जेनजी विद्रोहपछि हालसम्मको परिस्थितिलाई नजिकबाट नियाल्ने हो भने सिङ्गो परिवर्तन ‘अधकल्टो’ जस्तो देखिन थालेको छ। किनभने जेनजी आन्दोलनको उठान र बैठान दुवै ठीक तरिकाले हुन सकेनन्। यसको प्रमुख कारण, जेनजी विद्रोहको आह्वान गर्ने र भोग्ने दुवै पक्षले यो हदसम्मको विध्वंस र हिंसात्मक रूप लिनेछ भन्ने कल्पना समेत गरेका थिएनन्।
परिणामस्वरूप आन्दोलन एकाएक आपत्कालीन विद्रोहमा परिणत भयो। त्यही कारण जेनजी विद्रोहको बलमा बनेको अन्तरिम सरकार समेत विद्रोहका आधारभूत मूल्य र मान्यतालाई स्थापित गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर आशंकाको भुमरीमा फसेको देखिन्छ। जेनजी नेतृत्वले समेत विद्रोहलाई कसरी संस्थागत गर्ने भन्ने प्रश्नमा अकर्मण्यता देखाएका छन् ।
विद्रोह र त्यसका पहलुहरूले आफ्नो बाटो बेलैमा स्पष्ट गर्न नसक्दा, उनीहरूभित्र देखिएको अन्तरविरोध र अन्तरसङ्घर्षले वर्गीय द्वन्द्वको रूप लिंदै गएको अनुमान गर्न सकिन्छ। किनभने जेनजी विद्रोह कुनै काठमाडौंकेन्द्रित अनुहारले मात्र लडेको आन्दोलन थिएन। यो ७७ जिल्लाका युवाहरूको स्वस्फूर्त विद्रोह थियो। तर अहिले यसको सम्पूर्ण जस एउटा काठमाडौंकेन्द्रित समूहले लिन खोजिरहेको छ, जुन परम्परागत दलीय शैलीमा रूपान्तरण हुँदै बाँकी ७६ जिल्लालाई ‘बाइपास’ गर्ने प्रयास गरिरहेको छ।
यसले सिङ्गो आन्दोलन र यसको उपलब्धिलाई निष्प्रभावी बनाउने खतरा बढाएको छ। जेनजी विद्रोह गर्ने र भोग्ने दुवैका लागि यो आन्दोलन उनीहरूको कल्पनाभन्दा बाहिरको घटना थियो। त्यसैले यसलाई स्थापित र सामना गर्नु दुवै कठिन भइरहेको छ। यतिसम्म कि अब उनीहरू एकअर्काको अस्तित्व स्वीकार गर्न समेत कठिनाइ भोगिरहेका देखिन्छन्।
यतिबेला यो पुस्ता अहिलेको विश्व राजनीति र सामाजिक संरचनाको केन्द्रमा छ। उनीहरू सामाजिक सञ्जाल, प्रविधि र डिजिटल चेतनाका माध्यमबाट विश्वलाई हेर्छन्, बुझ्छन् र प्रतिक्रियास्वरूप विद्रोह गर्छन्। तर यो विद्रोह पनि एकरूपतामा छैन।
यो पुस्ताभित्र पनि वर्ग छ, वर्गीय स्वार्थ छन्; वर्ग स्वार्थ अनुसारका दृष्टिकोण, एजेन्डा र आन्दोलनका स्वरहरू फरक–फरक छन्। यही वर्गीय विभाजनले जेनजी आन्दोलन वा विद्रोहको चरित्र निर्धारण गरेको छ। कोही सुधारवादी र प्रविधिमुखी उदार लोकतन्त्रका हिमायती छन् भने कोही मूलतः व्यवस्थामाथि नै प्रश्न उठाउने, नयाँ राजनीतिक संरचनाको खोजी गर्ने क्रान्तिकारी धारका छन्।
जेनजी पुस्ताको विद्रोहको ‘ग्राउन्ड’ के हो भन्ने प्रश्नलाई बुझ्नका लागि समाजको वर्गीय संरचना र राज्यसत्ताको स्वरूप बुझ्नुपर्छ। आजको नेपाल सहित विश्वकै अधिकांश लोकतान्त्रिक राज्यहरू ‘दलाल पूँजीवादी वर्गीय अधिनायकत्व’ का रूपमा कार्यरत छन्।
