News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरबासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने निर्णय गरेको छ।
- नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण नगरेमा घरजग्गा मूल्याङ्कन, बैंकिङ सिफारिस, राहत र क्षतिपूर्ति सेवा रोक्ने जनाएको छ।
- पुस मसान्तपछि अभिलेखीकरण गर्नुपर्ने भए शुल्क दोब्बर बुझाउनुपर्ने र हालसम्म २१० घर अभिलेखीकरण भइसकेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।
७ मंसिर, चितवन। चितवनको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरबासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ।
नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण नगर्ने नगरवासीको त्यसपछि घरजग्गा मूल्याङ्कनको सिफारिसमा रोक लगाउने, बैंकिङ कारोबारका लागि सिफारिस रोक्ने, कुनै पनि विपद्का घटनामा राहत तथा क्षतिपूर्ति लागि सिफारिस नगर्नेलगायत सेवा रोकिनेछ।
पुस मसान्तपछि अभिलेखीकरण गर्नुपरेमा हाल लिइने शुल्कभन्दा दोब्बर राजस्व बुझाउनुपर्ने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘पालिकाले गत असारमा स्वीकृत गरेको कार्यविधिअनुसार अभिलेखीकरण गर्न हामीले सबैमा सूचित गरेका छौँ। अभिलेखीकरण नगर्दा कार्यालयबाट दिइने सेवाबाट वञ्चित बन्नुपर्ने अवस्था आउनेछ।’
घरजग्गा नक्सा पास एवं अभिलेखीकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पत्तिको विवरण प्राप्त हुने र यहाँबाट उपलब्ध सेवामा सहज पहुँच विस्तार हुने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘भौतिक सम्पत्तिको अवस्था थाहा भएपछि विकासका योजना बनाउन पनि सहज हुनेछ।’
कुनै विपद्का घटना भए वास्तविक क्षतिको विवरण लिन, राहत र क्षतिपूर्तिको सिफारिस गर्न सहज हुने, सुरक्षित आवासको अवधारणा कार्यान्वयन गर्न मार्ग प्रशस्त हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। नगरपालिकाभित्र कुनै पनि स्वीकृत नलिइ निर्माण सम्पन्न भएका घर/भवनको अभिलेखीकरण गर्न उनले सबैमा आग्रह गरे।
भुसालका अनुसार वडामा अभिलेखीकरण गरिसकेपछि नगरपालिकाले प्रमाणीकरण गर्नेछ । दश हजारभन्दा बढी परिवार रहेको यस पालिकामा हालसम्म २१० घर अभिलेखीकरण भएका उनले जानकारी दिए ।
प्रतिक्रिया 4