भदौ २३ र २४ को जेनजी उथलपुथलले ऐतिहासिक संकटतर्फ धकेलिदिएको नेपाली कांग्रेस पार्टी विगत दुई महिनायता अन्तरद्वन्द्वको भासमा जकडिएर आश्चर्यजनक शैलीमा अनिर्णयको बन्दी बनेको छ। नेपालका तीन ठूला राजनीतिक क्रान्ति र आन्दोलनको नेतृत्व गरेको, पाँचपटक जन–अनुमदित भएको (एकपटक दुई तिहाइ २०१५, दुईपटक बहुमत २०४८ र २०५६ अनि दुईपटक प्रथम दल २०७०, २०७९) र तीन पटक (२०५१, २०६४ र २०७४) दोस्रो ठूलो दल वा प्रमुख प्रतिपक्ष रहेको कीर्तिमानी रेकर्ड भएको पार्टी फागुन २१ का लागि घोषित निर्वाचनमा नयाँ नेतृत्व चयन गरेर कि पुरानै नेतृत्व लिएर जाने भन्ने बारेमा अनिर्णित छ।
सतहमा हेर्दा यो कांग्रेसभित्रका अनेकन् विचारधारा, समूह, गुट वा सात भाइ, महामन्त्रीहरू, कार्यवाहक सभापति र सभापति बीचको द्वन्द्व देखिन्छ। तर यसको अन्तर्यमा हामीले अरू धेरै कुरा देख्न सक्छौं। आज म पात्र होइन प्रवृत्तिको कुरा गर्दैछु। त्यसका लागि कांग्रेसभित्रको द्वन्द्वलाई अलग–अलग समयमा कांग्रेस प्रवेश गरेका पुस्ताहरूको द्वन्द्वका रूपमा बढी जोड दिनेछु। यो द्वन्द्वमा जुनसुकै पार्टी भित्र वा बाहिर रहेको जेनजीले वा अन्य पुस्ताले पनि आत्मनिरीक्षणको लाभकारी अवसर पाउनेछ।
शुरु गरौं, नेपाली कांग्रेसको इतिहासबाट। २००३ सालमा नेपाली कांग्रेस स्थापना भए तापनि नेपाली कांग्रेस पार्टीको मूल संगठनमा विस्तार भने तीन पटक मात्र भयो। पहिलो- २००८-२०१५, दोस्रो- २०३४-२०३९ र तेस्रो- २०५८-२०६२। यसरी काल विभाजन गर्नाको खास कारण छन्- यी समयावधिमा कांग्रेस पार्टी सत्तामा थिएन। सत्तामा हुँदा सत्ताको कारणले कुनै दललाई आसक्ति देखाउनेहरू त्यो दल सत्तामा नहुने संकेत पाउनासाथ साथ छाड्ने भएकाले पार्टी सत्तामा रहँदा भएको अवधिलाई संगठन विस्तारको अवधिका रूपमा समावेश गरेको छैन। हुनत सरकारमा रहँदा गरेका कार्यले प्रतिरोध आन्दोलन गर्न नसकेका कार्यबाट पार्टीको संगठन विस्तार भएको समेत हुन्छ। रोचक कुरा कांग्रेस संगठन विस्तारको पहिलो र दोस्रो दुई कालखण्डको अग्रणी नेता बीपी कोइराला र कांग्रेसका संस्थापक नेताहरू हुनुहुन्थ्यो।
तेस्रो कालखण्डको अपत्यारिला तर अग्रणी नेताहरू गगन थापा, विश्व प्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायत थिए। त्यो तेस्रो कालखण्ड अहिलेको चर्चित जेनजी पुस्ता जस्तै मिलेनियलले सार्वजनिक जीवनमा राजनीतिक रूपमा हिस्सा खोजेको समय २०५८-२०६२ को समय थियो। त्यतिबेला एकातर्फ माओवादीहरू सशस्त्र हिंसा मार्फत भूमिगत आन्दोलन गरिरहेका थिए भने अर्कातर्फ काङ्ग्रेस–एमाले लगायतका युवा पंक्ति सडकमा खुलेआम गणतन्त्रको गर्जन सहित हुँकार गरेको बेला थियो।