यो संरचना बाह्य रूपमा लोकतान्त्रिक देखिए पनि भित्री रूपमा पूँजीपति र नोकरशाही वर्गको आधिपत्यमा चलिरहेको छ। यसले श्रमजीवी, शोषित र उत्पीडित वर्गहरूलाई प्रतिनिधित्व गर्ने नाममा राज्यसत्ता कब्जा गरेर, पुनः तिनै वर्गलाई दमन गर्ने काम गरिरहेको छ।
त्यसैले जेनजी पुस्ताको विद्रोह केवल व्यवस्था विरोधी भावनाको विस्फोट होइन। यो विद्रोह मूलतः वर्गीय मुक्ति र स्वाधीन राजनीतिक व्यवस्थाको खोज हो। आजका युवाहरूले देखेका छन्— लोकतन्त्रका नाममा हुने चुनाव, संसद् र दलहरूको प्रतिस्पर्धा केवल दलाल पूँजीपतिहरूकै हितका लागि सञ्चालन हुन्छन्।
जनताको जीवनमा ठोस सुधार ल्याउने शक्ति यी दलहरूमा छैन; न त उनीहरूमा इच्छाशक्ति नै बाँकी छ। जनताका नाममा जनताको अधिकार बेच्ने, ठेक्का–कमिसनमा रमाउने र शासनलाई नोकरशाहीको बन्द कोठाभित्र सीमित पार्ने प्रवृत्ति नै आजको दलाल पूँजीवादी लोकतन्त्रको वास्तविकता हो।
जेनजी पुस्ताको विद्रोही चेतनाको केन्द्रीय नारा यही हो— यथास्थितिमा गोलचक्कर नमारौं। पुरानै सत्ता, पुरानै अनुहार र पुरानै दलहरूको बीचमा फेरि–फेरि घुम्ने चक्र तोडौं। यो विद्रोह परिवर्तनका लागि परिवर्तन होइन, ‘स्वाधीन र अग्रगामी’ राजनीतिक व्यवस्थाको खोज हो।
यो खोज व्यक्तिवादी होइन। यो आन्दोलनको लक्ष्य कुनै व्यक्तिको शासन होइन, जन–अधिनायकत्वको संरचना हो— जहाँ सत्ता शोषित, उत्पीडित र श्रमजीवी वर्गको हातमा हुनेछ।
नेपाली समाजको वर्गीय बनावट हेर्ने हो भने- किसान, मजदुर, दलित, महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारू र क्षेत्रीय वर्गहरू सदियौंदेखि उत्पीडनमा छन्। यी वर्गहरूले राज्यसँग केवल कर, शोषण र उपेक्षा पाएका छन्।
तिनीहरूका नाममा कार्यक्रम, बजेट र भाषण त बन्छन्, तर निर्णय गर्ने शक्ति सधैं नोकरशाही र पूँजीपति वर्गको हातमा रहन्छ। हरेक सत्ता परिवर्तनसँगै नेताहरूको अनुहार फेरिन्छ तर वर्गीय अधिनायकत्व यथावत् रहन्छ।
आजको नेपालको संसदीय व्यवस्थाले यही वर्गीय अधिनायकत्वलाई ढाकछोप गरेर ‘जनताको सरकार’ को भ्रम फैलाइरहेको छ। तर यो जनताको सरकार होइन— यो दलाल पूँजीपति र नोकरशाही वर्गको साझेदारीमा निर्मित शासन संरचना हो। यही कारणले आजको प्रणालीले न भ्रष्टाचार नियन्त्रण गर्न सकेको छ, न बेरोजगारी घटाउन।
शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय प्रणाली सबै व्यापारीकरणमा गइसकेका छन्। राज्य जनताको सेवा गर्ने निकाय होइन, ठेक्कापट्टा वितरण गर्ने ‘कारोबार केन्द्र’ मा परिणत भएको छ। जताततै चरम बेथिति, भ्रष्टाचार र कुशासन व्याप्त छ।
यही व्यवस्थाबाट असन्तुष्ट जेनजी पुस्ता अहिले राष्ट्रको नयाँ विकल्प खोज्दैछ। उनीहरूले परम्परागत दलहरूमाथि विश्वास गुमाइसकेका छन्। किनभने ती दलहरू जनताको विश्वासबाट होइन, पैसाको सञ्जाल र अन्तर्राष्ट्रिय दलाल शक्तिको समर्थनबाट टिकेका छन्।
