१० मंसिर, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काग्रेसका नेता प्रदीप पौडेलले आफूले अगाडि बढाएका स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री डा. सुधा गौतमलाई बुधबार मन्त्रालयमा भेटेर पूर्वमन्त्री पौडेलले बीमा कार्यक्रम, जनशक्ति व्यवस्थापनदेखि औषधि मूल्य निर्धारणका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका हुन् ।
पौडेलले आफूले केही नयाँ कार्यक्रम सुरु गर्ने, पुराना प्रभावकारी कामलाई निरन्तरता दिने र संरचनात्मक सुधारहरु अघि बढाउने प्रयास गरेको बताए ।
धेरै कामहरू ९० प्रतिशतसम्म सकिए पनि थोरै बाँकी रहेका कारण धेरै काम पूर्णता पाउन नसकेको उनको भनाइ थियो ।
उनकाअनुसार मन्त्रालयबाट ७ वटा विधेयक तयार भएका थिए । तीमध्ये संगठित क्षेत्रलाई सम्पूर्ण रुपमा बीमामा आबद्ध गर्ने सम्बन्धी विधेयक २५ भदौका लागि संसद्को कार्यसूचीमै समावेश भइसकेको थियो । उनले संगठित क्षेत्रलाई पूर्णरूपमा स्वास्थ्य बीमामा आबद्ध गर्ने योजनालाई सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनकाअनुसार बीमामा सरकारबाट १० अर्ब र प्रिमियमबाट ४ अर्ब गरी कुल १४ अर्ब आम्दानी हुने संरचना तयार गरिएको थियो । स्वास्थ्य बीमामा प्रदान गरिने उपचार रकम १ लाखबाट २ लाख पुर्याइएको उल्लेख गर्दै उनले संगठित क्षेत्र समावेश भएमा वार्षिक १ खर्बभन्दा बढी राजस्व उत्पन्न हुने दाबी गरे । १ खर्ब आम्दानी हुँदा आवश्यक व्यक्तिलाई ५ लाख उपचार रकम दिन गाह्रो नहुने उनको भनाइ छ । ५ लाखको कार्यक्रम अगाडि सारेको उनले स्मरण समेत गरे ।
पूर्वमन्त्री पौडेलले प्रसूति सेवा तथा मातृस्वास्थ्यसँग संवद्ध ओएनएम सम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएकोले त्यसलाई अगाडि बढाउन आग्रह गरे ।
उनले ८ सयभन्दा बढी चिकित्सक र १४ सय नर्सको रिक्त दरबन्दी पूर्ति गर्न खुला विज्ञापन निकाल्ने तयारी मन्त्रालयले गरेकोले ती प्रक्रियालाई पनि अगाडि बढाउन मन्त्री गौतमलाई आग्रह गरे ।
स्वास्थ्यमन्त्री गौतमले राम्रा कामलाई मन्त्रालयले निरन्तरता दिने बताइन् । उनले यो सरकार जेनजीको भावना अनुरूप बनेकोले उनीहरूको भावनाअनुरूप भ्रष्टाचार निर्मूल गर्नेगरी काम गरिरहेको बताइन् ।
खासगरी भ्रष्टाचारका आरोपहरू लाग्ने गरेको क्षेत्र औषधिको व्यवस्थापन, आपूर्ति र बीमा रहेको उनको भनाइ छ । उनले यी तीन वटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
औषधि व्यवस्थापनमा गम्भिर समस्या देखिएकोले यसको खरिद, नियमन र गुणस्तरको कामका लागि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फार्मोकलजिस्ट र पूर्वमहानिर्देशक लगायत विज्ञ टिमले काम गरिरहेको बताइन् ।
उक्त टिमको नेतृत्व मन्त्रालयका अतिरिक्त सचिवले गरिरहेको उनको भनाइ छ । उनले यसको दिगो समाधान लागि काम भइरहेको जानकारी दिइन् ।
‘यो सरकार जेन—जीको भावनाअनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजी कै भावना अनुरूप हामीले भ्रष्टाचार निर्मूलका लागि प्रतिज्ञा गरेका छौँ । र हाम्रो प्रणाली सुदृढीकरण गर्नका लागि हामीले प्रतिज्ञा गरेका छौँ,’ उनले भनिन् ।
उनले औषधि आपूर्तिमा मन्त्रालयका १४ जना कर्मचारी निलम्वनमा रहेको जानकारी दिइन् । त्यसले कर्मचारीको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले ऐन नियममा भएको कमजोरीलाई सुधार गरेर औषधि आपूर्तिलाई सहज बनाउने बताइन् । बीमालाई सुधार गर्न गहन छलफल गर्ने उनले भनाइ छ ।
प्रतिक्रिया 4