बीपीले संगठन विस्तार गरेका दुई कालखण्ड २००८ सालमा बीपी कोइरालाले गृहमन्त्रीबाट राजीनामा गरेपछि राणा प्रधानमन्त्री मोहनशमशेरको नेतृत्वमा रहेको अन्तरिम सरकार स्वतः विघटित भयो। र, नयाँ प्रधानमन्त्रीका रूपमा मातृका कोइराला छानिनुभयो। बीपी कोइरालालाई राजीनामा गर्दाका बखतमा प्रधानमन्त्रीको कुर्सीमा आफू नै विराजमान हुन्छु भन्ने लागेको थियो। तर त्यो भएन। त्यसपछि भने बीपी कोइरालाले आफ्नो सम्पूर्ण ध्यान पार्टीको संगठन विस्तारमा लगाउनुभयो। विभिन्न माध्यमबाट- किसान आन्दोलनहरूलाई संगठित गर्ने, भारतले नेपाली राजनीतिमा गरेका चलखेलको विरोध गर्ने, आम निर्वाचनका लागि सरकारलाई दबाब दिने। त्यसका लागि उहाँले अदालतको ढोका ढकढक्याउने, सार्वजनिक सभा गर्ने, सत्याग्रह गर्ने र लोकतन्त्र पक्षधर पार्टीहरू बीच गठबन्धन गर्ने अनेकन् विधि र उपाय अवलम्बन गर्नुभयो। बीपी कोइरालाले नेपालको विस्तृत भूगोललाई आफ्ना पाइतालाले स्पर्श त्यो नै पहिलो पटक थियो। नेपाली कांग्रेसको संगठनको बुनियादी र विस्तृत जग त्यही समय बसेको थियो। बीपीको त्यो मिहिनेत र कसरतले २०१५ सालको प्रथम आम निर्वाचनमा परिणाम दियो।
२०१७ साल पुस १ को राजाको कदम पश्चात् काङ्ग्रेसका शीर्ष नेताहरू जेलमा र अन्य नेताहरू भारत निर्वासनमा जानुपर्यो। तर युवा विद्यार्थी माझमा लोकतन्त्रप्रतिको आकर्षण र नेपाली धर्तीमा लोकतन्त्रको बीजारोपण गर्ने शक्ति नेपाली कांग्रेसप्रतिको आकर्षण रोकिएन। मावि तहपछिको उच्च शिक्षा अध्ययनका लागि शहरी इलाका र विशेषगरी राजधानी काठमाडौं आइपुगेका देशका कुना–कुनाका विद्यार्थीले विद्यार्थी हक–अधिकारका लागि आवाज उठाउन थाले। आजका चर्चित विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियुको स्थापना त्यही कालखण्डका उपज हुन्।
२०२५ असोजमा बीपी कोइरालाको रिहाइपछि भारत निर्वासनमा जानुअघिको छोटो अवधिमा नेपाली राजनीति निकै चलायमान भयो। तर त्यो दिगो भने भएन। २०३४ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किएपछि राष्ट्रिय राजनीतिक घटनाक्रमहरू तीव्र गतिमा अगाडि बढे। विद्यार्थी आन्दोलन समेतको जगमा जनमतसंग्रहको आह्वान भएपछि, नेपाली राजनीतिमा प्रतिबन्धित रहेका दलहरूले खुल्लमखुला सभा गर्न पाए।
बीपी कोइराला त्यतिबेला पूर्वदेखि पश्चिमसम्मका अनेकन् शहरी इलाकामा बहुदल पक्षको लागि कार्यक्रम गर्दै हिंड्नुभयो। २००७ सालको क्रान्ति हाँकेको, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको र निर्वाचनमा गएको, पाठ्यपुस्तक, अखबारका पाना र जनश्रुति वा किंवदन्ती बनिसकेको पात्रलाई तत्कालीन समयका नवयुवकहरूले आफ्नै आँखा अगाडि देख्न, उनका भाषणहरू सुन्न पाए। नेपाली कांग्रेसको दोस्रो सांगठनिक जगको आधार यही २०३४ देखि २०३९ सालका बीचमा बसेको थियो।
