुनसक्ने बताउँछन् । ‘शल्यक्रिया अघिको प्रोसेसमा कप्लिकेसन कहाँसम्म पुग्छ भन्ने अनुमान गर्न सकिन्छ, त्यस्तो विषयमा बढी सतर्क हुनुपर्छ,’ ती चिकित्सकले भने, ‘आँखासम्म ऐंजेरु पुगेको हुँदा चिकित्सकले पूर्वतयारी अपनाउनुपर्छ ।’
प्रतिक्रिया 4