+
+
WC Series
काठमान्डु गोर्खाज 2025
58/2 (10.2)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

गृहमन्त्रीको ओली लक्षित टिप्पणी : सार्वजानिक खपतका लागि निर्वाचन हुँदैन भन्नेलाई सरकारले कामबाट जवाफ दिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १४:५६

९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताए ।

वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उनको भनाइ छ ।

उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतका लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताए । निर्वाचन हुँदैन भन्नेहरूलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उनको भनाइ छ ।

‘सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको छ । हामी यसैलाई मूल मन्त्र बनेर काम गरिरहेका छौँ । विभिन्न बाहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैन भन्ने कहीँ कतै सुनिएका पनि होलान् । सार्वजानिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ, दिइरहेको पनि छ,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आइरहेका छन् ।

गृहमन्त्री अर्यालले आफ्नो इच्छाले आफूहरू सरकारमा नआएको पनि बताए । देश शून्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरू केन्द्रित रहेको उनले बताए ।

उनले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

संघीय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरू बनाएको उनले जानकारी दिए ।

केन्द्रीय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

उनले निर्वाचनका लागि राजनितिक दलहरूले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औल्याएको उल्लेख गर्दै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याइसकेको दाबी गरे । ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भइसकेको उनको भनाइ छ ।

उनले निर्वाचनको तयारी स्वरूप नै लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको बताए । अन्य प्रदेशमा पनि गोष्ठी आयोजना गर्ने उनको भनाइ छ ।

उनले प्रहरीलाई निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिए । उनले राजस्व चुहावट नियन्त्रणलाई विशेष ध्यान दिन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?