नेपाल गणतन्त्र भएको एक दशकसम्म कलेजहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित हुँदा समेत विद्यार्थीहरू दलका भ्रातृ संस्थामा संगठित हुने क्रम भने रोकिएन। पछिल्लो तीन वर्षमा स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचनहरू भएका छन्। र ती निर्वाचनमा कांग्रेस, एमाले, माओवादी लगायतका भ्रातृ संस्थामा आबद्ध रहेका विद्यार्थीले विजय प्राप्त गरेका छन्। तर ती भ्रातृ संस्थाहरूले मात्रै नयाँ पुस्ताका युवकहरूको भावनालाई प्रतिबिम्बन गर्न नसकेको भदौ २३ र २४ को प्रदर्शनी र उथलपुथलले जगजाहेर गरेको छ।
जेनजी पुस्ताको अकल्पनीय करामत
मिलेनियल पुस्ताका युवा नेताहरू जेनजी पुस्ताको अकल्पनीय करामतपछि हायलकायल हुनपुगे। तर त्यसका बावजुद मिलेनियल पुस्ताले हार खानुपर्ने कारण थिएन किनकि उनीहरू पार्टीका संरचनामा प्रवेश गरेर निर्णायक हुने क्रममा छन्। जेनजीहरूसँग आफ्ना राजनीतिक चाहनाहरूलाई सम्बोधन गर्न एजेन्सी अर्थात् बनिबनाउ औजार छैन। उनीहरूले आफ्नो आवाजलाई मुखरित गर्न मिलेनियल पुस्तासम्म सहकार्य नगरी सम्भव छैन। नयाँ दल खोले पनि वा पुराना दलका चुनिंदा नेताहरूसँग सहकार्य गर्दा पनि उनीहरू अन्तरपुस्ता समन्वय र बृहत्तर राजनीतिक वैधताको लागि मिलेनियलको शरण पर्नुपर्ने बाध्यता छ। मिलेनियल पुस्ताले नेपाल गणतन्त्रमा प्रवेश गर्ने समयदेखि त्यसयताको राष्ट्रिय जीवनको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै तह र तप्कामा एक हदसम्मको विश्वसनीय कार्य गरेको छ, प्रतिष्ठा कमाएको छ।
जेनजीले प्रयोग गरेको सूचनाप्रविधिलाई नजिकबाट आत्मसात् गर्ने र त्यसलाई सहजतापूर्वक अङ्गीकार गरेकाले मिलेनियम पुस्ताले जेनजीको समेत अभिभावकत्व दावा गर्न उनीहरूसँग सहकार्य गर्न सहज भएको छ। प्रत्येक नयाँ प्रविधि त्योभन्दा क्रमागत हिसाबले अघिल्लो पुस्तालाई स्वीकार गर्न त्यसमा अभ्यस्त हुन गाह्रो हुने समय लाग्ने भएकाले समेत मिलेनियल पुस्ता र जेनजी पुस्ता बीचको सहकार्य निर्णायक हुने देखिन्छ। कुनै खास वर्ग, लिङ्ग, सम्प्रदाय वा भूगोलले मात्रै सिङ्गो देशको प्रतिनिधित्व गर्न नसके जस्तै एउटा खास पुस्ताले मात्रै सिंगो देशको प्रतिनिधित्व गर्न सक्दैन। त्यही भएर अन्तरपुस्ता समन्वय अत्यन्त जरूरी छ।
गगनको ५५ वर्षे ‘स्व-उमेर-हद’ को घोषणा
२०६८ सालतिर अर्थात् डेढ दशक अगाडि नै ५५ वर्षको उमेरमा राजनीतिबाट रिटायर गर्छु भन्ने गगन थापाको अभिव्यक्ति अहिले पनि धेरैलाई आश्चर्यको विषय लाग्छ। जेनेरेसन एक्स को अन्त्यतिर जन्मिएका गगन थापाले सूचनाप्रविधिले निर्देशित गरिरहेको पुस्तान्तरका कारणले उनले नेपाली राजनीतिको परम्परागत पदचाप भन्दा सूचनाप्रविधिको वैश्विक उपलब्धताले नेपाली राजनीतिमा पार्ने प्रभाव समेतलाई मध्यनजर गर्दै उक्त कुरा बोलेका अहिले आएर पुष्टि भएको छ। एकातर्फ उनी र उनको पुस्ता पार्टीभित्र आफ्नो दबदबा स्थापित भए पनि वर्चस्वको लागि सङ्घर्षरत छ। पार्टीभित्र जेनजीबाट ज्यादा खतरा नभए पनि पार्टी बाहिरको राजनीतिक स्पेसमा जेनजीले धावा बोलेपछि उनीहरूको पुस्ता अत्तालिनु स्वाभाविक हो।