उनीहरूको लोकतन्त्रले जनतालाई होइन, पूँजीलाई स्वतन्त्रता दिएको छ। यही अन्तरविरोधले जेनजी चेतनामा नयाँ राजनीतिक दर्शन जन्माइरहेको छ— जसको सारांश हो: दलाल पूँजीवादी लोकतन्त्र होइन, श्रमजीवी स्वाधीन लोकतन्त्र।
यो श्रमजीवी लोकतन्त्र कुनै काल्पनिक अवधारणा होइन। यसको बीउ प्रत्येक सङ्घर्षरत वर्गभित्र छ। खेतमा पसिना बगाउने किसान, कारखानामा घाम र धुलो खाने मजदुर, शिक्षामा पहुँच नपाएका दलित, अवसरबाट वञ्चित महिला र मधेशी–आदिवासी जनजातिहरू— यी सबै नै भविष्यको स्वाधीन लोकतन्त्रका प्राकृतिक संवाहक हुन्। तर तिनीहरूका आवाज सधैं शासक वर्गले दबाउँछ, टुक्र्याउँछ र जात–धर्म, क्षेत्र–भाषाका नाममा विभाजित गर्छ।
जेनजी पुस्ताको जागरण यही विभाजन विरुद्धको जागरण हो, विद्रोह हो। उनीहरूले अब जात, धर्म वा भूगोलका आधारमा होइन, वर्गीय हितका आधारमा एकताको सूत्र खोजिरहेका छन्। यो नै स्वाधीन राजनीतिक चेतनाको आरम्भ हो। त्यसैले जेनजी आन्दोलन हरेक हिसाबले साझा प्रतीक हो।
नेपालमा यसको स्वरूप अन्ततः ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को आन्दोलनका रूपमा देखा पर्न सक्छ; जहाँ किसान, मजदुर, दलित, महिला, मधेशी, जनजाति, थारू, मुस्लिम र क्षेत्रीय वर्गहरू मिलेर साझा सत्ता–संरचना निर्माण गर्छन्।
जेनजी पुस्ताको विद्रोहलाई धेरैले ‘भावनात्मक’ वा ‘अराजकतावादी’ भनेर निमोठ्ने र हेप्ने प्रयास गरिरहेका छन्। तर वास्तवमा यो विद्रोह अत्यन्त वैचारिक र परिवर्तनकारी छ। यसले राज्य, शासन र जनसत्ता सम्बन्धी प्रश्नहरूलाई पुनः परिभाषित गर्दैछ। उदाहरणका लागि, यो पुस्ता अब ‘सत्ता परिवर्तन’ मा होइन, ‘संरचना परिवर्तन’ मा जोड दिइरहेको छ। उनीहरूका लागि सुशासन, पारदर्शिता र स्थायित्व केवल व्यवस्थाभित्रका सुधार मात्र होइनन्, व्यवस्थाको स्वरूपकै पुनःनिर्माण उनीहरूका मुद्दा हुन्।
संसदीय व्यवस्थाले जनतालाई बोल्न त दियो तर सुनिने शक्ति खोस्यो। यो व्यवस्थाले प्रतिनिधि त बनायो तर जनताको सत्ताको अधिकार हरण गर्यो। जेनजी पुस्ताको विद्रोह त्यसैको प्रतिरोध हो। उनीहरू भन्छन्— अब प्रतिनिधि होइन, प्रत्यक्ष जनसत्ता चाहिन्छ। अब दलहरूको भागबन्डा होइन; उत्पादन, श्रम र समाजको साझा स्वामित्वमा आधारित लोकतन्त्र चाहिन्छ।
राजनीतिक दृष्टिले यो सोच ‘संयुक्त स्वाधीन अधिनायकत्व’ को धारामा पर्छ। यसको अर्थ, सत्ता कुनै एक वर्गको हातमा होइन, देशका सबै शोषित, उत्पीडित र श्रमजीवी वर्गहरूको संयुक्त अधिनायकत्वमा रहेको हेर्न चाहन्छन्। यस्तो शासन प्रणालीमा भ्रष्टाचार, नोकरशाही र दलालपनको ठाउँ हुँदैन।
नीतिनिर्माण जनताको आधारभूत आवश्यकता र उत्पादन सम्बन्धका आधारमा हुन्छ। यो व्यवस्थामा सरकार परिवर्तनको मतलब केवल पार्टी परिवर्तन होइन, सामाजिक सम्बन्धको परिवर्तन पनि हुन्छ।
नेपालमा यस्तो चेतना फैलिनु कुनै आकस्मिक घटना होइन। राज्यले विगत सात दशकमा जनताको पक्षमा काम गर्न सकेन। सामन्तवादबाट पूँजीवादमा रूपान्तरण हुँदा पनि सत्ताको स्वरूप जनमुखी हुन सकेन। जनता अझै करदाताका रूपमा मात्र छन्, मालिक बन्न सकेका छैनन्।
