+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/1 (0.3)
VS
कर्णाली याक्स 2025
0/0
Shares

नुनका नदीहरू : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

रासस रासस
२०८२ मंसिर ८ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बङ्गलादेशको तटीय डेल्टामा जलवायु परिवर्तनले समुद्रको सतह तीव्र रूपमा बढेर लाखौँ नागरिकको पिउने पानी संकटमा परेको छ।
  • सन् २००९ को चक्रवात आइलाले बाँध भत्काएर समुद्री नुनिलो पानीलाई भित्री क्षेत्रसम्म पुर्‍याई खेतबाली र घरहरू नुनिलो बनाएको छ।
  • स्थानीयहरूले पानी सङ्कलन र संरक्षणमा धैर्यता देखाउँदै बाँसका स्टिल्टमा उचो घरमा बाँचिरहेका छन् र विस्थापन सामान्य जीवनको हिस्सा बनेको छ।

८ मंसिर, बङ्गलादेश । विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र हरेक परिवर्तनलाई परिभाषित गर्दछ ।

सरकारी वैज्ञानिकहरूको भनाइमा जलवायु परिवर्तनका कारण समुद्रको सतह असाध्यै तीव्र रूपमा बढ्दै गइरहेको छ । यसले तल्लो भूभागलाई बगाउँदै लैजान थालेको छ भने आँधीबेहारी र चक्रवातहरूले समुद्री नुनिलो पानीलाई अझ भित्री क्षेत्रसम्म पुर्‍याई कुवा, पोखरी र तालका पानीलाई नुनिलो बनाइरहेका छन्।

माटो र म्यानग्रोभ वनले भरिएको पर्यावरणीय रूपमा अति संवेदनशील डेल्टामा बस्ने लाखौँ नागरिकका लागि पिउने शुद्ध पानी फेला पार्नु अहिले एक कठिन चुनौती बनेको छ ।

सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला तटीय जीवनमा एक निर्णायक मोड सावित भयो । बाँधहरू भत्किए, समुद्री नुनिलो पानी बस्तीमा पस्यो, घरहरू मात्रै नभइ, उर्वर मरुभूमि पनि नुनले छोपियो ।

कुनै समय जीवनरक्षक मानिने ताजापानी अचानक पिउन अयोग्य बन्यो र खेतबाली रोपिने जमिन बिस्तारै नुनिलो तहमुनि धसिँदै गयो ।

आज खुल्ना र सतखिराका बासिन्दाहरू भूमिमा र समुद्रसँगको कडा सङ्घर्षबीच नाजुक सन्तुलनमा बाँचिरहेका छन् । निरन्तर ज्वारभाटा बाढीबाट जोगिन धेरै परिवारहरू बाँसका स्टिल्टमा उचो बनाइएका घरमा बस्छन् ।

बालबालिकाहरू पहेँलो, नुनिलो पानीमै नुहाउँछन्, त्यसै परिवेशमा खेल्छन् र त्यहीँ हुर्कन्छन् । त्यहाँ नदीहरूले वर्षाैँ अघिदेखि नै घर, बस्ती, विद्यालय बगाइरहेकै छन् । विस्थापन यहाँ सामान्य जीवनचक्रको एक भागझैँ बनिसकेको छ ।

पुरुषहरू महिनौँसम्म काम खोज्दै घरदेखि टाढा बसाइँ सर्छन् । उता महिलाहरू र बालबालिकाहरू भने परोपकारी संस्थाले उपलब्ध गराइदिने ट्याङ्की वा टाढाका पोखरीबाट वर्षाको पानी सङ्कलन गर्न घन्टौँसम्म सुक्खा र पत्र पत्र भएको माटोमा हिँड्न बाध्य छन् ।

प्रत्येक घरधुरीले धेरै मुश्किलले केही हजार लिटर पानी सङ्कलन गर्छ । त्यो पानी अर्को मनसुन नआउँदासम्म अत्यन्तै सावधानीपूर्वक बाँडेर प्रयोग गर्नुपर्ने हुन्छ ।

दैनिक पानी बटुल्ने, भण्डारण गर्ने, हेरचाह गर्ने काम यहाँका परिवारका लागि धैर्य र सहनशीलताको मौन अनुशासनझैँ बनिसकेको छ ।

यो प्रतिवेदन एएफपीको सन् २०२५ माराई फोटो ग्रान्टअन्तर्गत युवा फोटो–पत्रकार मुहम्मद अमदाद हुसेनद्वारा तयार पारिएको फोटोग्राफी शृङ्खलासँग प्रकाशित गरिएको हो ।

यो सम्मानित पुरस्कार दक्षिण एसियाका २५ वर्ष वा सोभन्दा कम उमेरका फोटोग्राफरहरूका लागि खुला हुन्छ र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन’ तथा त्यसले दैनिक जीवनमा पारेको प्रभावमा केन्द्रित थियो ।

एजेन्स फ्रान्स–प्रेसले यो पुरस्कार आफ्नो दिवङ्गत फोटो पत्रकार शाह माराईको नाममा स्थापना गरेको हो ।

माराई अफगान फोटोग्राफी जगतका लागि प्रेरणा व्यक्तित्व थिए र एएफपी काबुल ब्युरोका फोटो प्रमुखका रूपमा कार्यरत रहँदै सन् २०१८ अप्रिल ३० मा आत्मघाती आक्रमणमा ४१ वर्षको उमेरमा शहीद भएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?