गगनको पुस्ता पार्टीभित्र निर्णायक हुनुभन्दा अगाडि राष्ट्रिय राजनीतिमा कांग्रेसभन्दा अरू शक्ति निर्णायक हुने खतराले उनीहरूलाई पार्टीभित्र परिवर्तनको वेगलाई तीव्र बनाउने दबाब छ।
अन्तर पुस्ताको वैश्विक र नेपाली मिलान
हामीले यो सबै चर्चा गर्दा के कुरा बिर्सन हुँदैन भने नेपाली राजनीतिमा सजिलोको लागि भन्नुपर्दा अहिले देखिएको टकराव २०२०, २०३०, २०४० र २०५० को अलगअलग दशकमा राजनीतिमा प्रवेश गरेका पुस्ताहरू बीचको वर्चस्व स्थापनाको लडाईं हो। यो लडाईंमा २०६०, २०७० र २०८० को दशकमा राजनीति मार्फत आफ्नो भाग्य अजमाउन खोज्ने पुस्ताले पनि आफ्नो अस्तित्वको लडाईं लडिरहेको छ।
नेपाली संवत्मा पुस्ताको वर्गीकरण गर्दा अन्तर्राष्ट्रिय सन्दर्भसँग जोडेर हेर्न सजिलोको लागि वैश्विक पुस्ता वर्गीकरणको पनि म यहाँ उल्लेख गर्न चाहन्छु। साइलेन्ट जेनेरेसन सन् १९२८-१९४५; बेबी बुमर्स सन् १९४६-१९६४; जेनेरेसन एक्स १९६५-१९८०; मिलेनियल्स अर्थात् जेनेरेसन वाई १९८१-१९९६; जेनेरेसन जेड (जेनजी) १९९७- २०१२; जेनेरेसन अल्फा २०१३-२०२५ । यसरी हेर्दा साइलेन्ट जेनेरेसन, बेबी बुमर्स र जेनेरेसन एक्सको अघिल्लो पुस्ता एकैपटक मिलेनियल्स र जेनेरेसन जेडसँग पुस्तागत वर्चस्वको लडाईंमा पौंठेजोरी खेलेको देखिन्छ। यो घानमा जेनजी कतै पनि थिएन। तर भदौ २३ र २४ पछि जेनजी सशक्त उपस्थिति देखाउने सम्भावना बोकेर आएको छ।
पञ्चायतको ३० वर्षमा कांग्रेस र कम्युनिस्टको झन्डामुनि आबद्ध भएका युवकहरूले न त पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास राम्रोसँग गर्न पाए न उनीहरू सत्तामा गएर त्यसको भोगचलन गर्न पाए। २०४६ सालको जनआन्दोलनको सफलताले तीन दशकमा अवरुद्ध भएको लोकतान्त्रिक सडक राजनीति, पार्टी राजनीति र सत्ता राजनीतिको ढोका एकैपटक खोलिदियो। २०३० र २०४० को दशकमा राजनीतिमा प्रवेश गरेको पुस्ता जसरी पञ्चायतकालमा आफूले गुरु स्थापना गरेको २०२० को दशक वा त्योभन्दा पहिलेको दशक २००७ को क्रान्तिपूर्वका नेतालाई उनीहरूका आदेशलाई शिरोपर गर्दै अगाडि बढ्यो- चाहे त्यो पार्टी राजनीति होस् चाहे त्यो सत्ता राजनीति होस्। तीस र चालीको दशकको त्यो आज्ञाकारी पुस्ताले पचासको दशकमा राजनीति मार्फत आफ्नो स्पेस खोजेको पुस्ताको आत्मविश्वासलाई अवज्ञा गर्नका खातिर हमेशा आफ्नो अघिल्लो पुस्ता बीसको दशकको नेतृत्वको सहयोगमा पचासको दशकको नेतृत्वलाई दबाउने कोसिस गर्यो।
‘क्वारेन्टाइन’ पूरा नभएका ‘अंगीकृत’ जेनेरेसन एक्स र मिलेनियलहरू
राजनीतिशास्त्री रबर्ट मिसेल्सको भाषामा नयाँ पुस्तालाई क्वारेन्टाइन पूरा नभएको भनेर भन्यो। प्रदिप गिरीको भाषामा भन्नुपर्दा उहाँले गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, विश्वप्रकाश शर्माहरूलाई अङ्गीकृत कांग्रेस भनेर वर्गीकरण गर्नुहुन्थ्यो। प्रदिप गिरीले आफूलाई वंशज कांग्रेस भनेर दावा गर्नुहुन्थ्यो। त्यसरी वंशज कांग्रेसको अधिकार पार्टीका संस्थापक नेताका सन्तानहरूका हकमा