+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares
विवाह पञ्‍चमी :

सिंगारियो जानकी मन्दिर, रातभर हुनेछ वैवाहिक कार्यक्रम (तस्वीरहरू)

विवाह पञ्‍चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ । जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार  विवाहको कार्यक्रम भइरहेको छ । वैवाहिक कार्यक्रम रातभर चल्‍नेछ । 

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर ९ गते १९:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जानकी मन्दिर प्राङ्गणमा मिथिला परम्परा अनुसार राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ।
  • साधुशन्तको अगुवाइमा राम र जानकीको डोला बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर गरिएको थियो।
  • डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड छ र हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

९ मंसिर, जनकपुरधाम।  जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ । मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रम रातभर चल्नेछ।

विवाह पञ्‍चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार  विवाहको कार्यक्रम भइरहेको छ । वैवाहिक कार्यक्रम रातभर चल्‍नेछ ।

यसअघि दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर गरिएको थियो।

ढोल पिपही, सहनाई, बैन्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्बर गर्ने प्रचलन छ ।

डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीको भीड छ । स्वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो।

आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारेका थिए । महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरेका थिए।

यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिने हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?