+
+
WC Series
काठमान्डु गोर्खाज 2025
3/1 (1.2)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
बसपार्क घटना :

१० दिनसम्म सडकमै अलपत्र थियो महिलाको शव, टोल सफा गर्दा पर्‍यो फेला

शनिबार टोलमा सरसफाइ कार्यक्रम थियो । सरसफाइ गर्ने क्रममा उक्त फोहरको थुप्रो भनेर फ्ँयाक्न खोज्दा निकै गह्रौं भएपछि शंका लागेर खोलेर हेर्दा महिलाको शव भेटिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १४:३२

९ मंसिर, काठमाडौं । बालाजुमा गत शनिबार मृत भेटिएकी माया भनिने आयुषा मगरको १० दिन पहिला नै हत्या गरेर फालिएको खुलेको छ । आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा १० दिन पहिला नै हत्या गरेर सडकमा शव फालेको खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अहिले हत्या आरोपमा सूर्य थापा मगरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सूर्यले प्रहरीसमक्ष ती महिलाको हत्या २६ कात्तिकको राति नै गरेर त्यतिबेलै शवको व्यवस्थापन गरेको बताएका छन् ।

तर १० दिनसम्म सडक किनारामै शव हुँदा समेत कोही कसैले पनि थाहा पाएनन् । टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकको सडक किनारमा सूर्यले आयुषाको शव फालेका थिए ।

२६ कात्तिकको राति फालेको उक्त शव १० दिनपछि ६ मंसिरमा मात्रै स्थानीयले थाहा पाएका थिए । यही बीचमा बन्चरेडाँडामा फोहर फाल्न अवरोध भएपछि फोहर सडकमै थुप्रिने भएकाले स्थानीयले पनि उक्त थुप्रोलाई फोहर भनेर सम्झेको प्रहरीलाई बताएका छन् ।

शनिबार भने टोलमा सरसफाइ कार्यक्रम थियो । सरसफाइ गर्ने क्रममा उक्त फोहरको थुप्रो भनेर फ्ँयाक्न खोज्दा निकै गह्रौं भएपछि शंका लागेर खोलेर हेर्दा महिलाको शव भेटिएको थियो ।

त्यसपछि बल्ल स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको १० दिनपछि बल्ल प्रहरीले शव भेट्टाएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उक्त शव सड्न थालेकाले केही पूरानो रहेको प्रहरीले आशंका गरेको थियो । अनुसन्धानको क्रममा उक्त शव २६ कात्तिकमै हत्या गरेर फालिएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने आयुषा मगर नाम गरेकी युवती रहेको खुलेको छ । हत्याको कारण भने ५ सय रुपैयाँसँग जोडिएको प्रहरीले बताएको छ । जुन कुरा सूर्यले समत स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

शनिबार बिहान ८ बजेतिर तन्नाले बेरेको अवस्थामा शव भेटिएको थियो । टोखाको मिलनटोल नयाँ बसपार्कस्थित एक होटलको स्टाफ रुपमा रहेको तन्ना र तकियाको खोलमा भएको ट्याग नै भेटिएको थियो ।

त्यसपछि प्रहरीले उक्त होटलका सञ्चालक र म्यानेजरलाई घटनाबारे सोधपुछ गरेको थियो । तर, उनीहरूले आफूलाई केही थाहा नभएको बताएका थिए । सोही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले पक्राउ गर्दा उनी मदिराको नसामा थिए । प्रारम्भिक सोधपुछकै क्रममा उनले हत्याको घटना स्वीकार गरेको प्रहरीले बताएको छ ।

अनुसन्धानको क्रममा हत्याको मुख्य कारण पाँच सय रुपैयाँ रहेको प्रहरीले बताएको छ । अन्दाजी १५ दिन जति अघि आयुषा र अर्को डोल्मा नाम गरेका दुई जना राति १२ बजेतिर उक्त होटलमा आएका थिए ।

त्यतिबेला आयुषाले सूर्यसँग पाँच सय रुपैयाँ मागेर लगेकी थिइन् ।

ब्राउन सुगर किन्न भनेर पाँच सय रुपैयाँ सापटी लगेको सूर्यले बताएका छन् । त्यही पाँच सय रुपैयाँ सापटी फिर्ता माग्दा आयुषाले दिन्न भनेपछि २६ कात्तिकको राति सूर्यले हत्या गरेको प्रहरीले बताएको छ ।

सीसीटीभी फुटेजमा समेत तन्नाको पोको होटलबाट राति १:५२ बजे निकालेर लगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

ब्राउन सुगर किन्न लगेको रकम माग्दा नदिने बताएपछि सूर्यले जुत्ताको तुनाले आयुषाको घाँटी कसेको प्रहरीले बताएको छ । घाँटी कसेर हत्या गरेपछि कालो ठूलो प्लाष्टिकमा प्याक गरेर तन्नाले बेरेर फालेको उनले प्रहरी समक्ष बताएका छन् ।

हत्या गरिएकी युवती आयुषा विवाहित रहेको पाइएको छ । उनका आमा कल्पना शेर्पालीले आफ्नी छोरी भनेर सनाखत गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?