ज्यादा लागू हुन्थ्यो। यसरी पार्टी संस्थापकका वा जिल्ला तहमा हजुरबुवा र बुवापछि नाति पुस्तामा कांग्रेसका रूपमा सक्रिय भएका प्रभावशाली राजनीतिक परिवारहरू कांग्रेसका रूपमा दर्ज भएका छन्। त्यो मिलेनियल वा जेनजी कांग्रेसले ती वंशज र कुलीन कांग्रेसलाई एकैपटक चुनौती दिएको छ, ललकारेको छ र भनेको छ- कांग्रेस भनेको विचार हो, यो गणतन्त्रको युगमा पार्टीको नेतृत्व वंश वा कुलीनताले भन्दा योग्यता अर्थात् मेरिटले निर्धारण गर्दछ।
जेनजी पुस्ताले यसरी समाजशास्त्रीय हिसाबले पार्टीहरूभित्र चलेको अन्तरद्वन्द्वलाई हेर्ने फुर्सद, धैर्य र समय थिएन। त्यो ज्ञान उनीहरूले हेर्ने ग्याजेटमा उपलब्ध थिएन, उनीहरूलाई विद्यालय या विश्वविद्यालयमा पठाइने पाठ्यपुस्तकमा थिएन। उनीहरूले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, रिल, इन्स्टाग्राम, टिकटक वा स्पेस, क्लब, उनीहरूको पब्लिक स्पेस- डिस्कर्डमा त्यो ज्ञान उपलब्ध थिएन र अद्यावधिक भएको छैन पनि।
जेनजी पुस्ताले घोत्लिनुपर्ने तथ्य
अब त्यत्रो ठूलो विस्मयकारी उथलपुथलपछि उनीहरूकै सिफारिसमा बनेको अन्तरिम सरकारका समयमा उनीहरूका प्रतिनिधिले सिंहदरबारसम्म छिर्न पाउन छाडेपछि अब उनीहरू धेरै कुरामा घोत्लिनुपर्नेछ। के उनीहरूले आज देखेको सपना नेपाली राजनीति बदल्ने महत्वाकांक्षा के उनीहरूभन्दा अघिल्लो पुस्ताले गरेकै थिएन ? अथवा उनीहरूभन्दा अघिल्लो पुस्ताले त्यत्रो अघोर प्रयत्न गर्दा पनि के कारणले असफलता प्राप्त गरिरहेको थियो त्यसको जरासम्म खोजी गर्नुपर्ने छ।
जेनजी पुस्ताको सामर्थ्य जति छन् राजनीतिका हिसाबले सीमितता वा कमजोरी पनि त्यति नै छन्। त्यो सीमितता वा कमजोरी उनीहरूको पुस्ताको मात्र एकाङ्गी कमजोरी होइन। अघिल्लो पुस्ता समेतले बेहोरेको र भुक्तमान गरिरहेको कमजोरी हो। एउटा समाजलाई एउटा पुस्ताले मात्र प्रतिनिधित्व गर्न सक्दैन अन्तरपुस्ता समन्वय विना सिंगो समाजको प्रतिनिधित्व हुन सक्दैन।
कांग्रेसले निर्णय लिनु अगाडि विचार गर्नुपर्ने कुरा
अब फेरि लागौं नेपाली कांग्रेसतिरै, माथि गरिएको चर्चाहरूबाट स्पष्ट देखिएको छ आज काङ्ग्रेसभित्र द्वन्द्वरत देखिएका पात्रहरू व्यक्तिगत लडाईं भन्दा पनि पुस्तागत र तत्–तत् पुस्ताको प्रतिनिधिगत लडाईं लडिरहेका छन्। कांग्रेसभित्रको राजनीति ध्रुवीकृत भइराख्दा यसलाई कसैले पनि व्यक्तिगत रूपमा लिनुपर्ने देखिंदैन। यी त खासमा इतिहासमा देखा परिरहने प्रवृत्ति हुन्।
हाम्रो रुचि र चासो भने कुन पुस्ता इतिहासलाई आफ्नो समयको आँखाबाट ठिक बुझ्न सक्छ र त्यो अनुसार आगामी पाइला चाल्छ त्यसले नेता बन्ने अवसर पायो र त्यसको नीति लागू भयो भने नेपाली कांग्रेस इतिहासको क्रान्तिकारी र गतिशील औजारका रूपमा कामयाब रहनेछ भनेर कामना गर्ने मात्र हो। यथास्थितिवादी र अग्रगमनकारी शक्तिका बीच प्रतिस्पर्धा हुँदा सधैं अग्रगमनकारी शक्तिले जित हात पार्छ भन्ने हुँदैन। तर पार्टीभित्रको लडाईंमा अग्रगमनकारी शक्ति परास्त हुँदा पार्टी स्वयं राष्ट्रिय राजनीतिमा भने अरू शक्तिसँगको प्रतिस्पर्धामा परास्त हुने खतरा भने विद्यमान हुन्छ।