यतिबेला जनताभित्रको नयाँ पुस्ता जेनजी यस यथार्थसँग टकराइरहेको छ। उनीहरूको विद्रोहमा पुरानो व्यवस्थाप्रति वितृष्णा छ। तर त्यो वितृष्णा विनाशकारी होइन, पुनर्निर्माणमुखी र समानतामुखी छ।
जेनजी पुस्ताको विद्रोहलाई गहिरो रूपमा बुझ्ने हो भने यो समानताको नयाँ आन्दोलन हो। यो समानता केवल अधिकारको मात्र होइन, निर्णय–शक्तिको समानता पनि हो। यसको निश्चित लक्ष्य राज्य र समाजमा यस्तो शक्ति–सन्तुलन ल्याउनु हो, जहाँ जनताले नीतिनिर्माण, कार्यान्वयन र निगरानीमा प्रत्यक्ष भूमिका खेल्न सकून्। तर यो लक्ष्य सजिलो भने छैन।
दलाल पूँजीवादी वर्गले आफ्नो अस्तित्व जोगाउनका लागि शिक्षा, स्वास्थ्य, मिडिया र प्रशासनका हरेक क्षेत्र कब्जा गरिसकेको छ। त्यसैले जेनजी पुस्ताले सङ्घर्ष केवल सडकमा मात्र होइन, चेतनामा पनि गर्नुपर्नेछ। उनीहरूले पुराना मूल्य–मान्यता र उपभोगवादी संस्कृति विरुद्ध पनि वैचारिक युद्ध लड्नुपर्नेछ।
जेनजी पुस्ताको यो आन्दोलन राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्वरूपमा विकसित हुँदै छ। अमेरिका, युरोपदेखि एसिया र अफ्रिकासम्मका युवाहरूले एउटै कुरा भनिरहेका छन्— ‘हाम्रो भविष्य हाम्रो हातमा चाहिन्छ।’
यो पुस्ता कुनै एक दल, धर्म वा विचारधाराको बन्धक बन्ने होइन। उनीहरू स्वाधीन सोच र वैज्ञानिक दृष्टिकोणका आधारमा नयाँ राजनीतिक दर्शन निर्माण गर्दैछन्, जसमा सम्पूर्ण मानव जाति अटाउनेछन्।
नेपालमा यसको स्वरूप अन्ततः ‘श्रमजीवी स्वाधीन लोकतन्त्र’ को आन्दोलनका रूपमा देखा पर्न सक्छ; जहाँ किसान, मजदुर, दलित, महिला, मधेशी, जनजाति, थारू, मुस्लिम र क्षेत्रीय वर्गहरू मिलेर साझा सत्ता–संरचना निर्माण गर्छन्।
यस्तो सत्ता जनताको हातमा हुने भएकाले त्यसलाई ‘संयुक्त स्वाधीन अधिनायकत्व’ भन्न सकिन्छ। यो व्यवस्थाले संसद् होइन, समाजका उत्पादन र वितरण प्रणालीलाई समेत राजनीतिक बनाउँछ।
अन्ततः जेनजी विद्रोहको मूल जनादेश यही हो— यथास्थितिमा गोलचक्कर नमारौं; नयाँ, उन्नत र स्वाधीन राजनीतिक व्यवस्थाको स्थापना गरौं। लोकतन्त्रका नाममा दलाल पूँजीपतिको अधिनायकत्व होइन, श्रमजीवी वर्ग र उत्पीडित समुदायको जनसत्ता कायम गरौं। यो केवल राजनीतिक माग होइन, ऐतिहासिक अनिवार्यता हो।
बेथिति र भ्रष्टाचारको निर्मूल अनि स्थिर सरकारको कल्पना हो। नेपालले यदि यो चेतना आत्मसात् गर्न सकेन भने नयाँ पुस्ताले पुरानो व्यवस्थाको ढाँचा भत्काउनेछन्। किनकि इतिहास सधैं ती वर्गहरूको पक्षमा उभिन्छ, जसले परिवर्तनको जिम्मा लिन्छन्।
आज त्यो जिम्मा जेनजी पुस्ताले उठाइसकेको छ। उनीहरूका हातमा केवल मोबाइल मात्र छैन, भविष्यको दिशा पनि छ। र, त्यो दिशा स्पष्ट छ— स्वाधीनता, समानता र जनसत्ताको मार्ग ।
प्रतिक्रिया 4