News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीले मंसिर १४ गते काठमाडौंमा एकीकरण घोषणा गर्ने निर्णय गरेका छन्।
- दुवै दलले वैकल्पिक शक्तिको रूपमा लोकतान्त्रिक चरित्रको पार्टी बन्ने लक्ष्य राख्दै पाँच चरणको संवादपछि एकता टुंगो लगाएका छन्।
- विवेकशील साझाले आफ्नो विपत कोषमा रहेको ३३ लाख रुपैयाँ रास्वपालाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
१२ मंसिर, काठमाडौं । वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका दुई शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र विवेशकील साझा पार्टीबीच आइतबार एकीकरण हुँदैछ । उनीहरूबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार ध्रुवीकरण भएको हो ।
२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो ।
हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रपक्षसँग एकता गरेसँगै दलको नाममा विवेकशील साझा पार्टी बनाइएको थियो ।
१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझाले ४० महिना अघि जन्मिएको रास्वपासँग एकता गर्ने भएको छ ।
यी दुई दल एक अर्काप्रति आकर्षित भई एकताको बिन्दुमा कसरी पुगे ? यसका लागि दुबै पार्टीले अंगालेको नीति र दुई दलमा रहेका नेताहरूको सामिप्यतालाई जोडेर हेर्नुपर्ने हुन्छ ।
रास्वपाले गठन गरेको उच्चस्तरीय संवाद समितिको संयोजक डा. स्वर्णिम वाग्लेको विवेकशीलका संस्थापक दिवंगत उज्ज्वल थापासँगको निकटता बूढानीलकण्ठ स्कूलदेखि थियो । बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका स्वर्णिम र उज्ज्वलको सम्बन्ध नेपालदेखि अमेरिकासम्मै घनिष्ठ थियो ।
दुबै दलले एकले अर्कोलाई मित्रशक्तिका रूपमा परिभाषित गर्दै आएका थिए । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरू एकीकरण गर्ने नीति दुबै दलले बनाएका थिए ।
एकले अर्कालाई मित्र शक्तिको रुपमा परिभाषित गरेसँगै एकताका लागि दुबै पक्ष सकारात्मक बनेको दुबै दलका नेताहरूले जानकारी गराएका छन् ।
गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।
अर्यालले लिखित मन्तव्यमा विवेकशील साझासँग ध्रुवीकरण वा एकीकरणको प्रस्ताव राखे ।
उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण गर्यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गरे ।
रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेको बेला गत असार २५ मा उनलाई भेट्न कारागार पुगे ।

जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु गरे ।
रास्वपाले उपसभापति डा. स्वर्णिम र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाए ।
नयाँ शक्तिका रूपमा उभिएका दल, अभियन्ता लगायतसँग दुबै पक्षले संवाद सुरु गरे । दुबै पक्षले एकताका लागि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेपनि मिलनबिन्दु पहिल्याउन भने सकेनन् । कुलमान छुट्टै अघि बढ्न खोजेपछि रास्वपा र विवेकशील साझाले संवाद भने टुटाएनन् ।
विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं उक्त दलका वार्ता टोलीका संयोजक परियारका अनुसार पाँच चरणमा दुई पक्षमा संवाद गरेर एकताको टुंगो लागेको हो । रास्वपाबाट संवादमा उपसभापति स्वर्णिम, सहमहामन्त्री विपीन आचार्य र नेता शिशिर खनाल संलग्न थिए । विवेकशील साझाबाट उपाध्यक्ष परियार र महासचिव रञ्जु दर्शना सहभागी थिए ।
दुई दलबीच एकता गर्ने टुंगो लागेसँगै गत बुधबार विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसेर एकतालाई अनुमोदन गर्यो ।

उपाध्यक्ष परियारका अनुसार उक्त बैठकमा ३५ मध्ये २५ जना केन्द्रीय सदस्य सहभागी थिए । बैठकमा ६ जना भर्चुअल सहभागी थिए ।
साथै, तीन जनाले लिखित सहमति गरेर एकताको पक्षमा उभिएका थिए । उक्त बैठकले वैकल्पिक राजनीतिक दलबीचमा ‘वृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको थियो । ‘सर्वसम्मत रूपमा एकताको निर्णय गरिएको हो । एकतामा असहमति राख्ने कोही हुनुहुन्न,’ परियारले अनलाइनखबरसँग भने ।
वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको स्मृतिमा प्रत्येक जेठ १८ मा केन्द्रीय रूपमा स्मृति दिवस मनाउने समझदारी बनेको छ ।