जेनजीले सहकार्य गर्न सहज मानेको जेनेरेसन एक्स र मिलेनियल
कांग्रेसले आज निर्णय गर्दैगर्दा, बेबी बुमर्स र जेनेरेसन एक्सको अघिल्लो पुस्तालाई जेनेरेसन एक्सको अन्त्यतिर जन्मिएका र मिलेनियलहरूले परास्त गर्ने भनेको जेनजीको भावना आत्मसात् गरेर मात्र सम्भव देखिन्छ। जेनजीले स्वाभाविक रूपमा जेनेरेसन एक्स र मिलेनियलसित आफूलाई एकाकार भएको ठान्छ। जेनजीले यही पुस्तालाई मात्र शङ्काको सुविधा दिन सक्छ। किनकि उनीहरूको इमानदारिता र सच्चाइ सत्ता–विलासमा बिटुलिएको र प्रदूषित भएको छैन। त्यसका लागि उनीहरूले अघिल्लो पुस्ताको नेतृत्वमा भएको र आफू पनि सुधार भएको गल्तीका प्रति प्रायश्चित गरिसकेका छन्।
कांग्रेसको संगठन विस्तार भएका तीन कालखण्डको चर्चा गरिएको तेस्रो कालखण्ड अर्थात् २०५८-२०६२ मा नेविसंघ मार्फत नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेको पुस्ता वडा, पालिका, क्षेत्र र जिल्ला तहमा सङ्ख्यागत हिसाबले नै सबैभन्दा ज्यादा छन्। विशेष महाधिवेशनका लागि ५५ प्रतिशत हस्ताक्षर कुनै ठूलो मिहिनेत विना त्यही पुस्ताले परिवर्तनको दबाब दिनका लागि सहज र सम्भव बनाएको हो। यो पुस्ता कांग्रेसमा बलशाली हुनाको कारण उनीहरू जुनस्तरको प्रभावकारी राजनीतिक सञ्चारक प्रभावशाली राजनीतिक सञ्चारकर्मी छन्, उनीहरूभन्दा अघिल्लो पुस्तामा त्यस्तो सञ्चारक वा वक्ता छैन। भए पनि पार्टी केन्द्रमा उनीहरूको उपस्थिति वा प्रभाव न्यून छ।
२०६२ यता नेपाली कांग्रेसको राजनीतिक सञ्चारको कार्य त्यही युवा पुस्ता अर्थात् पञ्चायतको अन्त्यतिर राजनीतिमा प्रवेश गरेको र गणतन्त्रको आन्दोलनमा पार्टी राजनीतिमा स्थापित भएको पुस्ताले भरथेग गरेर अडिएको र बनेको हो। वृद्ध गिरिजाप्रसाद वा सुशील कोइराला वा शेरबहादुर देउवाबाट त्यो कुरा सम्भव थिएन।
वर्तमानले विगततिर सम्मोहित हुने कि भविष्यप्रति दृष्टि राख्ने
दोहोर्याइरहनु परेन, कुनै पनि पार्टीलाई अथवा कुनै समयलाई नेतृत्व दिने भनेको कुनै खास पुस्ताले नभएर आफ्ना विचार र नीति मार्फत अरू पुस्तासँग समन्वय गरेर अगाडि बढ्ने पुस्ताले मात्र गर्न सक्दछ। नेपाली कांग्रेसको हकमा आजको मितिमा त्यो पुस्ता भनेको निःसन्देह गगन थापाहरूको हो।
नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको पेचिलो लडाईंमा कुन पुस्ता विजयी हुन्छ त्यसले नै नेपाली कांग्रेसको भविष्य निर्धारण गर्नेछ। वर्तमान भनेको इतिहास र भविष्य बीचको सेतु हो। वर्तमान इतिहासप्रति ज्यादा सम्मोहित वा केन्द्रित भयो भने भविष्य वर्तमानको नियन्त्रण बाहिर जानेछ। वर्तमानले निर्णय गर्दा भविष्यप्रति ज्यादा दृष्टि राख्नुपर्छ।
प्रतिक्रिया 4