News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालयको ‘आर’ शालामा नोभेम्बर २८ र २९ मा सांगीतिक कार्यक्रम ‘पलेँटी’ आयोजना हुँदैछ जसमा गायक फत्तेमानको सम्झना गरिने छ।
- संगीतकार आभासले फत्तेमानसँग लामो संगत भएको बताउँदै निबन्ध-वाचन गर्नेछन् र फत्तेमानका गीतहरू प्रस्तुत गरिनेछन्।
- पलेँटी कार्यक्रम सन् २००५ देखि सञ्चालनमा छ र यसपटक फत्तेमानको जन्मदिनमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ ।
संयोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो ।
‘पलेँटी’ मा फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् ।
फत्तेमान नै किन ? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्, ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौं । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ । जोगाइ राख्नुपर्छ ।’
उनी अगाडि भन्छन्, ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।’
पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए, ‘नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । … फेरि पनि मौका पाऊँ, माया पाऊँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।’
फत्तेमानको पुरानो सोही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन्, ‘यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो । उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सृजनामार्फत जीवित हुनुहुन्छ ।’
पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’को आयोजना गरेको थियो ।
हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।
पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु-साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीत प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।
पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार; २८ तारिख र २९ तारिखको शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया 4