७ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र १२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको बताएका छन् ।
आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् ।
चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए ।
मन्त्री पुनले विश्वविद्यालयहरूबीच सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको पनि बताए ।
उनले भने, ‘एसईई र १२ कक्षामा जम्मा ४/५ लाख विद्यार्थी मात्र हुन्छन् । तर, पनि नतिजा निकाल्नका लागि ८/९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरूको लापरबाही देखिन्छ । यस्ता कुराहरूको समाधान गर्नैपर्छ ।’
उनले अगाडि भने, ‘मन्त्रालयको पूँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयका लागि आओस् भन्नका लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरूमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’
उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
प्रतिक्रिया 4