१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले धर्तीमा राम्रा र नराम्रा दुवैथरी भएकाले उनीहरूलाई बुझ्नका लागि ठण्डा दिमागले सोच्नुपर्ने बताएका छन् ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश कुनै विदेशीले नबनाइदिने भन्दै आफूहरू नै लाग्नुपर्ने जिकिर गरे ।
‘यस धर्तीमा भ्रष्ट पनि छन्, स्वच्छ पनि छन् । राम्रा पनि छन्, नराम्रा पनि छन् । इमानदार पनि छन्, बेइमान पनि छन् । राम पनि छन्, रावण पनि छन् । तयसकारण सबै उस्तै छैनन्,’ नेपालले भने, ‘कुबुद्धि भएका छन्, सुबुद्धि भएका पनि छन् । आफ्नो मात्रै प्रशंसा चाहने मात्रै छन् । यो संसारलाई राम्ररी बुझ्नका लागि ठण्डा दिमागले सोच्नुपर्छ । यो देश हामीले बनाउने हो, कुनै विदेशीले होइन ।’
साथै, उनले कसरी सामाजिक सद्भावलाई बढ्ने हो भन्ने कुरामा हाम्रो ध्यान दिन आग्रह गरे ।
‘जनतालाई केन्द्रमा राख्ने, सुशासनप्रति प्रतिबद्ध हुने, नैतिकता मूल्य मान्यता र प्रतिबद्धताप्रति, विविधतालाई सम्मान गर्दै अघि बढ्ने कुराप्रति, प्रदेशमा कसरी सामाजिक सद्भावलाई बढ्ने हो भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामीले समाजवादको बाटोमा अघि बढ्ने संकल्प गरेका छौं,’ उनले भने, ‘समाजवादको अर्थ हो न्यायको व्यवस्था, समाजवादको अर्थ हो सबैले विकास गर्न पाउनुपर्छ, सबैको जीवन खुसी हुनुपर्छ । सबैको भलो हुनुपर्छ । यो भावना, बोकेको, विचार बोकेको कार्यक्रम हो समाजवाद । हामीले विगतमा पनि अनेकौं काम गरेका छौं ।’
उनले सुदूरपश्चिम प्रदेशबाट आफ्नो दललाई एक नम्बर बनाएर अघि बढ्नुपर्ने बताए ।
‘सुदूरपश्चिमलाई पहिलो दलको रुपमा तपाईंहरूले देखाउनुभएको छ । सबै जो पार्टीमा एकताबद्ध हुनुभएको छ, उहाँहरू मिलेर अघि बढ्नुपर्छ । पद ओगटेर मात्रै बस्ने होइन, गाउँ, टोल र बस्ती सबै ठाउँमा जानुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4