परियारले जानकारी गराए । नेपालको वैकल्पिक राजनीतिको महान अभियान ‘विवेकशील अभियान’लाई आत्मसात् गर्दै त्यसलाई ऐतिहासिक दस्तावेजीकरण गरिने दुई दलका नेताहरूले बताएका छन् ।
दुई दलबीचमा पदीय भूमिका एवं तहगत पार्टी संरचनामा विवेकशील साझा पक्षबाट कति जना समेटिने विषयको टुंगो लागिसकेको छैन ।
विवेकशील साझा पार्टीका नेताहरूका अनुसार दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा पुग्ने जानकारी गराइएको छ ।
विवेकशील साझाका उपाध्यक्ष परियारले भने,‘एकताका लागि हामीले वैकल्पिक शक्तिको मूल्य/मान्यतालाई आधार बनाएका हौं । पद र संख्यालाई प्रधान बनाएनौं । एक/एक गरेर दुई होइन । हामी एक हुन चाहन्छौं ।’
दुई दलको एकीकरणको घोषणा सभा मंसिर १४ गते (आइतबार) गर्ने टुंगो लागेको छ । राष्ट्रिय सभामा गृहमा हुने एकता घोषणा सभामा विवेकशील साझा पार्टीले आफ्नो कोषमा रहेको रकम समेत हस्तान्तरण गर्ने भएको छ । विपत कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ ।
दुई दलको मिलनमा विगतको पृष्ठभूमिले आधार निर्माण गरेको नेताहरूको दाबी छ । दुई पक्षको संवादमा जोडिने नेताहरूको वैकल्पिक दल हुनुअघि नेपाली कांग्रेसमा आस्था राख्नेहरू थिए ।
विगतको पृष्ठभूमिले पनि एकताका लागि जोडिन बल पुगेको विवेकशील साझाका उपाध्यक्ष परियारले बताए । उनी भन्छन्,‘नीति सिद्धान्तले दलहरू ध्रुवीकृत भइरहेका छन् । हामी लोकतान्त्रिक धार बोक्ने आचरणसहितको दल हौं ।’
विवेकशील साझा पार्टीको अध्यक्ष र महासचिव महिलाबाट रहेको हुँदा उक्त निर्णय प्रशंसित बनेको थियो । अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना छन् । पार्टीको नाम, चुनाव चिन्ह, नेतृत्व लगायतमा निसर्त विवेकशील साझाले स्वीकारेको छ ।
विवेकशील अभियानलाई विर्सजन गर्ने गरी पार्टी विलय गराएको आरोप लागेपछि उक्त दलले स्पष्टीकरण दिएको छ । दुई दलमा एकता हुँदा संस्थापक नेता उज्ज्वलको अभियान थप वृहत्तर बनाउन मद्दत पुगेको परियार दाबी गर्छन् ।
उनी भन्छन्,‘उज्ज्वल थापा फाउण्डेशनको मात्रै हुनु भएन । नेपालको वैकल्पिक राजनीतिका अमर प्रणेता, अब वृहत्तर वैकल्पिक राजनीतिका सर्वमान्य संस्थापक बने ।’
विवेकशील साझा पार्टी रास्वपासँग एकीकरण गर्ने निर्णयप्रति असन्तुष्ट हुने नेताहरू पनि उक्त दलमा छन् ।
विवेकशील साझाका बागमती प्रदेशका पूर्व सांसद रमेश पौडेल, नेता आशुतोष तिवारी लगायत एकताको पक्षमा देखिएका देखिएका छैनन् ।
‘एकताका लागि जाने साथीहरूलाई शुभकामना छ । विवेकशील अभियान भने मर्ने छैन,’ पौडेलले अनलाइनखबरसँग भने ।
विवेकशील साझा पार्टीमा क्रियाशील नरहेका केही व्यक्तिहरू एकताको विपक्षमा रहेको जनाएको छ । एकता पक्षधर नेताले भने,‘आशुतोषजी तीन वर्षदेखि पार्टी सदस्य हुनुहुन्न । रमेश जी साधारण सदस्य रहेपनि पार्टीमा क्रियाशील र बैठकमा उपस्थित हुन छोडेको धेरै समय भइसक्यो ।’
पार्टीको भ्रातृ संस्थामा युवा संगठन मात्रै गठन गरेको विवेकशील साझाले केन्द्रमा १३ वटा विभाग बनाएको छ ।
विवेकशील साझाले ४१ जिल्लामा सम्पर्क समन्वय व्यक्ति चयन गरेको छ । गत निर्वाचनमा संघ र प्रदेशमा विवेकशील साझाबाट सांसद चयन हुन सकेनन् । बाराको फेटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित चार वडाध्यक्ष विवेकशील साझाका उम्मेदवारले जितेका थिए ।
प्रतिक्रिया 4